लन्डन । ब्रिटिश गोरखा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) ले प्रत्येक वर्ष लन्डनमा हुने रिमेम्ब्रेन्स सन्डे सिनोताप परेडमा यस वर्ष पनि भाग लिएकोछ ।
युके भरि छरिएर रहेका संस्थाका सदस्यहरु कोहि कोचबाट, कोहि आफ्नै गाडीमा त कोहि पब्लिक सर्भिसेस् द्धारा लन्डन पुगेका थिए । संस्थाका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जे पी को नेतृत्वमा हरेक वर्ष उक्त महत्वपूर्ण परेडमा बिजिडव्लुएसले भाग लिदै आएको छ । विहानै हजारौंका संख्यामा अवकाश प्राप्त सेना, ऐयर फोर्स, जल सेनाका महिला पुरुष, उनीहरुका परिवार, स्वमसेवकहरुले होर्स गार्ड परेड ग्राउन्ड भरिएको थियो। तिनै समुह मध्ये बिजिडब्लुएस कलोम डि ३६ मा सम्मिलित थियो ।
सबैको छातीमा मेडलहरु र आफ्ना पल्टनका ब्याज भएको टोपीमा सजिएका थिए । बिजिडव्लुएसका सदस्यहरु पनि मेडल, गोरखा ह्याट, ब्लेजर र संस्थाको टाईमा उपस्थित थिए । करिब १० बजे तिर सबै समूहहरु आ–आफ्नो तोकिएको रेङ्क्समा सिनोताप तिर मार्च गर्नका लागि तयारी भए ।
केहि समय पछि फिल्ड मार्सल अर्ल रोबर्टस् सालिकको बायाँबाट ह्याईटहलको बाटोमा सबै सहभागीहरु मार्च गर्दै निस्किए । वेलायतका राजपरिवार, नेताहरु, राजदूतहरु, कमनवेल्थका विशिष्ट पाहुनाहरुको उपस्थिति भैसकेको थियो । ठीक ११ बजे बीग बेनको घन्टी र तोपको अवाज लगत्तै २ मिनेटको मौन धारण भयो ।
आफ्नी आमा महारानी ईलिजाबेथ द्धितियाको निधन पछि पहिलो पटक राजा चार्लस सिनोतापमा राजाको रुपमा रिथ चढाए । अरु राजपरिवारहरुबाट प्रिन्स अफ वेल्स, द अर्ल अफ वेसेक्स, प्रिन्सेस रोयलले पनि क्रमशः रिथ चढाएका थिए। प्रधानमन्त्री ऋषि सुनक र अन्य वरिष्ठ नेताहरुले पालैपालो रिथ चढाएका थिए । अन्य विशिष्ठ ब्यक्तिहरुले रिथ चढाईसके पछि द लर्ड विसफ अफ लन्डनले प्रार्थना गरेका थिए। उनले सबैलाई आशिर्वाद दिएका थिए। युकेको राष्ट्रिया गीत ‘गड सेफ द किङ्ग’ सबैले गाएका थिए ।
त्यस पछि सिनोताप तर्फ मार्चिङ शुरुभयो । बिजिडब्लुएसको मार्च हुँदा उपस्थित जनासमुदयहरुबाट तालीको गडगडाहट, ‘वेल डन गोर्खाज, ‘कम अन गोर्खाज’ जस्ता शब्दहरु सुनिएको थियो। मार्च गर्दै जाँदा मेजर देवानले सिनोतापमा उभिएका स्टाफलाई संस्थाको रिथ दिए र संस्थाका परेड कमान्डरको अभिभारा निभाएका टेक बहादुर थापाले आईज राईट र आईज फ्रन्ट गराए ।
पार्लियामेन्ट स्क्वाएर पछि किङ्ग चार्लस् स्ट्रिट तिर मोडियो। होर्स गार्डस् रोड हुँदै होर्स गार्ड परेड ग्राउन्डको पश्चिम भागमा सोलोटिङ्ग डेस्कमा प्रिन्स ऐडवर्ड द अर्ल अफ वेसेक्स उभिएको थियो । संस्थाले आईज राईट गर्यो। त्यही ठाउँमा वेन वालेस डिफेन्स सेक्रेटरी पनि उभिएको थियो ।
पहिलो चरणको कार्यक्रम सकिए पछि बिजिडब्लुएस ग्रुप लन्डनमै अवस्थित गोर्खा स्टायच्यु तर्फ लाग्या े। उक्त मुर्ति स्व. महारानी ईलिजाबेथ द्धितियाले १९९७ सालमा उद्घाटन गरेको हो । संस्थाको तर्फबाट मौन धारण गरियो र गोर्खा सालिकमा रिथ अध्यक्ष देवानले चढाए । लन्डनको कार्यक्रम सकिए पछि केहि सदस्यहरु त्यहिबाट बिदा भए। तर कोचमा फार्नबोरोबाट सफर गरेका सबै जना करिब २ घण्टाको यात्रा पछि अल्डरसट स्थित पहिलो गोरखा भिक्टोरिया क्रस बिजेता कुलबीर थापाको सालिकमा आई मौन धारण र रिथ चढाए ।
‘बिजिडब्लुएसले २००४ साल देखि निरन्तररुपमा ‘रिमेम्ब्रेन्स सन्डे सिनोताप परेड’ मा भाग लिदै आईरहेको छ । २०२० सालमा कोभिडका कारणले परेड भएन । १७ वर्ष भैसकेछ भाग लिएको’ अध्यक्ष देवानले गोर्खा मिडियालाई भने ।