अल्डरसट । कोल्मा बहाकोट समाज यूकेको देउसीभैलो २०२५ सम्पन्न भएको छ । आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा भौतिक र अनलाइन दुवै माध्यमबाट देउसीभैलो खेलिएको हो ।
गोर्खा हिलका प्राोप्राइटर एवं संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मदन रानाले सुरु गरेका थिए । भौतिक रूपमा २० जना र अरू अनलाइनबाट सहभागी भएका थिए ।
देउसीभेलीबाट आइतबार एकैदिन ३ हजार पाउन्ड रकम जम्मा भएको छ । अझै दुई हप्ता खाता खुल्ला नै रहने भएकाले चाहनेले सहयोग गर्न सक्नेछन् । अहिले पनि जम्मा हुने क्रम जारी नै रहेको छ ।
संकलन भएको रकम मध्येबाट ७ सय कोल्मा बहाकोटको आयोजनामा स्याङ्जामा हरेक वर्ष हुने अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सहयोग गर्ने जनाइएको छ ।
समाजले उक्त प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नेछ । बाँकी रकम समाजको फन्ड रेज र भैपरी आउँदा नेपालमा सहयोग गर्ने मुख्य उद्देश्यले देउसीभैलो खेलिएको समाजले जनाएको छ ।बहाकोट
प्रत्यक्ष र अनलाइनमा उपस्थित भएर देउसीभैलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।
कोल्मा बहाकोट समाज यूके नेपालको स्याङ्जा जिल्लास्थित पुतलीबजार नगरपालिका-९ सहित अन्य केही वडा घर भई बेलायतमा बसोबास गरिरहेका नेपालीहरूको संस्था हो ।
यसले कोल्मालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन तथा गाउँमा रहेका युवाहरूलाई स्वरोजगार बनाउँदै खेलकुदमा सहभागी गराउनेलगायत विभिन्न कार्यक्रममा भूमिका खेलिरहेको छ ।

यसले कोल्मा बहाकोटअन्तर्गत वडालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तथा युवालाई विविध खेलकुदमा सहभागी र सहयोग पुर्याउँदै आएको छ । यस्तै, कोल्माको शिक्षालगायत सामाजिक क्षेत्रको विकासका लागि पनि सहयोग गरिरहेको छ ।