रामजी अधिकारी
अध्यक्ष, मानव सेवा आश्रम नेपाल
नेपालमा धेरै समस्याहरू छन्, धेरै मनहरू पनि छन् । यस्ता व्यक्तिहरू पनि छन्, जसले धेरैलाई मद्दत गर्नुभएको छ । छाना, नाना र खानाको प्रबन्ध गर्नुभएको छ । राज्यले र अभिभावकले नस्वीकारेका बालबालिका र वृद्ध बाआमाहरूलाई बाटोबाट टिपेर आश्रममा राखेर विगत १० वर्षभन्दा बढी उहाँहरूको सेवा गर्नुभई मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले धेरै अनुभव बटुलिसक्नुभएको छ । र, हाल उहाँ बेलायत आउनुभएको छ, आनी छोइङ डोल्माको साथमा । उहाँहरू ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट इन युके’ कार्यक्रम लिएर आउनुभएको हो । उक्त कार्यक्रम गत मे ५ मा भव्यताका साथ सम्पन्न भइसकेको छ । उहाँ बेलायत आउनुभएको उद्देश्य, यहाँ भएको कार्यक्रम र नेपालमा गर्नुभएको कामका बारेमा गोर्खा मिडियाको अतिथि संवाद कार्यक्रममा सहसम्पादक प्रकाश गुरुङले गर्नुभएको कुराकानी ।
तपाईं पहिले पनि बेलायत आउनुभएको थियो, यो कतिऔँ पटक हो ?
बेलायत भ्रमण मेरो तेस्रो पटक हो ।
मानव सेवा आश्रम खोल्ने सोच कसरी आयो ?
मानव सेवा आश्रम खोल्नुपर्छ भनेर योजना बनाएर सुरु गरेको होइन । आश्रम सुरु गर्नुको टर्निङ प्वाइन्ट चाहिँ हामीले स्कुल, कलेज र टोलहरूमा पुगेर सकारात्मक जीवनशैली, चरित्र निर्माणका कार्यक्रमहरू र हामीले कालिगडले बनाएको ढुंगाको मूर्तिलाई भगवान् मानेर पूजा गर्छौं । आफैंमा त्यसको महत्त्व छ । हामीलाई यो धर्तीमा ल्याउन माध्यम बनेका (जन्म दिने) बुवाआमाप्रति धेरै मानिस सचेत भएको पाइँदैन । र, आफ्ना जिम्मेवारी पूरा गरिराखेको पनि देखिँदैन । धेरै आमाबुवाहरू सडकपेटी र सार्वजनिक स्थलमा बेसहारा बनेको देख्थ्यौँ । मनमा पीडा हुन्थ्यो । दुःख लाग्थ्यो । र हामीले सकारात्मक सोचका कार्यक्रम गर्यौँ । ईश्वरलाई पाउने पहिलो भर्याङ आमा भन्यौँ । मान्छेलाई मोटिभेसन गर्यौँ । तर ती आमाबुवा सडकपेटीमा नै देखिन्थे । आफूसँग भएको दुई/चार पैसा दियो । पानी, बिस्कुट, चाउचाउ किनेर खायो । भोलिपल्ट पनि उहाँहरू सडकमै हुने । एक किसिमको पीडाबोध भइराख्थ्यो, यी व्यक्तिहरूको कसरी व्यवस्थापन गर्ने होला भनेर ! फेरि हाम्रो देश त लोककल्याणकारी राज्य हो नि त ! र पनि आज धेरै मान्छे सडकपेटीमा बेसहारा भएर बस्नुपर्ने अवस्थाले पीडा भइरहेको थियो ।
