अबको दुई हप्तामा बेलायतको केम्पर्टन पार्कमा १६ औँ नेपाली मेला हुनेछ । नेपाली दूतावास लन्डनसँगको सहकार्यमा तमुधीं यूकेले हरेक वर्षजस्तै यस वर्ष पनि २४ अगस्टमा मेला आयोजना गर्न लागेको हो । तमुधीं यूकेले विभिन्न समिति बनाएर मेला तयारी धमाधम गरिरहेको जनाएको छ । यस पटक नेपालको बिजुलीका नायक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा हुने नेपाली मेलाबारे शनिबार तमुधीं यूकेले जुम बैठकसमेत आयोजना गरेको थियो । गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृङ्खलामा नेपाली मेलाको तयारीबारे उपाध्यक्ष एवं नेपाली मेलाका संयोजक कमल गुरुङसँग मिलन तमुले गरेको कुराकानी ।
तमुधीं यूकेको शनिबार जुम मिटिङ भएको थियो, त्यसमा के के विषयमा छलफल भयो ?
जुम मिटिङमा तमुधीं यूकेका पदाधिकारी, कार्यसमितिलगायत गरी करिब ६० जनाको उपस्थिति थियो । १६ औँ नेपाली मेलाको तयारी के छ, के के तयारी भयो ? कसलाई के जिम्मेवारी दिइएको छ भन्नेबारे हामीले बैठकमा जानकारी गरायौं । सुझाव सङ्कलनको काम पनि भयो । केही कुरा उहाँहरूले पनि भन्नुभएको छ । राम्रा सुझावलाई लेखेर राखेका छौँ, नेपाली मेलालाई राम्रो, चित्तबुझ्दो ढङ्गले सञ्चालन गर्नका लागि कार्यान्वयन गराउने छौँ ।
मेलामा राखिने स्टल बुकिङ यसअघि नै बन्द गरिएको थियो । तर, तपाईंहरुले केही दिनअघि केम्पर्टन पार्क भ्रमणपछि स्टल थप्ने कुरा गर्नुभयो । खासमा के हो ?


तमुधीं यूकेले गर्ने कार्यमा प्राय: मानिसहरूको उपस्थिति बाक्लो हुन्छ । यूकेमा धेरै व्यवसायीहरू हुनुहुन्छ । त्यसैले आउने क्रम बढ्दो छ । जस्तो हामीले गोर्खा कप गर्छौँ, त्यसमा थुप्रै स्टलहरू हुन्छन् । अपुग पनि हुने गरेका छन् । नेपाली मेलामा पनि नेपालीहरूले खानाको स्टल, लुगाको पसलले लुगै ल्याएर बेचेको हुन्छ । कतिपय व्यवसायीहरूले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि प्रचारप्रसारका काम गरेका हुन्छन् । त्यसका लागि हामीसँग पर्याप्त स्टल राख्ने ठाउँ छैन । जहाँ ६० वटा स्टलहरू मात्रै अट्छ । यस पटक १ सय ३० को हाराहारीमा व्यवसायीहरूले स्टल राख्नका लागि आवेदन दिनुभएको थियो । उहाँहरू सबैलाई ठाउँ दिन सक्ने अवस्था नभएकोले अस्ति शनिबार आयोजक हामी नेपाली मेला हुने ठाउँ क्याम्पर्टन पार्क गयौँ । र, सम्बन्धित व्यक्तिसँग हाम्रा कुरा राख्यौँ । उहाँहरूले कार पार्कलाई काटेर १० मिटर जति ठाउँमा स्टलहरू राख्न सकिन्छ भन्ने कुरा गर्नुभयो । यो खुसीको कुरा । टोलीमा एसके कुमार गुरुङ पनि जानुभएको थियो । उहाँले नयाँ भिजन ल्याउनुभयो । ती स्टलहरू पनि बुकिङ सकिसकेको छ ।
नेपाली मेलाको विशेषता के हो र यस पटक कसको प्रमुख आतिथ्यतामा हुँदै छ ?
