गुरुङको ऐतिहासिकस्थल मानिने कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा जन्मनुभएको हो, गायिका प्रिया गुरुङ । हाल मादी गाउँपालिका-३ मा पर्ने याङ्जाकोटकी गायिका प्रिया सांगीतिक क्षेत्रमा छाइरहनुभएको छ । पार्श्व गायिकी क्षमता भएकी प्रियामा गुरुङ गीत गाउने कला झनै राम्रो छ । उहाँले नेपाली र गुरुङ गरी एक दर्जनभन्दा बढी गीत बजारमा पस्किइसक्नुभएको छ । सानैदेखि गीत,संगीतमा रुची राख्नुहुने उहाँ पछिल्लो समय 'ओपन सी' ब्यान्डमार्फत आफ्नो कला प्रस्तुत गर्दै आउनुभएको छ । पोखरा लेकसाइटस्थित अन्नपूर्ण गार्डेनमा ब्यान्डबाट गाउँदै आउनुभएकी सुमधुर आवाजकी धनी गायिका प्रिया यतिबेला बेलायत भ्रमणमा हुनुहुन्छ । तमुधीं यूकेको आयोजनामा २५ मे २०२५ मा आयोजित २३ औं गोर्खाकपका लागि लन्डन आउनुभएकी प्रिया गुरुङसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानी :
बेलायत भ्रमण पहिलो हो कि ?
यो भ्रमण पहिलोचोटी हो । म २३ मे मा लन्डन आइपुगेको हुँ ।
कसको निमन्त्रणामा आउनुभयो ?
तमुधीं यूकेको निमन्त्रणामा २३ औं गोर्खाकपमा आएकी हुँ ।
कहिलेसम्म बस्नुहुन्छ बेलायत ?
म नोभेम्बर १० सम्म यहाँ बस्छु ।
यूके र नेपालमा के फरक देख्नुभयो ?
धेरै फरक छ । यहाँ नेपाली धेरै संख्यामा हुनुहुन्छ । नेपालमा मान्छेहरु एकदमै फ्रि हुन्छन् तर यहाँ मान्छेहरु बिजी हुन्छन् । काम, घर र साप्ताहिक रुपमा हुने कार्यक्रमले धेरै बिजी देखेँ ।
यहाँ आएपछि तपाईंले कार्यक्रमहरु कहाँ-कहाँ गर्नुभयो ?
पहिलो त २५ मे को गोर्खाकपमा प्रस्तुति दिएँ । त्यसपछि मार्गी परिवार यूके, रिडिङमा बारथर समाज लगायत संस्थाको कार्यक्रममा भाग लिएँ ।
तपाईंको सांगीतिक यात्रा कहिलेदेखि सुरु भएको थियो ?
म सांगीतिक क्षेत्रमा लागेको ७/८ वर्ष भयो ।
यस क्षेत्रमा लाग्नुमा कसैको प्रेरणा, करकापले वा आफ्नै खुसी ?
आफ्नै खुसीले यस क्षेत्रमा लागेको हुँ । मलाई सानैदेखि गीत गाउन एकदमै मनपर्ने ।
नेपालमा कुनै क्लबहरुमा गाउने काम गर्नुहुन्छ कि ?
पहिले ओपन हाउसमा ओपन सी ब्यान्डमार्फत गाउँथे । अहिले पोखरा लेकसाइडस्थित अन्नपूर्ण गार्डेनमा ब्यान्डबाटै गाउँछु ।
ब्यान्डमा कस्ता विधाका गीत प्रस्तुत हुन्छ ?
हाम्रोमा आधुनिक, लोकपप र हिन्दी गाउँछौं । रिक्वेस्ट आएमा गुरुङ गीत पनि गाउँछु ।
कति मात्रामा गीत गाउनुभयो ?
नेपाली र गुरुङ गरी एक दर्जनभन्दा बढी गीत गाएकी छु ।
ती मध्ये चर्चित कुनै गीत ?