हाम्रो कार्यक्रम मकवानपुरको हेटौँडामा १ वर्ष पुगेको अवसरमा साताव्यापी कार्यक्रम गरेर मनाऊँ भन्ने भयो । एक दिन रक्तदान, एक दिन वृक्षारोपण, एक दिन सरसफाइ कार्यक्रम र एक दिनचाहिँ सडकमा जीवनयापन गर्नेहरूसँग सहभोज (पिकनिक) गरौँ न भन्ने सोचले २०६९ जेठ २३ गते हेटौँडाको बनस्खण्डी मन्दिर परिसरमा सहयोगापेक्षीहरूसँगको सहभोज आयोजना गर्यौँ । हेटौँडाको सडकपेटीमा रहेका १८ जना त्यस्ता व्यक्तिहरूलाई पिकनिक स्पटमा ल्याएर नुहाइदिएर कपाल काटिदिएर एकसरो लुगा फेरिदियौँ । अनि त्यहीँ पाकेको खान खुवाइसकेपछि अगाडि टाढा-टाढा हुने मान्छेहरू पनि हामीसँग नजिकिनुभयो । उहाँको चेहरामा जुन खुसी आयो । त्यसले हामीलाई पनि एकदमै धेरै खुसी दियो । त्यसपछि एक्कासी पानी पर्यो । हामीलाई पीडा हुन थाल्यो कि ती व्यक्तिहरूलाई बेलुका सडकमा नै लगेर छाड्नुपर्छ । म २३-२४ वर्षको थिएँ । घरमा त लान मिलेन । धेरै मानसिक समस्या थियो, उहाँहरूको । बेलुका उहाँहरूलाई सडकमा नै लगेर छाड्यौँ । छाडेर फर्किने बेलामा एक/दुई जना दिदी र बुवाहरूले हामीलाई भन्नुभयो, ‘तिमीहरूले हामीलाई नुहाएर लुगा लगाइदिएर कपाल काटिदिएर यति राम्रो बनाइदियौ । अब त माग्न बस्दा पनि मान्छेले हामीलाई पत्याउँदैन । के खाने हामीले ?’
तर हामीसँग अरु विकल्प पनि थिएन । छाडेर फर्कियौँ । रातभरि सुत्न सकिएन । त्योभन्दा ठूलो पाप के हुन्छ ? मान्छेलाई आशा देखाएर, भरोसा देखाएर, आफन्त भएको नाटक गरेर बेलुका फेरि सडकमा नै लगेर छाडिदिएको छ । मसँग दुई जना साथीहरू हुनुहुन्थ्यो । अहिले उहाँहरू मानव सेवा आश्रमको महासचिव र सचिवको भूमिकामा हुनुहुन्छ, सुशीला केसी ‘रुपा’ र सुमन बर्तौला । उहाँहरू पनि अहिले टोलीमा सँगै आउनुभएको छ । उहाँहरूलाई पनि सोधेँ, चिया खाने बेलामा । उहाँहरूलाई पनि रातभरि गाह्रो भएको र मनमा पीडा भएको अनुभूति गरेपछि खाँदाखाँदैको ग्लास भुइँमा राखेर ती व्यक्तिहरूलाई जसरी पनि नाना, दाना र छानाको व्यवस्था गर्ने भनेर घर खोज्न हिँड्यौँ । त्यस्ता व्यक्तिलाई राख्ने भनेपछि मान्छेहरूले भाडामा पनि घर दिएनन् । एक जना परोपकारी मन भएको व्यक्तिले हाम्रो सबै कुरा सुनेपछि मासिक १५ हजारमा दुई वटा फ्ल्याट दिनुभयो । यसरी दुई वटा फ्ल्याट लिएर आश्रमको सेवा सुरु गरेको हो ।
सुरुको दिन त्यति सजिलो थिएन होला । तपाईं २३ वर्षको हुनुहुन्थ्यो । यो उमेरमा त विदेश जाने, केही न केही जागिर गर्ने भन्ने माहोल हुन्छ । तपाईंको बुवा पनि सेनामा हुनुहुन्थ्यो रे । सायद तपाईंमा पनि आर्मीतिर जाउँजाउँ जस्तो लागेको थियो होला । किन यता लाग्नुभयो ?
