कास्कीको उत्तरतर्फ रहेको घलेल गाउँमा जन्मिएका युवा व्यवसायी सूर्य गुरुङले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक गर्नुभयो । सन् १९९३ सालमा बेलायत आउनुभयो । २५ वर्षभन्दा बढी समयदेखि रेस्टुरेन्ट व्यवसायमा लाग्नुभएको छ । सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । सन् २००९ देखि २०११ सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष हुनुभयो । इन्टरनेसनल कोअर्डिनेसन काउन्सिल एनआरएनएको सल्लाहकार हुनुहुन्छ । तमु धीं युकेको ट्रस्टी र विभिन्न संघ संस्थामा सल्लाहकार हुनुहुन्छ । बेलायतको डायस्पोरामा उहाँलाई सबैले ‘च्यारिटी किङ’ उपनामले चिनिनुहुन्छ । व्यवसायी तथा समाजसेवी सूर्य गुरुङसँग अनुभव र सफलताबारे गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले गरेको 'अथिति संवाद'को सम्पादित अंश :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
त्यस्तो धेरै व्यस्त त होइन । तर परिवार, व्यवसाय र सामाजिक काममा नै व्यस्त छु ।
भर्खरै गोर्खा प्यालेस नेप्लिज रेस्टुरेन्टको रजत जयन्ती मनाउनुभयो । २५ वर्ष पक्कै पनि सजिलो थिएन होला । हालसम्म बटुल्नुभएको अनुभव सुनाइदिनु न ?
मेरो करियरको पहिलो व्यवसाय पनि यही नै थियो । मलाई हस्पिटालिटी इन्डस्ट्रीमा सानैदेखि रुची थियो । नेपालमा हुँदा पनि गरेको थिएँ । जीवनमा मेरो सबै कुराहरू यो रेस्टुरेन्टबाट नै भएको जस्तो सहसुस गर्छु । म जे छु, एकदमै खुशी छु । रेस्टुरेन्टमा उत्तरचढाव त हुन्छ नै । कोभिडमा सबैले जस्तै मैले पनि भोग्नुपर्यो । धेरै खुशीको क्षणहरू पनि छन् । ग्राहक सन्तुष्ट हुनु नै हामी सन्तुष्ट हुनु हो । त्यही हिसाबले म काम गर्छु । सकेसम्म बेलुकीको समयमा केही घण्टा म रेस्टुरेन्टमा उपस्थित हुने कोसिस गर्छु ।
मैले तपाईंको रेस्टुरेन्टको वेबसाइट हेरेको थिएँ। अवार्ड नै अवार्ड पाउनुभएको रहेछ । ब्रिटिस करी अवार्ड त प्रत्येक वर्षजस्तै पाउनुभएको रहेछ । २०१२, २०१३, २०१४, २०१८, २०१९, २०२१, २०२२ मा ब्रिटिस करी अवार्ड जित्नुभएको रहेछ, तपाईंको रेस्टुरेन्टले । न्युज एन्ड मेल बेस्ट बिट, २०१४, ०१५ र २०१६, द बेस्ट नेप्लिज रेस्टुरेन्ट इन युके, २०१२ पनि जित्नुभएको रहेछ । यसरी अवार्ड नै अवार्ड पाउँदा कस्तो महसुस हुन्छ ?
