लन्डन । गोर्खा मिडिया यूकेले समाजसेवी तथा तमु प्ये ल्हु संघ यूकेका संस्थापक उपाध्यक्ष सोम त्होर्जे तमुलाई सम्मान गरेको छ ।
गोर्खा मिडियाको पाँचौ वार्षिकोत्सको अवसरमा घोषणा गरिएको सम्मान शुक्रबार १७ अक्टुबर २०२५ मा फानबोरोस्थित गोर्खा प्यालेसमा एक कार्यक्रमबीच सोमलाई प्रदान गरिएको हो । सम्मानित त्होर्जेलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सल्लाहकार एकेन्द्र गुरुङलगायतले फेटा, दोसल्ला, सम्मानपत्र प्रदान गरे ।


शुक्रबारको कार्यक्रममा एनआरएनएको सल्लाहकार, एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा गोर्खा प्यालेसका प्रोपाइटर सूर्य गुरुङ, गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ, प्राविधिज्ञ ओम लामा उपस्थित थिए ।
तमुधीं यूकेका ट्रस्टी, गोर्खा मिडियाका सल्लाहकार एवं गीतकार एकेन्द्र गुरुङले सम्मानित सोम त्होर्जे तमुलाई बधाई दिँदै उनले तमु प्ये ल्हु संघ यूके, म्याराथनमार्फत् महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले सोम त्होर्जे तमु गोर्खा मिडियाले मात्रै सम्मान गर्नुपर्ने व्यक्तित्व नभइ अन्य संघसंस्थाबाट सम्मान गर्न योग्य रहेको बताए ।
सम्मानित व्यक्ति सोम त्होर्जेले आफूले प्राप्त सम्मानलाई जहिल्यै शीरमाथि राख्ने भन्दै गोर्खा मिडियालाई धन्यवाद दिए । उनले सम्मान पाएपछि आफूले समाजमा केही गरेजस्तो महसुस भएको बताए ।
१४ सेप्टेम्बरमा आयोजित वार्षिकोत्सव समारोहमा बीजीडब्लुएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, समाजसेवी तथा राजनीतिज्ञ काउन्सिलर नीना गुरुङ, नृत्य निर्देशक एवं प्रशिक्षक कविता घर्ती मगर गुरुङ, गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्स खेलाडी एवं प्रशिक्षक सन्तोष राई र गायिका पवित्र गुरुङलाई सम्मान र पुरस्कृत गरिएको थियो । नृत्य निर्देशक घर्ती गुरुङ र गायिका गुरुङलाई जनही १५ हजारसमेत पुरस्कार दिइएको थियो । कर्मचारीतर्फ पत्रकार सीताराम गुरागाईं २० हजार रुपैयाँ नगदसहित सम्मानित भए । उक्त दिनमा समाजसेवी सोम नेपालमा रहेकाले शुक्रबार प्रदान गरिएको प्रबन्ध निर्देशक तमुले बताए ।

१४ सेप्टेम्बरमा प्रमुख अतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी र नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेनेको विशेष आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको थियो ।
को हुन् सम्मानित समाजसेवी सोम त्होर्जे तमु
समाजसेवा र परोपकारी कार्यमा अद्वितीय सोम त्होर्जे तमुले परदेशमा पनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा र भेषभुषा जगेर्नाका लागि सन् २००५ मा तमु प्ये ल्हु संघ युके स्थापना गराउन विशेष भूमिका खेल्नुभयो । संस्थापक उपाध्यक्ष सोमले दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको पद सम्हालेर समाज र समुदायको सेवा गर्नुभयो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका (साविक भदौरे तामागी गाविस वडा नं.