पक्कै पनि हरेक बुवाआमाको चाहना छोराले धेरै पैसा कमाओस् भन्ने नै हुन्छ । ठूलो जागिर खानुपर्छ । ठूलो घर बनाउनुपर्छ । गाडी चढेर हिँड्नुपर्छ, भन्ने नै हुन्छ । आज पनि हाम्रा भाइबहिनी र छोराछोरीहरूलाई गर्ने स्कुलिङ यही हो । मेरो बुवाआमालाई पनि स्वाभाविक त्यही थियो । सुरुआतका दिनहरू त्यति सजिलो थिएन । कुनै योजना थिएन । हामीले भावनाबाट मानव सेवा आश्रम शुभारम्भ गर्यौँ र मनमा एउटा संकल्प पनि गर्यौँ कि हाम्रो देशमा सामाजिक संघसंस्था भन्नेबित्तिकै मागेर चलाउनुपर्छ । कतैबाट डलर आउँछ भन्ने खालको छ नि त ! अहिले पनि हाम्रो देशमा सामाजिक संस्थालाई हेर्ने दृष्टिकोण राम्रो छैन । किनकि धेरै व्यक्तिहरूले गलत काम गरेकोले हुनसक्छ । र, हामीले संकल्प गर्यौँ ‘स्वावलम्बन उन्नतिको पथ हो, परावलम्बन पतनको पथ हो ।’ सडकपेटीमा भेटिएका ती बेसहारा बुवाआमा त हाम्रो पनि आफन्त हो नि ! आफ्नै आमाबुवालाई सहयोग गर्न डलर कुरेर बस्नुपर्दैन । नितान्त नेपाली परोपकारी मनहरूबाट, नेपालीहरूको लागि सेवा गर्ने भन्ने अभियान सुरु भयो । मुठ्ठी-मुठ्ठी संकलन गर्न थाल्यौँ । हेटौँडाको त्यस्तो कुनै घर छैन जहाँ गएर हामीले बोरा नथापेको होस् ।
मुठ्ठीदान आह्वान गरेर हिँड्नुभयो नि, त्यो दिनहरू त कठिन थियो होला हैन ?
कठिन थियो । आजको दिन पनि हप्तामा एक पटक सबै जिल्ला आश्रमहरूमा, हाम्रा अभियन्ता भाइबहिनीहरू, अभिभावहरू, शुभेच्छुकहरू मुठ्ठी संकलन गर्न हिँड्छौँ । किनकि हामीलाई बाहिरबाट पाउने ठूला-ठूला डलरहरू, अहंकारले भरिएको सहयोगभन्दा नेपाली परोपकारी मनहरूबाट प्राप्त हुने सप्रेम योगदान हुन्छ, त्यो नै हाम्रो लागि ठूलो हुन्छ । आजका दिनसम्म कुनै पनि दातृ निकायको सर्तसहितको सहयोग स्वीकार नगरीकन नितान्त नेपाली परोपकारी मनहरू जो देश विदेशमा हुनुहुन्छ । कसैले आफ्नो जन्मदिनमा, विवाह वर्षगाँठमा, पितृकार्यहरूमा, कसैले एक समयको भोजन, कसैको एक बोरा चामल सबैको सानो-सानो सहयोग लिन्छौँ । तीनै तहको सरकारलाई पनि अभिभावकत्व लिनका लागि अनुरोध गरिरहेका छौँ । यसरी परोपकारी मनहरूबाट आश्रमको सेवा चलिरहेको छ ।
आश्रममा कति आश्रितहरू छन् ? कति ठाउँमा फैलिइसकेको छ ?
आजका दिनमा मानव सेवा आश्रम नेपालको सातै प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा छन् । ती सेवा केन्द्रको छानामुनि १ हजार ७०० सहयोगापेक्षी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू र बाबुनानी आश्रित हुनुहुन्छ । जसमध्ये १५२ जना बाबुनानीहरू हुनुहुन्छ । १ हजारभन्दा बढी मानसिक सन्तुलन गुमाएका आमाबुवा दाजुभाइ, दिदीबहिनी हुनुहुन्छ ।
एउटै छानामुनि उहाँहरूलाई कसरी म्यानेज गरिरहनुभएको छ ?
