तमु धीं यूकेको आयोजनामा गत २५ मे आइतबारका दिन भव्य रूपमा गोर्खा कप सम्पन्न भएको छ । यस वर्षको २३औँ संस्करणमा ५० टिम सहभागी थिए । गोर्खा कप डायस्पोरामा नेपाली समुदायले गर्ने सबैभन्दा ठूलो इभेन्टका रूपमा परिचित छ । हिँड्दा हिँड्दै शृंखलामा यही चर्चित इभेन्ट सफलतापूर्वक सम्पन्न गरेर चर्चामा रहनुभएका तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसँग गोर्खा मिडियाका मिलन तमुले गर्नुभएको कुराकानी:
गोर्खा कप सफल पार्नुभएकोमा धेरै धरै बधाइ !
धन्यवाद ! सबैमा आभार व्यक्त गर्दछु ।
गोर्खा कप नेपाली समुदायले गर्ने सबैभन्दा ठूलो कार्यक्रम हो भन्न मिल्छ ?
गोर्खा कप ठूलो इभेन्ट हो । यूकेमा तमु धींले गर्ने ठूलो इभेन्ट हो । विश्वकै ठूलो त नभनौँ । विदेशमा रहेका नेपाली समुदायले गर्ने चाहिँ ठूलो कार्यक्रम हो । खेलकुद र अरू कार्यक्रम पनि मिसिएकाले यो ठूलो प्रतियोगिता हो ।
गोर्खा कप सफल भयो, राम्रो भयो भन्ने छ । आयोजक संस्थाको अध्यक्ष भएको नाताले तपाईं चाहिँ के भन्नुहुन्छ ?
गोर्खा कप सफल भयो । मौसम ट्रेड, स्पोन्सर सबैको सहयोगले २३औँ गोर्खा कप राम्ररी सम्पन्न भयो । म अध्यक्ष भएपछि यो पहिलो ठूलो कार्यक्रम थियो । मौसममा भर पर्ने कुरा हो । मौसमले तलमाथि पार्न सक्थ्यो । भगवानको कृपाले र यहाँहरू सबैको आशीर्वादले मौसम पनि राम्रो भयो । विगतमा पनि राम्रो भएको थियो । यसपालि पनि मैले सोचेको भन्दा राम्रो भयो कार्यक्रम ।
केही केही नकारात्मक कुरा छन् कि ?
सकारात्मक र नकारात्मक कुरा जहाँ पनि हुन्छ । उहाँहरूले उठाउनुभएको कुरालाई हामीले सल्लाह सुझावका रूपमा लिएका छौँ । केही नराम्रो भएको छ भने त्यो हामीलाई सुझाव हो । त्यसलाई हामी नजरअन्दाज गर्दैनौँ । त्यसलाई आगामी वर्ष सुधार गर्दै राम्रो गर्नेछौँ । व्यवस्थित गर्दै लाने छौँ ।
ट्राफिकको बारेमा के भन्नुहुन्छ?
यो भेन्युमा प्रवेश गर्ने दुई वटा इन्ट्री छ । एउटा सधैँ चल्ने क्विन्स एभिन्यु रोड र अर्को थ्री टु फाइभ फार्नबोरो रोड । हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि थ्री टु फाइभबाट आइदिनुस् भनेर । यहाँ ट्राफ्रिक खुला थियो । तर हजुरहरू कुरेर बस्दिनुभयो। यसमा पनि धेरै धेरै धन्यवाद । आउने वर्षदेखि थ्री टु फाइभ रोडलाई चलाइदिनुहोला । त्यसबाट सजिलैसँग इन्ट्री र एक्जिट हुन्छ ।
स्टल धेरै थियो । यसमा मूल्यमा केही गुनासो आएको छ । कतै सस्तो कतै महँगो भनेर यसलाई कसरी सुधार्नुहुन्छ ?
पहिला १७ वटा रेस्टुरेन्ट राखेका थियौ । यसपालि १५ मा झारेका थियौँ । उहाँहरूले हामीलाई बुझाएको मेन्यु अथेन्टिक थियो । त्यसमा तलमाथि छैन । म र वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले सबै रेस्टुरेन्टमा गएर सोध्दा उहाँहरूले राम्रो छ । सन्तुष्ट छौँ भन्नुभएको थियो । पछि टिकटकमा आएका कम्प्लेनहरूलाई पनि फलो गर्यौँ । सम्बन्धित व्यक्तिहरूलाई पनि फोन गरेर सोध्यौँ । यसमा हामी क्लियर भइसकेका छौँ । अर्को वर्ष सुधार हुन्छ ।
भीईपीको केन्टमा इन्ट्रीमा सेक्युरिटीको कमजोरी हो वा स्टापको कमजोरी हो, त्यहाँबाट पत्रकारको कार्ड पनि नभएको र निमन्त्रणा कार्ड पनि नभएको मानिसहरू पनि भित्र प्रवेश गरे । खानामा पनि त्यस्तै देखियो । यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
यो हुँदै आएको कुरा हो । हामी ठूलो मनको मान्छे हो । ढोकामा आउने पाहुनालाई फर्काउने गरेको छैन । त्यसो गर्न पनि मिल्दैन । कसैलाई फर्काउँदैनौँ । पत्रकारहरू त गोर्खा कपको प्रचारप्रसारका लागि आउनुहुन्छ । उहाँहरूलाई सम्मान गर्छौँ । अब कसैले साथी लिएर आउनुहुन्छ । आगामी वर्षदेखि पत्रकार सम्मेलनमा उहाँहरूलाई कार्ड वितरण गर्छौँ । छुटलाई पनि पठाएका हुन्छौँ । तर ढोकामा आएको पाहुनालाई हामी फर्काउँदैनौँ ।
यही भेन्युमा गोराहरूले कार्यक्रम गर्दा फोहोरको टुक्रा एउटा पनि देखिँदैन । तर हाम्रोमा चाहिँ जति भने पनि फोहोरमैला थुप्रिने गरेको छ । यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ ?