हामी देशभक्त नेपालीहरू विदेश पलायन भएका छौँ । नेपालमा धेरै जातजातिको आआफ्नै भेसभुसा र भाषा छन् । सबैको आआफ्नै संस्कृति छ । विदेशमा सङ्घ संस्था धेरै छन् । उहाँहरूले आफ्नो जाति, भेसभुसा, रीतिरिवाज, संस्कृति देखाउन धेरै चासो राख्नुहुन्छ । त्यसैले नेपाली मेला यस्तो ठाउँ हो, जहाँ सबैले आफ्नो पहिचान दिनका लागि, जातीय पहिचान दिनका लागि, आफ्नो भेसभुसा, संस्कृति देखाउने थलो भएको छ । त्यही कारण नेपाली सङ्घसंस्थाहरू त्यहाँ सहभागी हुन्छन् र सम्पूर्ण नेपाल भएको देखाउनका लागि, नेपालीले गर्ने कामहरू, नेपालीले खाने खानाहरू सबै सानो ठाउँमा अर्थात् मिनी नेपाल देखाउने प्रयास गरेका छौँ । धेरै सङ्घसंस्था त्यसैका लागि पनि भेला हुने गर्छन् । नेपालको झल्को त्यहाँ देख्न सक्छौँ । हामीले कस्तो खालको लुगा लगाउँछौँ । कस्तो खाना खान्छौं जस्ता सबै कुरा त्यो दिन देख्न पाउँछौँ । र विभिन्न व्यवसायीहरूले आफ्नो व्यवसाय प्रचार गर्ने ठाउँ भएको छ । त्यसमा प्रमुख अतिथि भनेर नेपालको बिजुलीका नायक कुलमान घिसिङज्यूलाई तमुधीं यूकेले निमन्त्रणा पठाउँदा उहाँले स्विकार्नु पनि भयो । हाम्रो कागजबाट उहाँलाई भिसा लगाउने काम पनि गरेका छौँ । उहाँ सोमबार ११ अगस्टमा लन्डन आउँदै हुनुहुन्छ । उहाँलाई स्वागतका लागि तमुधीं यूकेका साथीहरू एयरपोर्ट जान्छौँ ।
सोमबार बेलुका नै मिचेटस्थित तमुधीं भवनमा स्वागत गर्ने कार्यक्रम तयारी छ । तमुधीं यूकेका कार्यसमितिका साथीहरू, ट्रस्टीज, सल्लाहकार समितिका साथीहरू, आमा समूह, शुभचिन्तक सबै आउनुहुन्छ । उहाँलाई स्वागत गर्ने र तमुधीं भवन पनि अवलोकन गराउने कार्यक्रम छ ।

नेपाली मेलाभित्र विभिन्न प्रतियोगिता पनि हुँदै छ भनिएको छ । प्रवेश शुल्क, कार पार्कको व्यवस्थालगायत विषयमा जानकारी गराइदिनु न ?
