पछिल्लो पुस्ताकी चर्चित मोडल तथा डान्सर हुनुहुन्छ, रीना थापामगर । उहाँ नेपालबाट बेलायत आउनुभएर दुई हप्तायता विभिन्न कार्यक्रममा प्रस्तुति दिइरहनुभएको छ भने फुर्सदमा विभिन्न ठाउँहरु घुमघाममा समय बिताइरहनु भएको छ । करिब डेढ महिनाका लागि बेलायत भ्रमणमा आउनुभएकी कलाकार रीनासँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानी ।
बेलायत आउनुभएको कति समय भयो ?
- म बेलायतमा आएको १५ दिन पुग्यो ।
यसपटकको बेलायत भ्रमणको उद्देश्य के थियो ?
- खासमा त तीन वर्षअघिको माया सम्झेर नै बेलायत आएको हुँ । यहाँ त्यो समयमा सपोर्ट गर्नुभएका बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरु जति पनि हुनुहुन्छ, उहाँहरुसँग भेटघाट पनि गरौं, अहिलेको माहोल कस्तो छ ? उहाँहरुले गर्नुभएको मायाका कारण देख्न, भेट्नका लागि मन छटपटी भएर आएकी हुँ ।
यो पटक कति समय बस्नुहुन्छ यूके ?
- लगभग अब १ महिना २० दिनजति बस्नेछु ।
किन बसाइ छोट्याउँदै हुनुहुन्छ ?
- म नृत्य विषयमा मास्टर डिग्री गर्दै छु । तेस्रो सेमेस्टरको बोर्ड एक्ज्याम दुई महिनापछि हुने भएकोले म चाँडै नेपाल फर्कने छु ।
यहाँ आइसक्नुभएपछि कहाँ-कहाँ कार्यक्रम गर्नुभयो ?
- मैले तीन/चार वटा कार्यक्रम गरेँ । अरु हुँदै पनि छ । यहाँका संघसंस्थाहरुले र मलाई माया गर्ने व्यक्तित्वहरुले माया गर्नुभएसम्म, निमन्त्रणा गर्नुभएसम्म कार्यक्रममा गइरहेको छु । हुँदै पनि छ ।
खासमा नृत्य विधा के हो ?
- नृत्य भनेको हामीमात्रै नाच्ने होइन । जति जनाले हेरिरहनुभएको छ, उहाँहरुको ध्यानकेन्द्रित गर्न सक्नु । संगीतको तालमा खुट्टा चलाउनु, गीतको लयअनुसार जिउलाई लचकतामा ल्याउनु, गीतले भन्न खोजेको, बयान गर्न खोजेको कुराहरु हात, अनुहारको हाउभाउले शब्दहरुको व्याख्या गर्नुलाई हामी नृत्य भनेर बुझ्छौं ।
नृत्य क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
- लगभग १५ वर्ष भयो ।
फिल्म पनि खेल्नुभएको छ ?
- मैले एउटा मुभि गरेकी छु । लगभग ५/६ वर्षअगाडि 'रमिता'। तीनवटा चलचित्रका गीतहरुमा नाचेकी छु । बढीमात्रामा लोकनृत्यहरुमा काम गरेकी छु ।
म्युजिक भिडियोमा धेरै व्यस्त हुनुहुन्छ होला नि ?
- अहिले त त्यतातिरबाट धेरै व्याक भइसकेकी छु । किनभने पछि आउने नानीहरुलाई पनि ठाउँ छोड्दिनु पर्यो । सिंगर र मोडलहरुको बाटो फरक जस्तो पाएँ मैले । मभन्दा पछि आउने बहिनीहरुले सिनियर दिदी भन्ने कुरा त छँदै छ । डान्स कहिले पनि सिकेर सकिँदैन पनि ।
यस क्षेत्रमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
- म एकदमै सन्तुष्ट छु । मेरो आफ्नो इच्छाको विषय हो । इच्छाले भित्रैदेखि नाच्न मन लागेर नाचेको भएर पनि होला, सन्तुष्टि मिलेको ।
कतै नृत्य प्रशिक्षण लिनुभएको छ ?