यो एरिनाभित्र हामीले कालो ब्याग झुन्ड्याएका थियौँ । क्लिनरहरू पनि परिचालन गरेका थियौँ । बन्दोबस्त गरेका थियौँ । मानिस धेरै भएको कारणले त्यो अलिक कम्ती भएको होला । यसपटक चाहिँ एकदमै धेरै फोहोरमैला थियो । बाटोपारि पनि मैला जताततै थियो । दुई घण्टाभन्दा धेरै समय लगाएर सफा गर्यौँ । यसलाई अर्को वर्ष अलिक धेरै कालो ढ्वाङ राख्ने विचारमा छौँ । अझै व्यवस्थित गर्नेछौँ ।

गोर्खा कपको यसपालिको विशेष आकर्षण के थियो ?
यस पटक विशेष आकर्षण थुप्रै थिए । हजुरहरूले याद गर्नुभयो होला, इन्ट्री गर्नेबित्तिकै दाहिनेपट्टी दी दी लन्डनको छेउमा सोम घलेले ल्याउनुभएको बी क्लियरको स्टल पनि राखिएको थियो। उहाँहरूले ट्रेड के हो? कहाँ कहाँ सिक्न पाइन्छ? भनेर जानकारी दिनुभएको थियो । बेरोजगारी साथीभाइका लागि यो धेरै उपयोगी थियो । डा. योगी विकासानन्द गुरु र उहाँको टिम आउनुभएको थियो । उहाँहरूले विभिन्न प्रवचन दिनुभएको थियो यसका लागि नगेन्द्र नेम्बाङलाई धेरै धन्यवाद दिन्छु । नेपथ्यको प्रचारप्रसार थियो । अन्य विभिन्न स्टलमा विभिन्न प्रचारप्रसार भइरहेको थियो । मोर्टगेजको थियो । च्यारिटेबल थियो । गहनाहरूको बारेमा थियो । फुटबलका साथै एकैथलोमा हामीलाई जनजीवनमा चाहिने सबैथोक थियो । दर्शक र खेलाडीहरूले यसबाट अवश्य पनि केही न केही फाइदा लिनुभयो होला ।
तपाईंहरूको त कार्यक्रम नै कार्यक्रम छ । गोर्खा कप भर्खरै सक्नुभयो । अब नेपाली मेला आउँदै छ । यो मेला कहिले र कहाँ हुँदै छ ?
यस वर्षको १४औँ नेपाली मेला विगतझैँ आगामी २४ अगस्ट २०२५ मा केम्प्टन पार्क लन्डनमा हुन गइरहेको छ । सबै जनालाई यहाँबाट पनि चुलेनिम्तो दिन चाहेँ । यो मेला आफ्नो भेषभूषा पहिचान संस्कार संस्कृति देखाउने ठाउँ हो । विगतमा जसरी नै यसपालि पनि आइदिनुहोला । गोर्खा कपसहित हाम्रा अरू कार्यक्रममा जस्तै नेपाली मेलामा पनि आएर सफल बनाइदिनुहोला । गोर्खा कप सकिएको एक हप्तापछि नै हामी नेपाली मेलाको तयारीमा जुटिसकेका छौँ ।
अन्त्यमा छुटेको केही छ ?
गोर्खा कप तमु धींले आयोजना गरे पनि यो हामी सबै नेपालीहरूको साझा हो । यो तमु धींले आयोजना मात्र गरेको हो । एकआपसमा भलाकुसारी गर्ने थलो हो । कहिले पनि नभेटेको साथीहरू भेट्ने थलो हो । दुःखसुख बाँड्ने थलो हो । व्यापारको प्रचारप्रसार गर्ने थलो हो । हामीलाई सहयोग गर्ने व्यापारी, संघसंस्थाहरू सबैको सहयोगले नै गोर्खा कप सफल भएको हो । खेलाडीहरू, पाहुनाहरू, मेरो भोलेन्टियरहरू, जो सुरुदेखि नै खटिनुभयो । मेरो संयोजक क्याप्टेन दीपक घले, उहाँको सहयोगबिना त म कसरी रहन सक्छु र ! आर्मी क्याम्पभित्र रहेर पनि साजन हितमान गुरुङले गर्नुभएको सहयोगलाई मैले कसरी भुल्न सक्छु र ! उहाँको ठूलो देन छ ।
गोर्खा मेजर भीम श्रीस धन्यवादको पात्र हुनुहुन्छ । उहाँको सहयोगबिना म कसरी खेल खेलाउन सक्छु र ! अरू प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु । गोर्खा मेजर डेनी गुरुङलाई पनि आभार गर्न चाहन्छु । सबैको नाम लिन सम्भव भएन। भविष्यमा पनि यस्तो सहयोग गरिरहनुहोला भन्न चाहन्छु । गोर्खा मिडियासहित सबै सञ्चारकर्मीलाई प्रचारप्रसारका लागि धेरै धन्यवाद दिन चाहन्छु । मसँग कुराकानी गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।