धनकुटा । धनकुटा जिल्लाको पाख्रिबास नगपालिका–८ मुगामा प्रहरी चौकी स्थापनाका लागी समाजसेवी थापा दम्पतीले जग्गा प्रदान गरेका छन् ।
सोही वडा स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका समाजसेवी समन्त भद्र थापा र उनकी धर्मपत्नी रस्मी थापाले मुगा प्रहरी चौकी स्थापना गरी भवन निर्माणका लागी ४ रोपनी जग्गा दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीलाई मंगलबार जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा पूर्वमन्त्री सुनिलबहादुर थापा, समाजसेवी डा. अरुण थापा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा भूमि समस्या समाधान आयोग धनकुटाका सदस्य विजय सन्तोषी राई, नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समाजसेवी असित नर सिंह थापा, जिल्ला सदस्य समाजसेवी मीनबहादुर कार्की, धनकुटा काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपसभापति कुमार थापासहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको उपस्थिति थियो ।

एसपी सरत कुमार थापा क्षेत्रीले जग्गा प्रदान गर्ने समाजसेवी थापा दम्पतीलाई खादामाला लगाएर सम्मान गरे । साथै, उनले जग्गा प्रदान गराउन विशेष भूमिका निर्वाह गर्ने पूर्वमन्त्री सुनिल बहादुर थापालाई धन्यवादसमेत दिए ।
जग्गा प्रदान गर्ने थापा दम्पतीलाई कांग्रेस धनकुटाका सचिव राई, प्रहरी निरीक्षक किशोर तामाङलगायतले पनि धन्यवाद दिएका थिए । पाख्रिबास नगरपालिका क्षेत्रमा हाल एउटा मात्र प्रहरी चौकी रहेको छ ।
भोजपुर र धनकुटाको सिमानाको क्षेत्रसमेत रहेकाले शान्ति सुरक्षा अझ बलियो बनाउनका लागी मुगामा प्रहरी चौकी स्थापना गर्न अति आवश्यक रहेको छ । उक्त क्षेत्रमा चौकी स्थापना गर्न प्रक्रिया अगाडी बढाउने एसपी थापाको भनाइ छ ।
जग्गाधनी थापा दम्पतीले मंगलबार नै मालपोत कार्यालय धनकुटामा आफ्नो नाममा रहेको ४ रोपनी जग्गा कित्ताकाट गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको नामा पास गरिदिएका हुन् ।