वीर गोर्खाहरूको इतिहास सन् १८१४ देखि १८१६ को एङ्ग्लो-नेपालयुद्धदेखि नै सुरु भएको हो । सन् १८५७ मा इन्डियन म्युटिनीदेखि पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध र विभिन्न युद्धहरू गरी गोर्खालीहरूको इतिहास २०९ वर्ष पुगिसकेको छ । ती इतिहासमा वीर गोर्खाहरूको नाम, उनीहरूले गरेको काम पढ्न, देख्न र बुझ्न सकिन्छ । तर ती वीर गोर्खालाई जन्म दिने आमा र उनीहरूको श्रीमतीबारे इतिहासमा कमै उल्लेख भएको पाइन्छ । यो एउटा विडम्बना थियो । आमा र श्रीमतीहरूको कथाव्यथा जुन लुकेको थियो । त्यसलाई उजागर गर्नका लागि पछिल्लो समय युवा चित्रकार सुजना थापा श्रीसले कलाको माध्यमबाट विभिन्न फोटो, भिडियोहरू प्रदर्शनी गरेर जनसमुदायमाझ ल्याइरहनुभएको छ । बेलायत भ्रमणमा रहनुभएकी श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभका संस्थापक सुजनासँग उहाँको काम, बेलायत भ्रमणलगायत विषयमा गोर्खा मिडियाका सहसम्पाादक प्रकाश गुरुङले 'अतिथि संवाद' कार्यक्रममा गर्नुभएको कुराकानीको सारसंक्षेप :
बेलायत आउनुको मुख्य उद्देश्यचाहिँ के थियो ?
मैले गोर्खा वुमनबारे एउटा प्रोजेक्ट गरेको थिएँ । सन् २०१८ देखि आइडिया नेपालमा काम गरियो । २०२०, ०२२, ०२३ र २०२४ गरेर रिसर्चका चरणहरू हामीले छुट्याएका थियौँ । त्यसकै दौरानमा डायस्पोरामा महिलाहरूको विडम्बना अन्तर्राष्ट्रिय लेभलमा के छ ? कथा के छ ? त्यसलाई नेपालमा गएर तुलनात्मक स्टडी गर्दा कस्तो पाइन्छ त ? भनेर स्टडीको लागि यहाँ (बेलायत) आएको । अनि अन्तर्वार्ताहरू गरौँ । कस्तो छ हालचाल बुझौँ भनेर युकेको भ्रमण गरेको हो । ७० वर्षभन्दा माथिको बज्यैहरूको हामीले गर्दैछौँ । युद्धको कथाहरू भन्नसक्ने अथवा त्यति बेलाको लाहुरेनीको कथाहरू जोड्नका लागि बज्यैहरूको गर्दैछौँ । पाएको खण्डमा बाजेहरूलाई पनि सँगै राखेर कुरा गर्दैछौँ । फोकसचाहिँ बज्यैहरूमा छ ।
अन्तर्राष्ट्रिय महिला दिवसबाहेक बेलायतमा कुन-कुन कार्यक्रममा जानुभयो, अनुभव कस्तो रह्यो ?
सर्वप्रथम एनआरएनए युकेको अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको लागि मुख्य प्रेजेन्टेसन भयो । त्यो सोचेको भन्दा राम्रो भयो । अलिकति नर्भस थिएँ किनभने कामको थालनी गर्दाखेरी सुरुमा बुझाउन नै समय लाग्ने रहेछ । तर युके आएको पहिलो कार्यक्रम नै राम्रो भयो । त्यसपछि अल्डरसट, फार्नबोरो, रेडिङ्गहरू गरेर साना-साना कार्यक्रम गर्यौँ । त्यसपछि ननिटनमा एक हप्ता बसियो । हामीले त्यहाँको गोर्खा समुदायको व्यक्तिहरू र ब्रिटिस नागरिकका लागि छुट्टै प्रेजेन्टेसन पनि गर्यौँ । पूरै नयाँ मानिसहरू हुनुहुन्थ्यो । त्यहाँ चाहिँ मैले चुनौती महसुस गरेको थिएँ । किनभने, नयाँ मानिसहरूलाई सुरुदेखि भन्नुपर्छ ।
गोर्खा भनेको के हो ? इतिहास के छ ? र महिलाहरूको कथा कहाँबाट आउँछ भनेर बुझाउनलाई अलिकति चुनौती महसुस गरेको थिएँ । तर राम्रो भयो । त्यहाँदेखि लन्डनमा पनि कार्यक्रम गर्यौँ । छोटो समयमा गरियो । त्यो पनि राम्रो भयो । हिलिङ्टन युथ क्लबका युथहरूसँग सहकार्य गरेर काम गरियो । लन्डनपछि मेडिस्टोन गयौं । अनि फोक्सटोन गयौँ । अहिलेसम्म राम्रो छ । अब एउटा दुइटा काम बाँकी छ ।
अनि गोर्खा म्युजियमको क्युरेटरसँग पनि तपाईंको भेट भयो ?