पक्कै पनि यो सबै स्टाफको मिहिनेतले गर्दा नै भएको हो । अधि पनि भनेको कुरा ग्राहकको सन्तुष्टि नै हाम्रो लागि पनि सन्तुष्टि हो भन्ने मूल आधार मानेर काम गर्ने हो । काम गर्ने कुरा शतप्रतिशत त कहिले पनि हुन सक्दैन । कमीकमजोरी सबैको हुन्छ । हाम्रो पनि अरुको पनि । तर, अवार्ड पाउने कुरामा मलाई सन्तुष्टि भएको न्युज एन्ड मेल जुन फानबोरोमा अवस्थित छ । यो लोकल मिडिया हो । ७०-८० हजार घरधुरीमा जान्छ । त्यो मिडियाले एक वर्षसम्म आफ्नो बेस्ट रेस्टुरेन्ट चयनका लागि ग्राहकबाट अभिमत लिएको थियो । त्यसमा दुई वर्ष निरन्तर हामीले जित्यौँ । अर्को वर्ष चाहिँ तेस्रो भएका थियौँ । एक पटक मात्र भएको भए कतै झुक्किएर हो भन्ने हुन्थ्यो होला। निरन्तर जित्यौँ । त्यही भएर पनि एकदम सन्तुष्टि मिलेको छ । ब्रिटिस करी अवार्डमा त अब बेलायतको १० हजारभन्दा बढी करी रेस्टुरेन्टहरू छ । त्यसमा प्रत्येक वर्ष टप १०० भित्र पर्यौँ । निरन्तर नै पर्यौँ । तर, ब्रिटिस करी अवार्ड सञ्चालन गर्ने व्यक्ति क्यान्सरबाट बित्नुभयो । त्यो निरन्तर नहुने भयो । करी उद्योगमा एउटा ओस्कार अवार्ड जस्तो थियो त्यो ।
भिडियो
तपाईं 'च्यारिटी किङ'को रूपमा परिचित हुनुहुन्छ । रेस्टुरेन्टबाट च्यारिटी गरिरहनुभएको छ । कसरी गरिरहनुभएको छ । र, यसबाट अहिलेसम्म कहाँ-कहाँ सहयोग गर्नुभएको छ ?
मैले दिन सुरू गरेको सन् २००५ देखि हो । यहाँ हामी सबैलाई नेपालमा केही गर्न पाएहुन्थ्यो भन्ने हुटहुटी हुन्छ । गर्नु पनि पर्छ । म पनि एकदम गर्न चाहन्छु । यसरी नै आफूले रोजीरोटी गरिरहेको जुन कर्मथलो छ । त्यसलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने मलाई सोच आइरहेको थियो । सोचले मात्रै हुँदैन, परिणामले पनि दिनुपर्छ भनेर रेस्टुरेन्टको हरेक बार्षिकोत्सवमा च्यारिटी गर्न थालेँ । प्राय: एक वर्ष यहाँ (बेलायत) र दुई वर्ष नेपालमा सहयोग गरिरहेको छु । सो क्रममा यहाँको फ्रिम्ली पार्क अस्पताल, लुसी फाउन्डेसनको दुई जना नानीहरू म्याराथन धावकहरू । युकेको यू-१६ को टप र युरोपियन च्याम्पियन पनि थियो, उनीहरूको कार दुर्घटनामा मृत्यु भयो । उनीहरूको सम्झनामा पनि सहयोग गरेँ । त्यस्ताहरूलाई सहयोग गर्न पाउँदा आफूलाई पनि एकदमै आनन्द आउने । यस्तै-यस्तैमा सहयोग गरेँ, युकेमा ।
प्रत्येक वर्ष च्यारिटीमा कति रकम उठाउनुहुन्थ्यो ?
तीन हजार पाउन्डभन्दा माथि कहिले ६ हजार पाउन्डसम्म पनि हुन्थ्यो । हरेक वर्ष फरक–फरक हुन्थ्यो । नेपालीमा औषतमा हरेक वर्ष पाँच लाख रुपैयाँभन्दा माथि हुन्थ्यो ।
च्यारिटी गरेर हालसम्म बेलायत र नेपालमा गरेर कति जति सहयोग गर्नुभयो ?
मैले नेपालमा र बेलायतमा गरेर एक करोडभन्दा बढी सहयोग गरिसकेँ । रेस्टुरेन्टको बार्षिकोत्सवमा गरिएको च्यारिटीबाट मात्रै । हाम्रो नियमित ग्राहक र मेरो तर्फबाट ।
रजत जयन्ती मनाउनुभन्दा पहिला फेसबुकमा पोस्ट गर्नुभएको थियो। १६ वर्षसम्म विश्वको बेस्ट रेकर्ड होल्डर म्याराथन रनर हुनुहुन्छ, पउला रेडक्लिफ एमबीई । उहाँले साइन गर्नु भएको टिसर्ट च्यारिटी डिनरमा तपाईंले अक्सनमा राख्नुभएको थियो । यो सौभाग्य कसरी मिल्यो ?