फरक तरिकाले बाबुनानीहरूलाई छुट्टै ठाउँ बनाएका छौँ । मानसिक सन्तुलन गुमेका व्यक्तिहरूको सेवा कति कठिन हुन्छ हजुरहरूलाई थाहा छँदै छ । उहाँहरूको व्यवस्थापन त्यही तरिकाले गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई त्यही किसिमको सम्मानका साथ सेवामा राख्नुपर्छ । त्यसैगरी डिसेबलहरू पनि हुनुहुन्छ । सबैलाई स्रोत साधनले भ्याएसम्म सेवामा जुटिराख्या छौँ ।
पूरै आश्रम सञ्चालन गर्नका लागि खर्च चाहिँ कति छ ?
आजको मितिमा २४ वटा नै सेवा केन्द्रको मासिक खर्च तीन करोड रुपैयाँ छ । त्यसमा धेरै मानसिक सन्तुलन गुमाएका बुवाआमाहरूको सेवामा छ । सबै देश विदेशमा रहनुभएका परोपकारी मनहरूलाई अनुरोध गरिरहेका छौँ । टोल-टोलमा मुठ्ठी दानका कार्यक्रमहरू अगाडि बढिरहेका छन् । भगवान्ले तिमी आँट म पुर्याउँछु भन्नुहुन्छ । हामी त निमित्तमात्रै त हो नि । गर्ने र गराउने त माथि हुनुहुन्छ नि त ! हामी निमित्त भएर सेवामा जुटिराख्या छौँ । यतिखेर हामी बेलायतमा आएको पनि बेलायतवासी परोपकारी मनलाई नेपालमा जुन अभियान चलिरहेको छ । हाम्रो देश त नाथैनाथले बास गरेको देश हो नि त । पशुपतिनाथ, मुक्तिनाथ, मच्छिन्द्रनाथ, गोरखनाथ, स्वयम्भूनाथ । यस्तो देशमा कसैले पनि सार्वजनिकस्थल र सडकपेटीमा अनाथ भएर बस्नु नपर्ने राष्ट्र निर्माण हुँदै छ । त्यसमा हामी सबै लागिराख्या छौँ । हजुरहरू सबैको साथ छ । गोर्खा मिडियाले पनि यति मिठो प्रेम र प्रेरणा हामीलाई दिइराख्नुभा छ । म आभार पनि व्यक्त गर्न चाहन्छु । किनकि गर्ने व्यक्तिभन्दा गर्नलाई जसले प्रेरणा दिन्छ, हौसला प्रदान गर्छ । त्यो व्यक्ति सधैँ महान् हुन्छ । हामी सबैले गर्वका साथ भन्न सक्ने दिन नजिकिँदै छ ।
आनी छोइङ डोल्मा दिदी, जो मानव सेवा आश्रमको सल्लाहकार पनि हुनुहुन्छ । हाम्रो अभिभावक पनि हुनुहुन्छ । यतिबेला बेलायतमा छौँ । विभिन्न सहरहरूमा मिट एन्ड ग्रिट कार्यक्रम गरेर बेलायतवासी दाजुभाइ, दिदीबहिनीहरूलाई नेपालमा भइरहेको अभियानको बारेमा जानकारी गराउने र विभिन्न तह र तप्काबाट अभियानमा जोडिन पनि अनुरोध गरिराख्या छौँ ।
नेपाल नाथैनाथको देश भन्नुभयो । त्यस्तै विश्वको सातवटा चक्रमध्ये बेलायतचाहिँ हार्टचक्रमा पर्छ । तपाईंहरू बेलायत आउनुभएको छ । यसको उद्देश्यसँग हार्टचक्रमा बसेका मानिसहरूको अनि नेपालमा बसेका नेपालीहरूको कनेक्सन कत्तिको पाउनुभयो ?