नेपाली मेलामा प्रवेश शुल्क हामीले ५ पाउन्ड राखेका छौँ । कारको पनि ५ पाउन्ड छ । तर यो वर्ष अपाङ्गता भएकाहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेका छौँ । ७५ वर्षभन्दा माथि उमेर पुगेका बाबाआमाहरूलाई फ्री इन्ट्री पाउनुहुन्छ । उहाँले ज्येष्ठ नागरिक कार्ड देखाउनुपर्ने हुन्छ ।
त्यस्तै झाँकी, नृत्यमा पुरस्कार दिनेछौँ । केही सान्त्वना पुरस्कार पनि रहेको छ । भाग्यशाली चिट्ठा (राफल ड्र) पनि राखेका छौँ । प्रवेश शुल्कबापत तिर्ने ५ पाउन्ड नै राफल ड्रका लागि सहभागिता हुनेछ । अर्को टिकट किन्नु पर्दैन । जसको प्रथम पुरस्कार आधा तोला सुन रहेको छ । उक्त पुरस्कार लामा ज्वेलर्सले प्रायोजन गरेको छ । दोस्रो पुरस्कार आईप्याड छ । जुन गोर्खा ट्राभल्स अल्डरसटका प्रोप्राइटर दिलरास गुरुङले दिनु भएको छ । तेस्रो पुरस्कार घडी छ । जुन पुरस्कार लन्डन बस्ने तमुधीं यूकेको कार्यसमिति सदस्य पार्वती गुरुङ दिदीले दिँदै हुनुहुन्छ । उहाँलाई माइला भनेर पनि चिनिन्छ ।
मेलामा एम्बास्डर कप पनि हुनेछ । यसमा पहिलो पुरस्कार ११ सय पाउन्ड रहेको छ । जसको प्रायोजन एनआरएनए यूकेको भर्खरै निर्वाचित उपाध्यक्ष डा रक्षा थापाले आफ्नो कम्पनी माया लिमिटेडलगायतबाट प्रायोजन गर्नुहुनेछ । दोस्रो पुरस्कार ७ सय पाउन्ड एलएन पाण्डेले प्रायोजन गर्नुहुनेछ । तेस्रो पुरस्कार तमुधीं यूकेलाई हरेक चरण सहयोग गर्नुहुने हर्क गुरुङले स्पोन्सर गर्नुहुनेछ । अरु धेरै पुरस्कारहरू छन् । ती पुरस्कारहरू उठिसकेको छ । यसबारे पुरस्कार संयोजक महासचिव डा विशाल गुरुङलाई बढी थाहा छ ।
मेला सुरु कति बेला हुन्छ ?
सबै कार्यसमितिका साथीहरू बिहान ७ बजे नै केम्पर्टनपार्कमा भेला हुन्छौं । त्यसपछि तयारीमा खटिनेछौं । १० बजे हाम्रा अतिथिहरु आउनुहुनेछ र उद्घाटन सत्र सुरु गर्नेछौं । त्यसैले तपाईंहरु जहाँ जहाँ हुनुहुन्छ १० बजे आइदिनुस् होस् । हामी तपाईंहरुको प्रतिक्षामा हुनेछौं । साढे १० बजेपछि झाँकी स्टार्ट हुन्छ । म यस गोर्खा मिडियामार्फत आग्रह गर्न चाहन्छु, १० बजेभित्र झाँकी टोली आफ्नो एरियामा आइदिनुहोस् । जसले हामीलाई कार्यक्रम तयारी गर्न सजिलो हुन्छ । हामीले कार्यक्रम सकाउने जुन वाचा गरेका छौँ, त्यसलाई सफल पार्न तपाईंहरुले सहयोग गरिदिनुहोस् । समय आउनु विनम्र अनुरोध गर्दै सङ्घ संस्थाले राख्ने संक्षिप्त मन्तव्यलाई सकेसम्म छोटै बनाइदिनु होला । समाजका नाचहरूलाई पनि छोटो तरिकाले नचाउनुहोस् । नेपाली कल्चरल बारेको नाच ल्याएर आउनुहोला भन्ने विशेष अनुरोध गर्न चाहन्छु ।
अन्तमा केही छुटफुट कुरा छ भने भन्न सक्नुहुनेछ ?
यो नेपाली मेला १६ औँ संस्करणको हो । यो केम्पर्टनपार्कमा हुँदै छ । २४ अगस्ट आइतबारका दिन बिहान १० बजेदेखि कार्यक्रम सुरु गर्नेछौं । तमुधीं र इकाइका साथीहरू बिहान ७ बजे कार्यक्रम स्थल आइसक्नु हुन्छ । झाँकीमा सहभागी हुने र नेपाली मेलामा आउनुहुने महानुभावहरू १० बजेभित्र आइदिनुहोस् ।