क्युरेटरसँग भेट भएको छैन । डाइरेक्टर चाहिँ हाम्रो काठमाडौँको प्रदर्शनीमा आउनुभएको थियो । त्यतिबेला छोटोमिठो गफ भयो । अहिले इमेलबाट नै हामी कुरा गरिरहेका छौँ । होपफुल्ली, आगामी ११ अप्रिलको बैठकमा चाहिँ राम्रो नतिजा आउँछ होला, यो प्रोजेक्टको लागि ।
जुन थिम लिएर आउनुभएको छ नि गोर्खा महिलाको । त्यो बुझाउने क्रममा जुन ठाउँमा तपाईं पुग्नुभयो, नेपाली बाजेबज्यैहरु र ब्रिटिस नागरिकलाई पनि भेट्नुभयो होला । तपाईंको प्रोग्राममा उहाँहरूको उत्सुकता कत्तिको थियो ?
त्यसको सुरुदेखि अहिलेसम्मको चार्ट बनायो भने माथि नै जान्छ । सुरुमा बुझाउनलाई नै समय लाग्छ । अगाडि १०-१५ जना भयो भने अर्को कार्यक्रममा २०-३० जना हुने । त्यसरी बढ्दै जाने क्रम देखेको छु । सुरुमा को मान्छे कस्तो हो । नियत पनि बुझ्नुपर्ने हुन्छ । छर्लंग पार्दाखेरी उत्सुकता बढिरहेको छ । त्योभन्दा पनि रियलाइजेसन चाहिँ महत्त्वपूर्ण पार्ट भएको छ । काठमाडौँमा गर्दा पनि मिडियाको मान्छे र लेखकहरूसँग पनि भेटेका थियौँ । त्यहाँ पनि कुरा भएको थियो, हामीले गोर्खा समुदायको कुरा गर्दा पुरुषलाई लेखियो । वीरताको कुराहरू गर्यौँ । महिलाको सहनशीलताको कुरा कहाँ चुक्यो त ? भन्दाखेरी, ए हामीले छुटाएका रहेछौँ भनेर रियलाइजेसन भइरहेको छ ।
तीन वटा प्रदर्शनी गरिसक्नुभयो । यसको सुरुआतदेखि नै अलिकति प्रस्ट्याइदिनुस् न ?