रेस्टुरेन्टको एनिभर्सरी आउने बेलामा हाम्रो नजिकका ग्राहकहरूले पनि केही दिन चाहनुहुने म पनि सोध्ने हुन्थ्यो। संयोगले मेरो एकजना ग्राहक र पउला रेडक्लिफको आमा र मेरो एक जना ग्राहक एकदमै घनिष्ठ साथी हुनुहुँदोरहेछ । पउलाको पनि ‘गडमदर’ हुनुहुँदोरहेछ, उहाँ । मैले पउलाको साइन भएको टीसर्ट अक्सन गर्नुपर्यो यसपटक भन्नासाथ उहाँले तत्कालै कुरा गरेर उपलब्ध गराइदिनुभयो । त्यसरी हामीले अक्सन गर्यौँ ।
अक्सनमा कतिमा गयो त त्यो टीसर्ट?
त्यो चाहिँ ११० पाउन्डमा गएको थियो । त्यस्तो खालको अक्सनहरू चाहिँ ग्राहकहरूले कुनै फ्लाइटमा कुनै पानारोमिक टेबुल त्यस्तोमा उपलब्ध गराउनुहुन्छ । त्यसलाई हामीले अक्सनमा गर्छौं ।
तपाईं त हेल्प नेपालको सल्लाहकार पनि हुनुहुन्छ । सन् २०१३ मा एउटा अभियान सञ्चालन गर्नुभएको थियो ‘१०० मिलियन इन्डोमेन्ट फन्ड’ भनेर । युकेबाट एक करोड रुपैयाँ जम्मा गर्ने हैन ? यसको तपाईं प्रमुख संयोजक हुनुहुन्थ्यो । त्यस बेला हेल्प नेपालको संस्थापक अध्यक्ष रवीन्द्र मिश्र हुनुहुन्थ्यो । त्यस बेला कति फन्ड संकलन गरेर बुझाउनुभयो ? अनि हेल्प नेपालको अवस्था कस्तो छ ?
हेल्प नेपाल रवीन्द्र मिश्रकै अगुवाइमा लन्डनबाटै सुरू भएको हो । १ पाउन्ड क्याम्पेन चलाएर सुरूआत भएको हो । यो असाध्यै राम्रो भयो । नेपालमा १०० भन्दा बढी विद्यालय, बालआश्रम, सानो–सानो अस्पताललगायतमा सहयोग भइरहेको छ । बेलायतमात्रै होइन, अस्ट्रेलिया, अमेरिकालगायत देशहरू यसमा सक्रिय छन् । युकेमा ३०० जना जति मासिक १ पाउन्ड, २ पाउण्ड जस्तो सहयोग गर्ने साथीहरू हुनुहुन्छ । त्यो आधारमा नेपालमा नियमित सहयोग गर्ने हो । यसमा साथीहरू विशुद्ध भावनाले लाग्नुभएको छ । सबै पारदर्शी छ । सबै वेबसाइटमा राख्छौँ । दुर्गम क्षेत्रमा सहयोग गर्ने उद्देश्य हो । हामीले त्यो बेलामा १ करोड २० लाख रुपैयाँ उठाएका थियौँ । पछिल्लो चरणमा पनि यसको गतिविधिहरू नियमित छ । रवीन्द्रजी राजनीतिमा जानुभए पनि अरू साथीहरूले आफ्नो नियमित काम गरिरहनुभएको छ । कामहरू पहिला जे थियो अहिले त्योभन्दा बढी नै भइरहेको छ ।
तपाईं जुन स्पिडमा काम गर्नुभयो, अहिले सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । हामीले नेपालको लागि गर्ने हो । सबै ठाउँमा नसके पनि जति सकिन्छ, त्यो गर्ने हो । त्यो पैसा सबै नेपालमा गएको छ । र त्यही अनुसारको काम भइरहेको छ ।
सन् २००४ को कुरा हो, पोखरा रंगशाला निर्माणका लगि पनि रकम संकलन गर्नेमा तपाईंले प्रमुख भूमिका निभाउनुभएको थियो । कति रकम संकलन भएको थियो ?