मैले सुनेको छु, बेलायतवासी नेपाली परोपकारी मनहरूको हृदय एकदमै ठूलो छ । म खुसी छु । मे ५ को कार्यक्रममा १ हजार ५०० को हाराहारीमा सहभागिता थियो । त्यो भनेको यो अभियानमा म पनि साथमा छु है भनेको एउटा संकेत हो नि त । मैले सकारात्मक रूपले लिएको छु । योभन्दा पहिले पनि दुई पटक हामी बेलायतमा आइसकेका छौँ । धेरै व्यक्तिहरूसँग त्यो क्रममा भेट भएको छ । कुराकानी भएको छ । अहिले मानव सेवा आश्रमको बेलायत च्याप्टर पनि निर्माण भएको छ । यसमा बेलायतमा रहनुभएका सबै परोपकारी मनहरूको साथ सहयोग भइरहेको अनुभूति गरिराख्या छु ।
केही महिना अगाडि ३८ दिने मेची-महाकाली यात्रा गर्नुभयो । त्यसमा आनी छोइङ डोल्मा पनि जानुभएको थियो । यात्राको खर्च सबै उहाँको फाउन्डेसनबाट कभर भएको थियो ।
हामीले आनी छोइङ डोल्मा फाउन्डेसनसँगको सहकार्यमा मेची-महाकाली यात्रा गरेका थियौँ । सबै खर्च दिदीले बेहोर्दिनुभयो । जसले यात्रा एकदमै सहज बन्यो । त्यो ३८ दिनमा ३०४ जना सहयोगापेक्षीहरूको सडकपेटीबाट उद्धार भयो । उहाँहरूलाई मानव सेवा आश्रमको छानामुनि लिएर आयौँ ।
यात्राको क्रममा कस्तो अवस्था देख्नुभयो ?
मेची-महाकाली यात्रामात्रै होइन । हामीले आश्रम शुभारम्भ गरेदेखि आजको दिनसम्म हाम्रो देशको सडकपेटीमा यती बेसहारा अवस्थामा मान्छेहरू कुहिएर, शरीरमा किरा परेर जीवनको अन्तिम श्वास फेरिरहेको अवस्थाबाट उद्धार भएको छ । ७०-७५ वर्षका आमाहरूसमेत सामूहिक बलात्कृत भएर सडकपेटीमा प्राण त्याग्न लागेको अवस्थाबाट उद्धार गरेका छौँ । एउटा मानसिक स्वास्थ्य ठीक नभएकी महिला सडकमा हिँड्दै जाँदा विभिन्न कारणबाट बलात्कृत हुन्छिन् । त्यस्ता महिलाहरूबाट जन्मेका सानासाना बाबुनानीहरू हामीसँग ४५ जना हुनुहुन्छ । आर्थिक रूपले सम्पन्न परिवारका छोराछोरीहरू हुनुहुन्छ । ती छोराछोरीका मातापिता सडकपेटीमा भेटिनुहुन्छ । यो ११ वर्षको समयमा १० हजारभन्दा धेरै सहयोगापेक्षीहरूको सडकबाट प्रत्यक्ष उद्धार भएको छ । ४ हजारभन्दा बढीको पारिवारिक पुनर्मिलन भएको छ । १ हजारभन्दा बढीले हाम्रै काखमा देहत्याग गर्नुभएको छ । उहाँहरूको छोराछोरी भएर, दाजुभाइ भएर, आफन्त भएर अन्तिम संस्कार गरेका छौँ । एकदमै पिडादायक अनुभूतिहरू धेरै छ ।
३८ दिनको मेची-महाकाली यात्रामा ‘आनी रोइन्’ भन्ने हेडलाइन आएको थियो । त्यसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानुभयो । त्यो बेलामा उहाँको आँखाभरि आँसु देखियो । तपाईंहरूसँग के छ यस्तो सबैको मन पगाल्ने ? रुवाउन सक्ने ?
