लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए युके)ले भूतपूर्व गोर्खा र उनीहरूका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठनआबद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच अन्तरक्रिया गर्ने भएको छ ।
भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटूजी)बीच भइरहेका वार्ता प्रगतिउन्मुख नभइरहेको अवस्थामा यस अन्तरक्रिया हुन लागेको हो ।
कार्यक्रम आउँदो २७ मे सोमबार बैंक होलिडेका दिन एम्पायर हल, अल्डरसटमा बिहान ११: ३० बजेदेखि हुनेछ ।
‘अब वार्ता के हुन्छ ? यसले निकास दिन्छ वा दिँदैन ? नेपाल सरकारले बेलायतसँग कस्तो पहल गरिरहेको छ ? हामी कूटनीतिक संवादमा कहाँ चुकेका छौँ ? वार्ता सफल नभए गोर्खा संगठनसँग भावी योजना के-के छन् ? आदिबारे गहन छलफल र सुझाव आदानप्रदानका लागि हामीले कार्यक्रम राखेका हौँ,’ एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले भने ।
उनले बेलायत सरकारसँग अबको वार्ता र जी टेन समूहको भावी योजनाबारे नयाँ अपडेट सुन्न गोर्खाहरू उत्सुकताका साथ पर्खिरहेको अवस्थामा यस अन्तरक्रियाले ती कुरा उजागर गर्ने र गोर्खा मुद्दामा बेलायत र नेपाल सरकारलाई विभिन्न सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको बताए ।
एनआरएनए युकेले सम्पूर्ण गोर्खा संगठनका सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको छ । आमन्त्रित वक्तामा जी टेनका प्रवक्ता मेजर रि. जुदबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी अध्यक्ष रि. मेजर टिकेन्द्र दल देवान जेपी, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई रहनेछन् ।
यसैगरी, गोर्खा अफर टु ट्रान्सफर (गट) अध्यक्ष उदयबहादुर गुरुङ एमबीई, गेसो सभापति कृष्ण कुमार राई, गेसो उपसभापति धर्म तामाङ, नेसा युके अध्यक्ष केशबहादुर गुरुङ, अनसन्धानकर्ताहरू पुष्प राना घले, धनबहादुर गुरुङ र ज्ञानराज राई पनि वक्ताका रूपमा रहनेछन् ।