सन् २००९ मा सेटलमेन्ट राइट पाएर रश्मूरमा बस्दै आउनुभएका नेपाली आमाबुबाहरू र नेपालबाट भर्खर भर्खर बेलायत आउनुभएका आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुको समस्या लक्षित बेलायतमा जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट सञ्चालित छ । नेसनल लट्रीबाट फन्डिङ लिएर सञ्चालित प्रोजेक्ट नेपाली कम्युनिटीको आवश्यकता हेरेर अगस्ट २०२४ मा सुरु गरिएको हो । यो प्रोजेक्टबाट नेपालीहरु लाभान्वित भइरहेको प्रोजेक्ट म्यानेजर सुशीला मगरले जानकारी दिनु भएको छ । जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट के हो र यसले दिने सेवालगायत विषयमा गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा प्रोजेक्ट म्यानेजर सुशीला मगरसँग गोर्खा मिडियाका मिलन तमुले गरेको संक्षिप्त कुराकानी ।
जीआरएनसी कम्युनिटी कनेक्टबारे बताइदिनुस् न ?
जीआरएनसी कम्युनिटी कनेक्ट गत वर्षको अगस्ट २०२४ देखि सुरु गरेका हौं । यो नेसनल लट्रीबाट फन्डिङ पाएर सुरु गरिएको हो । एक वर्षको अवधिमा १ हजारभन्दा बढीलाई हामीले मद्दत गरिसकेका छौं । नेपालबाट भर्खर भर्खर आउनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबाबा धेरै जना हुनुहुन्छ । अङ्ग्रेजी, डिजिटल प्रविधिको समस्याले गर्दा हरेक दिन जीआरएनसी कार्यालयमा मद्दत लिन आउनुहुन्छ । कतिलाई जीपीमा कन्ट्र्याक्ट गर्न गाह्रो हुन्छ, कतिलाई स्वास्थ्यबारे, कतिलाई बेनिफिटलगायत धेरै विषयमा समस्या भएर उहाँहरु मद्दत लिन आउनुहुन्छ । हामीले सहयोग गर्छौं ।
जीआरएनसीको कार्यालय कहाँ छ र कति बजेसम्म खुला हुन्छ ?
जीआरएनसीको कार्यालय ४९ भिक्टोरिया रोड अल्डरसटमा छ । हामी सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि ५ बजेसम्म हुन्छौं । लन्च टाइमबाहेक हामी प्राय: अफिसमा हुन्छौं । तपाईंहरुलाई साह्रोगाह्रो परेको छ भने त्यहाँ आउन सक्नुहुन्छ ।
तपाईंहरुले के के विषयमा सहयोग गर्नुहुन्छ ?
नेपालबाट आउनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबाबालाई अंग्रेजी भाषाको साथसाथै यूकेको लाइफस्टाइलबारे जानकारी गराउँछौं । सेवाहरु कहाँ कहाँ पाइन्छ भन्ने विषयमा मार्गदर्शन गराइदिन्छौं । कनेक्ट गराइदिन्छौं । उहाँहरुलाई बेनिफिटदेखि कहाँ काम पाइन्छ, एनएसएसमा कता गएर मद्दत लिने, वेल विइङका लागि अंग्रेजी क्लास लिनुपर्यो, योगा क्लासहरु लिनु पर्यो अथवा कफी मर्निङहरुजस्ता विभिन्न कार्यक्रम चलाउँछौं ।
शुल्क पनि लाग्छ कि नि:शुल्क ?
नि:शुल्क हो । अहिले हामी दुई जना पूर्णकालीन कर्मचारी छौं । हामीले सक्दो सहयोग गर्छौं । सबै काम गर्न हामीलाई स्वयंसेवक आवश्यक पर्छ । यसरी काम गर्दै आइरहेका छौं अहिलेसम्म ।
सेवा लिन आउँदा अपोइन्टमेन्ट लिनुपर्छ कि सिधै आउँदा हुन्छ ?
अहिले मान्छे धेरै आउने भएकोले अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था गरेका छौं । तर सानोतिनो काम छ भने हामी उत्तिनै खेर गरिदिन्छौं । अलि कठिन कामचाहिँ अपोइन्टमेन्ट लिएर गर्ने गर्छौं ।
एक वर्षमा हजार जनालाई सेवा दिइसक्नुभयो, अहिले कत्तिको आइरहेका छन् सेवाग्राही ?