१) भदौरे देउरालीमा बाबा खेमबहादुर त्होर्जे तमु र आमा बिरसिरी योज तमुको कोखबाट कान्छा छोराको रुपमा सन् १९६८ मा जन्मिनुभएका सोम त्होर्जे तमु हाल तमु प्ये ल्हु संघ युकेको सल्लाहकारको रुपमा सक्रिय हुनुहुन्छ । उहाँ आफ्नो गाउँको श्री बहादुरे माध्यमिक विद्यालयको प्रमुख चन्ददाता पनि हुनुहन्छ । उहाँले करिब चार लाखको लागतमा विद्यालयको प्रवेशद्वार निर्माण गरिदिनुभएको छ । यस बाहेक विद्यालयको सहयोगार्थ र शिक्षकको तलबका लागि तत्कालीन समयमा हरेक वर्ष दुई-दुई लाख आर्थिक सहयोग पठाउने गर्नुभएको थियो ।
शिक्षालाई उज्यालोको प्रतिक ठान्नु हुने उहाँले दशकदेखि तमु साँस्कृतिक प्रतिष्ठान पोखराको सक्रियतामा एकजना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आउनुभएको छ भने बेलायतमा तमु प्ये ल्हु संघ युकेको सामुदायीक भवन तथा कोईंबो निर्माण सहयोगार्थ एभरेष्ट म्याराथन-२०१७ मा भाग लिएर सत्ताईस हजार सात सय पैचालिस पाउण्ड च्यारिटी संकलन गराउनुभएको थियो ।
त्यसैगरी तमु जातिको धर्म, संस्कार र सँस्कृति उत्थान र विकासको लागि क्होंइवों निर्माण सहयोगार्थ प्रति-कहाँईवो पचास हजारभन्दा बढी आर्थिक सहयोग दिँदै आउनु भएको छ भने हालै घान्द्रुकमा निर्माणाधीन क्होँईबोको सहयोगार्थ र क्होला सोँप्रे व्होमा निर्मित क्होँईबोको जिर्णोद्वारका लागि अन्नपूर्ण म्याराथनमा सहभागी भएर चौध लाख सत्ताईस हजार सात सय एकाउन्न रुपैयाँ संकलन गरी बुझाउनुभएको छ । उहाँका यी र यस्तै उदाहरणीय कामले उहाँलाई बेलायत र नेपालमा अब्बल समाजसेवीको श्रेणीमा उभ्याएको छ ।
परिवारमा तीनजना दाजु र एकजना दिदीपछिका कान्छो सदस्य हुनुको कारण बाबा-आमा, दाजुहरु र दिदीको मायामा हुर्किन पाउनुभयो उहाँले । रमाइलो भदौरे देउराली गाउँमा बाल्यकाल बिताएका सोम त्होर्जे तमुले तत्कालीन श्री बहादुरे प्राथमिक विद्यालयमा कक्षा तीनसम्म अध्ययन गर्नुभएको थियो भने ताल बराही मावि बैदामबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभयो । फुटबल र भलिबल खेल्न सिपालु सोम दौडमा पनि ज्यादै तेज ।
अनुशासित, ईमान्दार र जेहेन्दार सोम कक्षा १० मा अध्ययन गरिरहेको कलिलो उमेरमा सन् १९८७ मा बेलायती सेनामा भर्ती हुनुभयो । भर्ती लाएर हङकङ गएका उहाँले हङकङमा सैन्य तालिम पूरा गरेर १/२ गोर्खा रेजिमेन्टमा आबद्ध भई सोह्र बर्षको सैनिक जीवन बिताउँदै सन् २००३ डिसेम्बरमा अवकाश लिएर जन्मभूमि फर्किनु भयो ।
बेलायती सेनामा रहँदा उहाँले हङकङ, ब्रुनाई, चीन, क्यानाडा, बेलिज, होण्डुरस, साईप्रस, जर्मन, फ्रान्स, स्विटजरल्यान्ड, मलेसिया, सिंगापुर, मकाउ, कोरिया र भारतलगायतका देशहरुको भ्रमण गर्नुभयो । बेलायती सेनाबाट सन् १९५० मा पहिलो छुट्टीमा घर आएर बबिता प्हच्यु तमुसँग लगनगाँठो बाँधेका सोम त्होर्जे तमुको दुई सन्तान सोवित र निकिता हुनुहुन्छ । तर अहिले पुनम ल्हेंगे तमु बुहारी र नातिनी ओसको थपिनुभएको छ । अवकाश लिएर घरदेश फर्किएका सोम त्होर्जे तमुलाई छोटो समयमा नै बेलायत आउने अवसर मिल्यो । त्यसपछि सन् २००४ को डिसेम्बर महिनामा बेलायत आएर मिलिटरी प्रोभेस्ट गार्ड सर्भिस (एमपीजीएस) मा भर्ना भई सन् २००५ सालदेखि हालसम्म कार्यरत हुनुहुन्छ ।