सबै व्यक्तिको हृदयमा करुणा त छ नि, छैन र ? करुणा, दयामाया हृदयमा छ । तर कति त्यो बाहिर आउन सकिरहेको हुँदैन, विभिन्न कारणहरूले गर्दा । हामी एउटा माध्यम भएर सबै भाग्यमानी व्यक्तिहरूले कम भाग्यमानी व्यक्तिहरूलाई थोरै-थोरै सहयोग गरौँ भनेर त्यो वातावरण बनाउने काम मात्रै मानव सेवा आश्रमले गरेको छ । यतिबेला बेलायतमा मिट एन्ड ग्रिट कार्यक्रम गर्दैछौँ । हामी भाग्यमानी छौँ र त सुख सुविधासम्पन्न देशमा बस्न पाएका छौँ । यतिखेर हाम्रो मातृभूमि अलिक अप्ठ्यारो अवस्थामा छ । आमाबुवा, दिदीबहिनीहरू अत्यन्तै कठिन अवस्थामा जीवन गुजारिरहनुभएको छ ।
हामी भाग्यमानीहरूले अलि कम भाग्यमानीहरूलाई अलिकति सहयोगी हात बढाऔं । भगवान् बुद्धको ज्ञान पनि त हामी सबैलाई त्यही हो नि त । आफूभन्दा कम अवसर पाएका व्यक्तिहरूलाई सहयोग गर्दा जुन आनन्द मिल्छ । जुन खुसी मिल्छ । जुन शान्ति मिल्छ । जति नै धेरै सुख सुविधा भोग गर्दा पनि त्यो प्राप्त हुँदैन । र मानव सेवा आश्रमले वातावरण बनाइदिने र मान्छेको भित्र रहेको करुणा र मानवतालाई थोरै प्रवर्द्धन गर्नमा रचनात्मक कार्यक्रमहरू गर्ने मात्रै हो ।
तपाईंको काम सहयोग र परोपकारी भावनालाई सबैले एकदमै स्वागत गरेको छ । नेपाल सरकारले जनसेवा श्री पदक पनि प्रदान गरेको रहेछ । तर आर्थिक हिसाबले चाहिँ नेपाल सरकारले सहयोग गरेको छ कि छैन ?
यो गर्नुपर्ने काम त सरकारको हो नि । बेलायतमा पनि हामी देख्छौँ, सबै जिम्मेवारी राज्यले लिएको छ । तर आज हाम्रो देशको अवस्था त्यस्तो छैन । सरकार कमजोर भएको बेलामा, राज्य पूर्णरूपले परोपकारी हुन नसकिरहेको बेलामा हामी समाजचाहिँ परोपकारी हुनुपर्दो रहेछ । र हामी थोरै सरकारको सहयोगी बनिराख्या छौँ । आजको दिनमा अडिट रिपोर्ट हेर्दै गर्दा ४० प्रतिशत सहभागिता तीनै तहका सरकारको देखिन्छ भने ६० प्रतिशत नितान्त नेपाली परोपकारी मनहरूको छ । हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सबैलाई भेटेर भनेका छौँ । यो उल्टो भइदियोस् । ६० प्रतिशत सरकारको होस् । ४० प्रतिशत परोपकारी मनहरूको होस् । सके त शतप्रतिशत नै सरकारले लिइदिनुपर्यो । हामी सहयोगी बन्छौँ । कम्तीमा हामीलाई आर्थिक जुटाउने, बेलुका के खुवाउने होला, बिहान के खुवाउने होला, औषधि के गर्ने होला भन्ने चिन्ता लिनु नपरोस् भनेर पूरै जिम्मेवारी सरकारले लिइदिनुहोस् भनेर भनिराख्या छौँ । तर त्यो अहिले सम्भव बनिराख्या छैन । यतिखेर सरकारसँग गुनासोभन्दा पनि म आभार नै व्यक्त गर्न चाहन्छु ।
मानव सेवा आश्रमलाई विदेशमा रहेको नेपालीहरूले सहयोग गर्न चाहनुभयो भने कुन माध्यमबाट सहयोग गर्ने होला ?