अहिले झनै धेरै जना आइरहनुभएको छ । जसले गर्दा हामीलाई अझै धेरै मद्दत चाहिएको छ । महिनामा एक पटक तत्काल कियर प्लानिङ गर्नेबारे सिकाइदिनुहुन्छ । भोलिन्टियर इन्टरप्रिटर गर्नुहुन्छ । जब सेन्टर प्लसका मान्छेहरु आउनुहुन्छ, छ्यामा, दाइ दिदीहरु नेपालबाट आएर काम नपाई बसिरहनुभएको हुन्छ । उहाँहरुलाई युनिभर्सल क्रेडिट लिनुपर्छ । त्यसका लागि सबै डिजिटल प्रोसेस हुन्छ । त्यो गाह्रो सल्ट्याउन जब सेन्टर प्लससँग मिलेर हामी गरिदिन्छौं । यदि हाम्रो काममा मद्दत गर्न चाहनुहुने स्वयंसेवकले एक/दुई घण्टा समय दिन आग्रह गर्छु ।
अहिले ई भिसाको चलन पनि आएको छ । यसबारे पनि सहयोग गर्नुहुन्छ तपाईंहरुले ?
हामीले ई भिसाबारे पनि काम गरिदिन्छौं । कतिपयले पैसा लिएर काम गरिदिएको हामीले सुन्यौं । त्यस्तो गर्नु ठीक होइन । हाम्रो नेपाली कम्युनिटीलाई मद्दत गर्नुको साटो उल्टो पैसा लिएर फाइदा उठाएको थाहा पाएर हामीले नि:शुल्क गरिदिएका छौं । पोहोरसाल सबभन्दा बढी मद्दत पुर्याएको ई भिसामा थियो । हामीले कुन कुन समस्यामा मद्दत पुर्याएको विषय वेबसाइटमा पनि राखेका छौं ।
फिको पैसा कि काम गरेबापत लिँदा रहेछन् ?
फि त तिर्नै पर्यो । तर काम गरेबापत पनि मान्छेहरुले पैसा लिएका रहेछन् । कसैलाई २० पाउन्ड, कसैलाई ५० पाउन्ड लिएको थाहा पायौं । तर हामीले बिना चार्ज ई भिसाको एप्लाई गरिदिन्छौं । हाम्रो वेबसाइट www.grnc.org.uk छ । हामीले नयाँ सूचनाहरु राख्ने र अपडेट पनि गरिरहेका छौं । त्यसमा जीआरएनसी भनेको के हो ? कहिले स्थापना भएको हो ?, हाम्रा कार्यक्रमहरु के के हुन्छन् ? जस्ता विषय त्यहाँ छन् । हरेक दिन, हप्ता र आगामी दिनमा के के हुँदैछ भन्ने विषय पनि हामीले अपडेट गरिरहेका हुन्छौं । मुख्यचाहिँ हरेक सोमबार कफी मर्निङ हुन्छ अल्डरसटमा । एक घण्टा योगा, एक घण्टा विभिन्न क्षेत्रबाट आएका प्रोफेसनलहरु आएर प्रेजेन्टेसन दिने काम हुन्छ । त्यो अवेयरनेस खालको कार्यक्रम पनि हो । वेस्टटेन सेन्टर अल्डरसटमा बिहान १० बजे सुरु हुने त्यो कार्यक्रम १२ बजे समापन हुन्छ ।
अन्त्यमा केही थप्न भन्नुहुन्छ कि ?
जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली कम्युनिटीको आवश्यकता हेरेर सुरु गरेका हौं । त्यसकारण यो सबैको प्रोजेक्ट हो । हजुरहरुको मद्दतबिना हामीले सफल पार्न गाह्रै हुन्छ । दुई जना स्टाफले सबैतिर मद्दत गर्न सकिने कुरै भएन । यदि तपाईंहरु कसैसँग समय छ भने हाम्रो अफिसमा आइदिनुहोला । के के गर्दोरहेछ भनेर हेरिदिनु होला । साथीभाइलाई केही मद्दत चाहिन्छ भने जीआरएनसीको अफिसमा जान सुझाव दिनु होला । हाम्रा कार्यक्रमहरु भइरहन्छन्, त्यसबारे सबैसामु चर्चा गरिदिनुभयो भने उहाँहरुले पनि त्यसको फाइदा लिन सक्नुहुनेछ । यो प्रोजेक्ट सफल पार्न सम्पूर्ण कम्युनिटीको हात हुनेछ ।