त्यो बेलामा नेपालमा सात दलको सरकार थियो । रंगशालाको अवस्था अस्तव्यस्त थियो । जतिबेलै ड्रग्स खाने मानिसहरू हुन्थे । गाइभैँसी चर्थे । ट्याक्सी/गाडी सिकाउने जस्ता यावत् कुराहरू हुन्थे । एकदम भद्रगोल थियो । खेलकुदको जग्गामा यस्ता गितिविधि हुन्थे । यसलाई नियन्त्रण गर्न खेलकुदका अग्रज दाइहरूले संरक्षणका लागि एउटा पर्खाल निर्माण गर्ने नीति बनाउनुभयो । त्यसको लागि फन्ड चाहियो । त्यो १ करोड बराबरको प्रोजेक्ट थियो । पर्खाल निर्माण समितिले आँट्नुभयो र प्रस्ताव गर्नुभयो ।
विशेषगरी तेज गुरुङ दाइ र डा. वीरेन्द्र सिंह सरले प्रस्ताव गर्नुभएको थियो । मैले स्वीकारेँ । त्यसपछि म युकेमा आएपछि ९३ जनाको समिति बनाएँ । मुछेत्र गुरुङ दाइ कोषाध्यक्ष, जीत गुरुङ दाइ सहकोषाध्यक्ष, तमु धीं युकेका संस्थापक मीनप्रसाद गुरुङ दाइ सदस्य भएर ४–५ जना कोर मान्छेसहितको समिति बन्यो । करिब १० महिनाजति क्याम्पेन गरेर ५० लाखभन्दा बढी उठायौँ । यसरी उहाँहरूको प्रोजेक्टको आधा रकम यहाँबाट गयो । त्यसले विभिन्न गेटहरू, जस्तो हाम्रो सेरा दाइले एउटा गेट बनाउनुभएको छ । तमु धींले गेट बनाएको छ । लगायत विभिन्न काम भयो । हामी एकदम सन्तुष्ट छौँ । त्यो बेलाको ५० लाख भनेको अहिलेको २–४ करोड जति नै हो । अनि मेरो च्यारिटीको यात्राको सुरूआत अथवा टर्निङ प्वाइन्ट नै त्यहाँबाट भएको हो भन्ने लाग्छ । त्यसपछि कोभिडको बेलाबाहेक जहिले पनि हरेक वर्ष गरिरहेको छु ।
सन् २०१५ मा नेपालमा कहालीलाग्दो भूकम्प गयो । नौ हजार मानिसको मृत्यु तथा २२ हजार घाइते भए । यस बेला पनि तपाईं चुप लागेर त बस्नुभएन होला । केही न केही त गर्नुभयो । त्यसमा के सहयोग गर्नुभयो ?