सुरुआत गर्दा, आर्ट फिल्डमा कसरी आएँ भन्ने पनि जोड्न चाहन्छु । म खासमा बिजनेसको विद्यार्थी हो । अर्थशास्त्र मुख्य विषय हो । आर्टचाहिँ घरमा बस्दा शोखका रूपमा मैले अघि बढाएको हो । हरेक मान्छेभित्र एउटा कला हुन्छ भन्ने सुनेको छु । त्यसलाई निखार्दै जाँदा सन् २०१५ देखि बिस्तारै आर्टमा लागेको हो । खासमा पेन्टिङ सिक्छु भनेर टिचरकोमा गएको थिएँ । मेरो काम देखेर उहाँले नै मलाई एउटा एक्जिबिसन गरौँ भनेर प्रस्ताव राख्नुभयो । मैले हुन्छ भनेँ । यसरी मेरो आर्ट फिल्डमा इन्ट्री भयो । त्यही क्रममा सन् २०१८ मा बाबा (बोमबहादुर थापा श्रीस) ले ‘भार्सेली गोर्खा गाथा र सेरोफेरो’ भन्ने बुक लेख्दै हुनुहुन्थ्यो । त्यही क्रममा पुरानो-पुरानो फोटोहरू संकलन गर्नुभएको थियो । त्यसलाई मैले के हो ? कसो हो ? बुझ्दाखेरी हाम्रो गाउँको हरेक घरबाट एउटा लाहुरे भएको गौरवपूर्ण इतिहास थाहा पाएँ । र त्यही फोटोलाई रिफाइन र एडिट गर्छु र जनमानसमा पुर्याउन केही गरौँ भनेर सोही वर्ष ‘भार्सेली गोर्खा फ्रम स्टोरिज टु पोट्रेट्स’ भनेर एक्जिबिसन गर्यौँ । त्यो मेरो पहिलो सोलो एक्जिबिसन थियो । यसअघि सन् २०१५ मा ग्रुप एक्जिबिसनमा सानो स्पेस पाइसकेको थिएँ । त्यसमा पहिलो र दोस्रो विश्वयुद्धमा लड्नुभएको बाजेहरूको फोटो थियो । त्यो पनि भार्सेको मात्रै । २५ वटा फोटो राखेको थिएँ । एउटा चाहिँ बज्यैको थियो । मैले उहाँलाई चिनेको थिइनँ तर उहाँ १०२ वर्षको बज्यै हुनुहुन्थ्यो । हाम्रो बुटवलको एक्जिबिसनमा आउनु पनि भएको थियो । लट्ठी टेक्दै आउनुभएको थियो । भेट्ने मौका पाएँ । पछि सन् २०२० मा उहाँको अन्तर्वार्ता पनि गर्यौँ ।
१०२ वर्षको बज्यैलाई भेट्दा तपाईंलाई कस्तो महसुस भयो ?
इमोसनल भएको थिएँ । भनिन्छ नि, ८४ लागेपछि भगवान्को रूप हुन्छ भनेर मान्छेहरू, उहाँ आउँदा मान्छेलाई आफ्नो अस्तित्व, आफ्नो पहिचान कति माया लाग्दोरहेछ, आफ्नो तस्बिर हेर्नलाई । त्यो उमेरमा लट्ठी टेकेर एक्जिबिसनमा आउनुभएको थियो । सम्भवतः त्यो उहाँको पहिलो नै थियो होला, कुनै एक्जिबिसनमा त्यसरी आएको । त्यो पलमा मलाई अलिकति गह्रौँ महसुस भएको थियो । आफ्नो कलाकृति देखाएको अनि बज्यै ठ्याक्कै अगाडि आउँदा त इमाजिनेसनको मान्छे नै अगाडि आएको जस्तो भएको थियो । त्यो क्षण मेरो एकदम राम्रो सम्झनाका रूपमा रहेको छ ।
भार्सेको पहिलो एक्जिबिसनलाई चाहिँ संग्रहालय नै बनाएर राख्नुभएको छ हैन ? हेर्न सकिन्छ ?
कलाको कामको प्रकृति कस्तो छ भन्दा ‘एभ्रिथिङ ह्याज टु कम फ्रम द कम्युनिटी, ह्याज टु गो ब्याक द कम्युनिटी’ भन्ने ‘वर्क इथिक्स’ राखेर काम गर्छु । त्यसमा उहाँहरूको कथा भनेको कुनै व्यक्ति विशेषको मैले उधारो लिएको जस्तो हो । त्यो म सधैँभरि राख्न सक्दिनँ । त्यो सेयर गरेपछि आफ्नो थलोमा जानुपर्छ भन्ने मेरो आइडिया हो । अनि अर्को भनेको कामलाई कसरी दिगो बनाउनेभन्दा हामीले एउटा स्ट्रक्चर लेभलमा जानुपर्छ । गाउँ, सहर जता भए पनि स्ट्रक्चर वेमा गयो भने मात्रै दिगो बनाउन सक्छौँ, भनेर त्यसो गरेको हो । मैले सुरुदेखि नै मोटिभमा काम गरेको थिएँ ।
मैले कुनै पनि कलाहरू बेच्दिनँ । यो पूर्ण रूपमा सामाजिक काम हो । समुदायको लागि नै हो । त्यो भएकोले भार्सेमा गाउँ छिर्नेबित्तिकै एउटा भवन देख्छौँ, त्यो आमा समूहको भवन हो । त्यसको तलपट्टी ‘गोर्खा ग्यालरी’ भनेर सबै आर्टवर्कहरू पर्मानेन्टली राखेका छौँ । त्यो सबै तस्बिरहरू त्यहीँको लाहुरेहरूको हो । उहाँहरूले पहिलो र दोस्रो विश्वयुद्धदेखि अरू युद्धहरू पनि लड्नुभयो । हामीले सबै जनालाई त्यहीँ लग्यौँ, गाउँमै । यसले आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुन्छ । मलाई लाग्छ, त्यो क्षेत्रकै पहिलो संग्रहालय होला त्यो । यसमा अग्रसरता लिने र संलग्न हुने सबैप्रति म एकदमै आभारी छु ।
तपाईंको एकदमै सफल भएको दोस्रो प्रदर्शनीचाहिँ नेपाल आर्ट काउन्सिल, काठमाडौँमा गर्नुभयो हैन ? त्यसको तयारी लामै गर्नुभयो होला । कन्टेन्ट पनि बढी थियो होला । कसरी गर्नुभयो ?