- धुन कला केन्द्रमा दुई महिना जति क्लास लिएँ । त्यस्तै प्रतिभाको आँगन कार्यक्रममा प्रतिस्पर्धा गर्न जाँदा ६ महिनाको अवधिमा धेरै कुरा सिकेँ ।
अहिलेसम्म कुन-कुन प्रतियोगितामा विजेता बन्नुभयो ?
- म प्रतियोगितामा सहभागी भएको भनेको 'प्रतिभाको आँगन'मा मात्रै हो । त्यतिबेला यतिधेरै मिडियाहरु पनि थिएन । युट्युब च्यानल पनि कम्पनीहरुको मात्रै सीमित हुन्थ्यो । प्रतिभाको आँगन सोमबार एनटीभी प्लसबाट प्रसारण हुन्थ्यो । त्यसमा विनर भएँ । त्यसपछि धेरै प्रतियोगितामा हिँडेको छैन ।
प्राय: जजको काम गर्नुहुन्छ हो ?
पछिल्लो समय अलि धेरै निर्णायकको भूमिकामा हुन थालेको छु ।
नृत्यमा लाग्न चाहने नयाँ पुस्तालाई के सन्देश दिनुहुन्छ ?
- अहिले नृत्यलाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । पहिलाभन्दा धेरै प्लाटफर्महरु आइरहेका छन् । त्यसलाई सदुपयोग गर्नुहोला । नृत्यमा एकपटक भाइरल भएर चर्चित हुनुभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् ।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र मोडल तथा डान्सर रीना थापामगर ।
भाइरल हुन वा अन्य उद्देश्यका लागि अर्धनग्नै भएर नाचेको पाइन्छ । यसलाई के भन्नुहुन्छ ?
- अहिले कतिपय भिडियो परिवारको सामु बसेर हेर्न नमिल्ने नृत्यको नाममा आइरहेको छ । ठाउँ हेरेर पर्फमेन्स गर्नुहोस् । तपाईंको अगाडि अडियन्स कुन खालको छ । कुन खालका अडियन्सले तपाईंलाई वाच गरिराख्नुभएको छ । तपाईं कहाँ नाच्दै हुनुहुन्छ । कस्तो गीतमा नाच्नुपर्छ । कस्तो पहिरन लाउनुपर्छ भन्ने रिसर्च चाहिँ गर्नुहोला भन्न चाहन्छु ।
यूकेबाहेक कुन-कुन देशमा डान्स पर्फम गर्नुभयो ?
- जापान, हङकङ, कोरिया, कतार, दुबई, मलेसिया,बंगलादेशमा पुगिसकेकी छु ।
कतिपय संस्था र व्यक्तिले तपाईंलाई डान्समा अफर गर्न हच्किने अवस्था छ कि ?
- म कहिल्यै पनि कलासँग पैसालाई दाँच्दिनँ । पैसासँग नदाँजी यहाँहरुले कुनै पनि कार्यक्रममा निमन्त्रणा गर्नुभएको खण्डमा म आउने छु । जुन सेवाको भावना पनि हुन सक्छ, सम्बन्धको भावनाले पनि हुनसक्छ । बेलायतमा मेरा प्यारा-प्यारा आमाबुबा हुनुहुन्छ,दाइदिदीहरु हुनुहुन्छ । म एकदमै कम्फटेबल छु । सजिलो छु । म नेपालीका लागि, नेपाली समाजका लागि सधैंभरि आफ्नो प्रस्तुति देखाउन तयार छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
- कुनै पनि संघसंस्था, व्यक्ति वा आयोजक टिमलाई आवश्यक परेमा डेढ महिना यहाँ बेलायतमा रहुन्जेल सम्पर्क गर्न सक्नुहुन्छ । गोर्खा मिडिया हेर्ने र पढ्नुहुने दर्शक/स्रोता/पाठकलाई धेरै-धेरै धन्यवाद ।