भूकम्प भएको भोलिपल्ट नेपाली दूतावास लन्डनबाट बैठक आयोजना गर्नुभयो । सबै संघसंस्थाको अगुवाहरूलाई बोलाइएको थियो । २५०-३०० जति नेपालीहरू बैठकमा थियौँ । राजदूतले सबैले केही गर्नुपर्छ भन्नुभयो । सबैलाई केही गर्नुपर्छ भन्ने त थियो नै । उहाँले एउटा उच्चस्तरीय समिति बनाउनुभयो । डाक्टर, नर्सहरूलाई नेपाल पठाउने, सामग्री संकलन गरेर पठाउने र पैसा संकलन गरेर पठाउने विभिन्न समिति बन्यो । मलाई पैसा संकलन गर्ने समितिको कोअर्डिनेर घोषणा गरिदिनुभयो । मलाई नसोधिकन राजदूतले संयोजक बनाउनुभयो । मैले सहर्ष स्वीकारेँ । त्यसपछि हामीले निरन्तर संलकन गर्यौँ । त्यो पैसा प्रधानमन्त्री राहत कोषमा जाने भएकाले पारदर्शी हुँदैन कि सोच मान्छेमा भन्ने हुन्थ्यो । समयअनुसार बलदिनुपर्छ । पारदर्शी बनाउनु दबाब दिनुपर्छ, भनेर अभियान चलायौँ । हामीले त्यसलाई चिर्दै पैसा संकलन गर्यौँ । र सात करोड नेपाली रुपैयाँ हामीले प्रधानमन्त्री कोषमा प्रदान गर्यौँ । त्यसका अतिरिक्त मैले व्यक्तिगत रूपमा रेस्टुरेन्टबाट छुट्टै च्यारिटी गरेर १० हजार पाउन्डभन्दा बढी संकलन गरेको थिएँ । त्यसमध्ये केही एनआरएनएलाई दिएँ । धेरै चाहिँ प्रधानमन्त्री कोषमा दिएँ ।
तपाईं रेस्टुरेन्ट व्यवसायीका साथै फिलन्थ्रोपिस्ट पनि हो । सबैलाई थाहा छ । तपाईंको रेस्टुरेन्टबाहेक अरु व्यवसाय पनि छ। एभरेस्ट वर्ल्ड फुड्स सुपरमार्केट र एभरेष्ट स्पेसालिटी क्याफे क्याम्बर्लीमा सञ्चालन गरिरहनुभएको छ । यो व्यवसाय कसरी चलिरहेको छ ? त्यसमा तपाईंको के भूमिका छ ?
कोभिडपछि एभरेस्ट क्यास एन्ड क्यारी होलसेल ग्रुपमा आबद्ध भएँ । त्यसमा एबी गुरुङलगायत साथीहरू हुनुहुन्छ । त्यो बाहेक छुट्टै सुपरमार्ट गर्नुपर्छ भन्ने कन्सेप्टमा हामीले क्याम्बर्ली छान्यौँ । सुपरमार्ट सँगसँगै कफी सपको मोडलमा जाऔँ भन्ने हिसाबले पहल गर्यौँ । हामीसँग कफीको धेरै आइडिया नहुने भएकाले हाम्रै नेपाली भाइ, उहाँ विश्व चर्चित हुनुहुन्छ । टप–टप कफी कम्पनीको गुडविल एम्बासडर हुनुहुन्छ, उहाँलाई आग्रह गर्यौँ । आएर सेटअप गरिदिनुभयो । अहिले त्यो राम्रोसँग गइराखेको छ । एकदम खुशी छौँ ।
कति राम्रो आइडिया ? बिजनेसको टिप्सचाहिँ तपाईंहरूबाट सिक्नुपर्ने रहेछ धेरैले ।
त्यस्तो त होइन । हामीले कोसिस चाहिँ गर्यौँ भनौ न ।
तपाईं यो फार्नबोरो नै बस्नुभएको धेरै भयो । परिवार र रेस्टुरेन्ट यहीँ छ । एकताका फार्नबोरो छाडेर परिवार लिएर लन्डन जानुभयो । बच्चाको पढाइका लागि भनेर, फेरि फर्किनुभयो किन ?