लामै तयारी भयो । सात दिनको प्रदर्शनीका लागि दुई वर्ष काम गरेका थियौँ । त्यो चाहिँ मास्टर्स पढेर थेसिस गरेजस्तै हो । फिल्डवर्क चाहिँ अलिक छोटो भएजस्तो लागेको थियो । किनभने, सामान्यत: म इकोनोमिक पोलेसी रिसर्चर काम गर्दाखेरि कम्तीमा पनि ६ महिना पढेर, डेस्क रिसर्च गरेर मात्रै फिल्डमा लग्नुपर्ने मोडेल हुन्छ । हामीले त लगभग एक महिना (फिल्ड रिसर्च) विभिन्न ठाउँमा फोन घुमाउने र सानो क्लस्टरवाइज स्टडी गर्यौँ । जस्तै: तराईमा जाँदै छौँ भने कुन–कुन ठाउँमा हामी पुग्न सक्छौँ, ह्युमन रिसोर्सेस, फाइनान्सियल रिसोर्सेसका साथै अन्य कुराहरू पनि हेर्नुपर्ने हुन्छ। त्यसैले एकदमै छोटो रिसर्च र आफैँले फन्ड गरेको प्रोजेक्ट भएको र सेल्फ मोटिभेटेड गर्नुपर्छ भनेकोले गोजी पनि रित्तिदै गयो । सुरुमा धेरै संघर्ष गर्नुपर्यो। त्यसलाई बीचमा ब्रेक पनि गर्यौँ । कोभिड पनि भयो ।
यो त धेरै महँगो छ । फन्ड चाहिँ कसरी जुटाउनुभयो ?
नेचुरल्ली नै आर्ट एक्जिबिसन्सहरू एकदमै महँगो हुन्छ । त्यसमा पनि यो हामीले सोचेभन्दा अलि बढी महँगो भएको थियो । पहिलो चरणमा आफैँले पैसा हालेँ । अरू कामबाट बचाएको पैसा लगाएँ । अथवा यो लगानी गरेजस्तै हो । त्यसपछि बिस्तारै गर्दै जाँदा व्यक्तिगतमात्रै गएजस्तो लाग्यो । गरेर देखाउने जस्तो । यसरी रिजल्ट राम्रो हुँदैन, अरू मानिसलाई पनि ठाउँ दिनुपर्छ भन्ने भयो । कसरी भन्दा स्किल त सेयर गर्न मिलेन । आर्ट जो कोहीलाई गर्न गाह्रो हुन्छ । बरु सहकार्य गरेर काम गरौँ । दुई वटा रेस्टुरेन्टसँग सहकार्य गर्यौँ । उहाँहरूले फ्रीमा स्पेस दिनुभयो । हामीले संरक्षक भनेर पनि उहाँहरूलाई समावेश गर्यौँ । त्यसपछि गोर्खा वेलफेयर ट्रस्टलाई रिसर्च पार्टनर भनेर ल्यायौँ । फन्डिङमा चाहिँ अगाडि एकदमै गाह्रो भयो । किनभने नयाँ कामलाई पैसा हाल्न सबैले हिचकिचाउने हुन्थ्यो । यस्तो काममा इन्भेस्ट गरेर रिटर्न आउन समय लाग्छ ।
फन्ड जुटाउन गाह्रो भएको समयमा आफ्नो ल्यापटपसमेत बेच्छु भन्ने अवस्था आएको थियो रे, यो सत्य हो ?
