अल्डरसट, बेलायत । पञ्चासे हर्पनडाँडा समाज यूकेको बैठक अल्डरसटस्थित Ozone AM Restaurant मा विभिन्न महत्वपूर्ण सामाजिक, शैक्षिक तथा संस्थागत विषयमा छलफल गर्दै सम्पन्न भएको छ । बैठकमा समाजका पदाधिकारी, कार्यसमिति सदस्य तथा गाउँ प्रतिनिधिसहित २९ जनाको उपस्थिति रहेको थियो भने १३ जनाले अनुपस्थितिका लागि क्षमायाचना पठाएका थिए ।
बैठकको औपचारिक कार्यक्रमअघि दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो । कुद्बिडाँडा गाउँका अलुजा गुरुङ तथा सिधानेकी श्रीमती छामुली गुरुङको निधनप्रति संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो। त्यस्तै, रसुवा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरू तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा MBE को सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
बैठकमा उपाध्यक्ष रबी गुरुङले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए। त्यसपछि कोषाध्यक्ष कृष्ण घलेले संस्थाको आर्थिक अवस्थासम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
अध्यक्ष देउकाजी गुरुङले हर्पनकोट हाई स्कुलको वर्तमान अवस्था तथा विद्यालयको मर्मतसम्भार सम्बन्धमा समाज यूकेले उठाएको १९ लाख रुपैयाँबाट सम्पन्न गरिएका कामहरूको जानकारी गराउँदै केही काम अझै बाँकी रहेको बताएका थिए । बाँकी रहेको रकम कुन क्षेत्रमा खर्च गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी, प्रकाश गुरुङले संस्थाको नेपाल बैंकमा रहेको खाता तथा हर्पनकोट हाई स्कुलका लागि संकलित सहयोग रकमको अवस्थाबारे जानकारी गराएका थिए । विद्यालयका लागि संकलित रकमको व्यवस्थापन तथा यससँग सम्बन्धित विभिन्न विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकको अर्को महत्वपूर्ण विषय रसुवा भोटेकोशी बाढीपीडितका लागि गरिएको आर्थिक सहयोग रहेको थियो। बाढीपीडितका लागि १३ लाख रुपैयाँ सहयोग तमुधीँ मार्फत पठाएको विवरण प्रस्तुत गरिएको थियो । उक्त सहयोगअन्तर्गत Fly Everest Holidays Pvt. Ltd. का पीडित परिवारलाई समाजको तर्फबाट ३ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको जानकारी बैठकमा गराइएको थियो । उक्त कम्पनीका म्यानेजर कटक तामाङले भिडियोमार्फत पठाएको धन्यवाद सन्देश पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
संस्थाका प्रमुख सल्लाहकार डमरकाजी गुरुङले फेर्की तमु समाजको भवन तथा पञ्चासे हर्पनकोट आकस्मिक स्वास्थ्य सेवा कोषसम्बन्धी विषय प्रस्तुत गरेका थिए । यी सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित योजनाहरूलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
समाजका तर्फबाट भवन निर्माणका लागि रकम संकलन गरी अध्यक्षमार्फत एकमुष्ट बुझाउने निर्णय गरिएको थियो । बैठकमै डमरकाजी गुरुङले १ लाख ५ हजार रुपैयाँ तथा प्रकाश गुरुङले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
यसै क्रममा विद्यार्थी बिबिशा गुरुङको अवस्थाबारे प्रकाश गुरुङ र अध्यक्ष देउकाजी गुरुङले जानकारी गराएका थिए । उनको अवस्थालाई लिएर आवश्यक सहयोग तथा सम्भावित पहलका विषयमा बैठकमा छलफल गरिएको थियो ।
बैठकमा कार्यसमिति सदस्य तथा विभिन्न गाउँका प्रतिनिधिहरूलाई पनि आ–आफ्ना धारणा, सुझाव तथा गाउँसँग सम्बन्धित विषयहरू राख्ने अवसर प्रदान गरिएको थियो । सहभागीहरूले संस्थाका भावी गतिविधि, समुदायबीचको सहकार्य तथा गाउँसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।
किरण गुरुङले समाज नेपाली मेलामा पनि सहभागी भएमा राम्रो हुने सुझाव दिएका थिए ।
२०२६ सालमा सम्पन्न वार्षिक भेटघाट कार्यक्रमको समीक्षा गर्दै सहभागीहरूबाट प्राप्त प्रतिक्रिया तथा सुझावमाथि समेत छलफल गरिएको थियो । आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
बैठकको अन्त्यमा विविध विषयअन्तर्गत सदस्यहरूले उठाएका थप विषयहरूमाथि छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता देउकाजी गुरुङले गरेका थिए भने सञ्चालन प्रकाश गुरुङले गरेका थिए ।
समाजले बेलायतमा रहेका सदस्य तथा गाउँवासीबीच आपसी एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालमा शिक्षा, स्वास्थ्य, विपद् सहयोग तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धतासहित बैठक सम्पन्न गरेको छ ।