२०८२ मा सडक मानवमुक्त देश घोषणा गर्ने र त्यसको पूर्णरूपमा कार्यान्वयन गर्ने भनिरहेका छौँ । आफ्नो मातृभूमिमा जुन किसिमले बेसहाराहरूको सेवा भइरहेको छ । यो अभियानमा जोडिनका लागि म गोर्खा मिडियाको माध्यमबाट पनि बेलायत र सबै देशमा छरिएर रहनुभएका नेपाली परोपकारी मनहरूलाई सादर अनुरोध गर्न चाहन्छु । सहयोग गर्ने विभिन्न तरिकाहरू छन् । सबैभन्दा ठूलो सहयोग त भावनात्मक सहयोग नै हो । विदेशमा रहेर पनि भावनात्मक साथ यहाँहरूले दिइराख्नुभएको छ, यो सबैभन्दा ठूलो सहयोग हो । र प्रत्यक्ष रूपमा यो अभियानमा जोडिनका लागि अहिले हामी देशैभरि घर भाडामा लिएर सञ्चालन भइरहेका आश्रमहरूको आफ्नै भवन निर्माण कार्य अघि बढिरहेको छ । १६ जिल्लामा २०० जनालाई सेवा दिनसक्ने क्षमताका मानवताका मन्दिरहरू बनिरहेका छन् । ती मानवतामा मन्दिरको निर्माण सम्पन्न गर्न एउटा इँट्टा, एक बोरा सिमेन्ट र एक कोठा निर्माणमा योगदान गर्न सक्नुहुन्छ । अनि हामीले ५ लाख ११ हजार १११ भन्ने अभियान चलाएका छौँ । त्यो रकमले एक कोठा निर्माणको सहयोगी दाता बन्न सकिन्छ । यो भौतिक निर्माणतर्फको कुरा भयो । आश्रमको व्यवस्थापकीय सेवामा सहयोगी बन्नका लागि आजीवन वार्षिक भोजन सेवा सदस्यता भनेर कसैले कुनै पनि सेवा केन्द्रको एक समयको भोजन सेवा सदस्यता बन्नलाई १ लाख ११ हजार १११ रुपैयाँ भनेका छौँ । त्यो अक्षय कोषमा बस्छ । त्यसको ब्याजले वर्षको कुनै एक दिन इच्छाएको सेवा केन्द्रमा भोजन सेवा गराउन सकिन्छ । कसैले एक दिनभरिको भोजन सेवा गराउन चाहनुभयो भने २ लाख ६१ हजार १११ रुपैयाँ भनेका छौँ । त्यो पनि अक्षय कोषमा जान्छ ।
अर्को आश्रमको गरिमा बढाइराख्नुभएका आमाहरूको छोराछोरी बन्ने अभियान पनि छ । यो भनेको एक जना आमा वा एक जना बुवाको सेवाका लागि मासिक पाँच हजार रुपैयाँ योगदान गरेर ती आमाबुवाहरूको छोराछोरी बन्न सकिन्छ । अनि अहिले हामीसँग १५२ जना बाबुनानी होइसिन्छ । ती बाबुनानीहरूको आमाबुवा बन्नसक्ने अभियान छ । त्यसका लागि चाहिँ मासिक ८ हजार रुपैयाँ योगदान गरेर सहयोग गर्न सकिन्छ ।
त्यसैगरी आफ्ना जन्मदिन, विवाह वर्षगाँठ, पितृकार्यहरूमा भोजन सेवा गराउन सकिन्छ । बेलायतबाट यो अभियानमा प्रत्यक्ष जोडिनका लागि हामीले ३०० पाउन्ड योगदान गरेर मानव सेवा आश्रमको आजीवन सहयोगी सदस्य बन्न सकिने प्रावधान पनि मिलाएका छौँ । यसरी जुनसुकै किसिमको साथ र सहयोगबाट यो अभियानमा सघाउन सकिन्छ।
अन्त्यमा केही छुटेका छन् भने भन्न सक्नुहुन्छ।
बेलायतमा र विदेशमा छरिएर रहनुभएका सबै नेपाली परोपकारी मनहरूलाई आभार व्यक्त गर्छु । र २०८२ सालभित्र सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा यहाँहरू सबैको ऐक्यबद्धता, साथ र सहयोगका लागि पनि अनुरोध गर्छु । आफ्नो शब्दलाई बिराम दिनुभन्दा अगाडि भन्न चाहन्छु :
कलम रोए शब्द बन्छ, कवि रोए कविता
धर्मी मरे श्रद्धाञ्जली, पापी मरे रमिता
ज्ञानी भए ध्यानी हुन्छ, ध्यानी भए विवेकता
जो शील संयममा रम्दछ, उसैमा आउँछ मानवता
मानवता नै पहिलो श्रेणी, त्यसैका लागि सजगता
छोडी स्वार्थ गरौँ सेवा, तबै मिल्छ अमरता