एकदमै सत्य हो ।
एकदमै सफल एक्जिबिसन थियो, काठमाडौँको । त्यो सम्पन्न भइसकेपछि कस्तो महसुस गर्नुभयो ? कत्तिको सन्तुष्ट हुनुहुन्छ?
‘टफर द जोर्नी, स्वीटर द रिजल्ट इन द भिक्ट्री’ भन्छ हैन । संघर्ष त के भन्ने, हरेक प्रोजेक्टमा भिन्न सर्टकमिङ्सहरू हुन्छन् । तर हामीले चाहिँ अपेक्षा गरेका थिएनौँ । फाइनान्सिङमा त्यति समस्या नहोला भन्ने लागेको थियो । किनभने हामीले राम्रै संस्थाहरू, राम्रै व्यक्तित्वहरूलाई रिचआउट गरेको थियो । तर दुर्भाग्यवश सफल नहुँदा अलिक हतोत्साही भएका थियौँ, बीचमा । अहिले सबैतिरबाट साथ सहयोग पाउँदा खुशीको लेभल बढेको छ ।
युके आउनुभन्दा पहिला पोखरामा लिटरेचर फेस्टिभल भएको थियो । त्यसमा राख्नुभएको एक्जिबिसन कस्तो रह्यो ?
नेपाल लिटरेचर फेस्टिभल दक्षिण एसियाकै सबैभन्दा धेरै चित्रित गरिएको फेस्टिभल हो । त्यस्तो ठाउँमा, त्यस्तो प्लाटफर्ममा एक्जिबिसन हुनु भनेको एकदमै ठूलो कुरा हो । यो एक्जिबिसन र हाम्रो दुर्गा बराल सरको एक्जिबिसन, त्यो ठाउँमा पहिलो आर्ट एक्जिबिसन थियो । सामान्यतया, प्यानल डिस्कसन हुन्छ । विभिन्न पुस्तक, अर्थतन्त्रलगायत विषयमा कुरा गर्ने एउटा थलो हो । आर्ट एक्जिबिसन चाहिँ पहिलो पटक भएको हो । दुर्गा बरालजस्तो एकदमै प्रख्यात आर्टिस्टसँगै हामीले एक्जिबिसन राख्ने कुरा कल्पना पनि गरेको थिएन । किनभने गत सालसम्म त्यस्तो हुन्छ भन्ने थाहा पनि थिएन । तर भाग्यवश, हामीले विभिन्न बाटो प्रयोग गर्यौँ । त्यहाँको आयोजक काठमाडौँको एक्जिबिसनमा पनि आउनुभएको थियो । त्यही भएर हामीले स्पेस पायौँ । त्यो सोचेकोभन्दा एकदमै राम्रो भयो । अनि प्यानल डिस्कसन पनि गर्यौँ, ‘लाहुरेनीको कथा-व्यथा’ भनेर । एघारौँ संस्करणमा गएको छ, लिटरेचर फेस्टिभल । पहिलो पटक त्यो प्लाटपर्ममा गोर्खाको बारेमा डिस्कसन गर्न पायौँ ।
तपाईंको शैक्षिक पृष्ठभूमि चाहिँ के हो ?
मैले ब्याचलर्स इन लिबरल आर्टस एन्ड साइन्स गरेँ । मास्टर्स चाहिँ केही समय ब्रेक लिन्छु भनेको गर्दा गर्दै ६–७ वर्ष नै हुन लाग्यो ब्रेक लिएको । आर्ट सँगसँगै हिट्स एफएममा पनि ७ वर्ष जति काम गरेँ । त्यसपछि फ्लिम प्रोडक्सनमा लागेँ । त्यसपछि पोलिसी रिसर्चर भएँ। छुट्टाछुट्टै प्रोजेक्टहरूमा आबद्ध भएँ । सात वर्ष व्यस्त नै भइयो । मास्टर्सचाहिँ अब गर्नुपर्नेछ । पढ्ने बानी अलिक छुटेकोले सोच्दैछु अब कसरी गर्ने भनेर ।
हिट्स एफएममा अझै काम गरिरहनुभएको छ ?