पपुलर गीत गुरुङमा शिरमाह्रानी, कति छ्याँब जोवन ङला हुन् । चलचित्रमा समेत समावेश शिरमाह्रानी गीतको शब्द रचना आदरणीय दाइ मनोज गुरुङको हो ।
तपाईं त भ्वाइस अफ नेपालको प्रतियोगी पनि हो, कसरी त्यहाँ जानुभयो ?
उषा गुरुङ र म सहभागी भएका थियौं । आदरणीय पिटर दाइले भ्वाइस अफ नेपालको टिमलाई चिन्नु हुँदोरहेछ । दाइले भन्नु भएर नै हामी अडिसन दिन गएका थियौं ।
कुन स्थानसम्म पुग्नुभयो ?
म नकआउटसम्म पुगेँ ।
कसको टिममा ?
म कोच दीप श्रेष्ठको टिममा थिएँ ।
त्यसको अनुभव कस्तो छ ?
भ्वाइस अफ नेपालमा धेरै कुरा सिकेँ । त्यहाँ एउटा परिवारजस्तै भइसकेका थियौं । अग्रज दीप सरबाट धेरै कुरा सिकियो । धेरै जस्तो मान्छेहरुले मलाई भ्वाइस अफ नेपालको प्रस्तुतिका कारण चिन्नुहुन्छ ।
तपाईंको कुन कुन गीत बजारमा आएको छ ?
म बेलायत आउनुभन्दा एक दिनअगाडि गणेश मामाको निर्देशनमा ङ्योंजे माया चु सैं विउपारे रिलिज भएको थियो । त्यस समयभन्दा केही हप्ता अगाडि ङोल्स्यो क्योंला रुपा । केशबहादुर गुरुङको रचना रहेको उक्त गीत पुष्पा गुरुङको प्रस्तुति रहेको छ । ती गीतहरु हेर्नुभएको छैन भने युट्युबमा सर्च गरेर हेर्न/सुन्न सक्नुहुनेछ ।
कुन-कुन देशमा पुग्नुभयो सांगीतिक यात्रामा ?
यसअघि हङकङ गएकी थिएँ । अहिले बेलायत भ्रमणमा छु ।
गायक/गायिका बन्ने नयाँ पुस्तालाई तपाईं कस्तो सुझाव दिनुहुन्छ ?
यदि कलाकार बन्ने, गीत गाउने इच्छा छ भने नहिच्किचाइकन कोसिस गर्नुहोला । यही क्षेत्रकै कारण मान्छेले चिन्ने हो । म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ । नत्र बेलायत छिर्न गाह्रो छ नि । केहीले त अझै पनि सांगीतिक क्षेत्रलाई नराम्रो भन्छन् । तर आफ्नो मनलाई सोधेर कोसिस गर्नुहोस् । म गर्छु, गरेर देखाउँछु भन्ने सोच लिएर अगाडि बढ्नु होला ।
तपाईं यो क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । यही सांगीतिक क्षेत्रमा लागेर नै मैले कमाइरहेकी छु । जब पाएकी छु । खर्च पुगिरहेको छ । दु:ख, पीडा हुँदा पनि गीतकै माध्यमबाट भुलाइरहेकी छु ।
अन्त्यमा
सर्वप्रथम तमुधीं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङ दाइ, संस्थापक अध्यक्ष मिन कोन्मे दाइलगायत सम्पूर्ण टिम र भगवानरुपी मेरो दर्शक तथा याङ्जाकोट तमु समाजका अध्यक्ष वर्तमान मामालगायत परिवारप्रति म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो अन्तर्वार्ताको अवसरका लागि मिलन दाइ र गोर्खा मिडिया परिवारलाई पनि धन्यवाद । गोर्खा मिडिया डटकम वेबसाइटमा समाचार, विचार र फोटो लगायत हेरिदिनु हुन र गोर्खा मिडिया युट्युब च्यानललाई लाइक, कमेन्ट र सस्क्राब्स गरिदिनु हुन अनुरोध गर्दछु ।