हिट्स एफएमबाट गत वर्ष रिटायर्डमेन्ट लिएँ ।
पहिलो विश्वयुद्धमा एक लाख जति गोर्खाहरूले लडाइँमा भाग लिए । दोस्रोमा एक लाख २० हजार जति लडे । कतिको ज्यान गयो । कतिको अंगभंग भयो । दुःखलाग्दो कथा छ । ती गोर्खाहरूको बारेमा बेलायत आएपछि पक्कै पनि देख्नुभयो । सुन्नुभयो । आज पनि उनीहरूको समानता, पेन्सन समान पाएन भनेर तीन पटकसम्म बेलायतको हाइ कोर्टमा पुग्यो । युरोपियन कोर्ट अफ ह्युमन राइट्समा पनि समान पेन्सनको मुद्दा लिएर पुगेर अहिले मुद्दा हारेर बसेको छ । त्यही पनि नभएर प्रधानमन्त्री कार्यालय अगाडि तीन जनाले भोक हडताल बसेर समान पेन्सन देऊ भनेर आन्दोलन गरे ।
कस्तो महसुस भयो यो सबै सुन्दाखेरी ?
यो चाहिँ अब अरुभन्दा पनि क्वाइट कन्सर्निङ लाग्छ । किनभने २०९ वर्ष लामो इतिहास छ । गत वर्ष नेपाल–बेलायतको सन्धिको १०० वर्ष पनि मनाएका थियौँ । २०० वर्षपछि पनि हामी अझै पनि एउटा सम्मानित सेनाले समान पेन्सनको कुरामा लडिरहेको सुन्दाखेरी दुःख लाग्छ । र युवा आर्टिस्ट भएको नाताले, मेरो यो कामले यसमा सहयोग पुग्छ भन्ने आशा छ । मेरो काममा सामाजिक–राजनीतिक इस्युहरूचाहिँ छुँदिन । किनभने त्यसमा मेरो अलिकति विज्ञता पुग्दैन जस्तो लाग्छ । तर म सकेसम्म यसमा अपडेट भइरहेको छु । मैले यो मुभमेन्ट चलाउने अथवा अलिक र्याडिकक्ली लाग्ने व्यक्तिहरूलाई पनि युकेमा भेटेको थिएँ । इनसाइड्स स्टोरी सुन्दाखेरी चाहिँ एकदमै रिमार्केबल लाग्छ । हाम्रो बाजेबज्यैहरू अझैसम्म लडिराख्नुभएको छ । यस्तो अवस्था आउनु भनेको कहिलेकाहीँ हेल्पलेस जस्तो पनि फिल हुन्छ, अझै नलेजेबल भएको भए केही गर्न सक्छु भन्ने हुन्थ्यो । समग्रमा दुःख लाग्छ, यस्तो अवस्था हेर्दाखेरी ।
अन्त्यमा केही थप्न चाहनुहुन्छ ?
नेपालदेखि युकेसम्मको यात्रा त्यति सजिलो छैन । यसको लागि सम्पूर्ण शुभचिन्तक र यो सबै प्रोजेक्ट म्यानेज गरिदिने हाम्रो टिम, विशेषगरी एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर र एनआरएनए आईसीसीका सदस्य ओम थापा काउचाज्यूलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । किनभने सुरुआत काम नै अप्ठ्यारो हुन्छ । त्यसलाई पिकअप गर्न झन् गाह्रो हुन्छ । यसैगरी, विभिन्न ठाउँमा भेटिनुभएका विशिष्ट व्यक्तित्वहरूलाई पनि धन्यवाद । लार्जर गोर्खा कम्युनिटीलाई पनि ट्रस्ट गरेर सहयोग गर्दै हुनुहुन्छ, त्यसको लागि धन्यवाद । अनि यहाँ बोलाएर केही कुरा राख्न दिनुभएकोमा हजुरलाई पनि धन्यवाद !