म भन्दा पनि मेरो मिसेस अलि बढी एजुकेसनमा फोकस छ । बच्चाहरूको लागि सकेसम्म कोसिस गरौँ भन्ने हिसाबले लन्डनतिर गयौँ, पछिल्लो चार वर्ष । छोरीको पढाइका लागिमात्र भनेर हामी त्यहाँ बस्यौँ । उसको जीसीसी सकेपछि फर्कियौँ । हाम्रो कोसिस के भन्दा, पहिले टोनी ब्लेयर प्रधानमन्त्री हुँदा उहाँले एउटा निर्वाचनमा घोषणा गर्नुभएको थियो ‘एजुकेसन, एजुकेसन, एजुकेसन’ भन्ने थियो । डिटेल्समा के हो भन्ने थाहा नभए पनि त्यो कुराले कस्तो क्लिक हुनुथ्यो मलाई । म भन्दा पनि मेरो मिसेस, जो एजुकेसनमा समर्पित छ । बच्चाहरूलाई मैलेभन्दा उसैले गाइडेन्स गर्छ । त्यसकारण बच्चालाई एजुकेसन राम्रो दिन सक्यो भने, यो व्यवसाय त जहाँबाट पनि गर्न सकिन्छ भन्ने हिसाबले उता गएका थियौँ ।
कस्तो खालको स्कुल खोज्दै जानुभएको थियो, भन्न मिल्छ?
त्यो त अब यो विशेषगरी हाम्रो समुदायमा स्पेसियल्ली ग्रामर स्कुल भन्छौँ । त्यसको लागि गएको हो । कि ग्रामर कि प्राइभेट भनेर हामी आजभोलि त्यसमा गइरहेका छौँ । मैले त्यो देख्छु । त्यही सिलसिलामा हामीले पनि अवसर गुमाउनुहुन्न भन्ने हिसाबले गएको हो ।
भनेपछि परिवारमा एकदमै राम्रो सहकार्य र सहयोग छ हैन ?
एकदमै, मैले जुन स्वतन्त्र रूपले काम गरिएरहेको छु, विशेषगरी च्यारिटीमा । यसमा मलाई कुनै रोकतोक छैन। मिसेसले गाइडेन्स पनि गर्छ । कति ठाउँमा करेक्सन गर्ने काम पनि उसले गर्छ ।
जीवन के हो जस्तो लाग्छ ? जीवनमा भोग्नुभएको स्मरणीय दिनहरू र यहाँसम्म आइपुग्दाका उत्तरचढाव केही सेयर गर्न चाहनुहुन्छ ?
त्यस्तो खासै त छैन । अलिकति अब कोभिडको बेलामा परिवारमा दुखबिमार भएको थियो । त्यो सबैलाई नै भएको बेला हो । हामी चाहिँ पारिवारिक हिसाबले एकदमै खुशी छौँ । किनभने परिवारलाई समय दिनुपर्छ । प्राथमिकतामा राख्नुपर्छ । त्यो खालको फिलिङ्स र अन्डरस्ट्यान्डिङ हामीमा छ । परिवारलाई समय दिएपछि, काममा समय दिएपछि, शारीरिक व्यायामलगायत आफ्नो रुचीको काम गरेपछि अरु समय भयो भने सामाजिक सेवामा खर्च गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । सबैको आ-आफ्नै कोणबाट सोच्ने तरिका हुन्छ भने मलाई चाहिँ त्यो लाग्छ ।
तपाईंले यति धेरै परोपकारी काम गर्नुभएको छ । समग्रमा व्यक्तिगत र संस्थागत गरेर तपाईंले १० करोडभन्दा बढी सहयोग गरिसक्नुभएको रहेछ, सूर्य गुरुङको पहुँचबाट । केही पहिले हामीले सुन्यौँ, सूर्य गुरुङलाई नेपाल सरकारले सम्मान गर्छ, अवार्ड दिन्छ भन्ने कफी गफमा सुन्यौँ । तपाईं जति नै र कम सहयोग गरेको व्यक्तिले पनि बेलायतमा एमबीई, बीईएम पदहरू पाएका छन् । प्रत्येक साल न्युइयरलिस्ट, किङ, क्विनहरूको अनर रिलिज आउँछ नि म पनि त्यो हेर्छु कतै सूर्य गुरुङको नाम आएको छ कि भनेर काहीँ पनि देखिएन । तपाईंको आफ्नो सफलता त छँदैछ, कस्तो लाग्दो रहेछ ? भित्रैबाट भन्नुस् त ?
मलाई कस्तो लाग्छ भनेदेखि वास्तवमा हामीले केही पाउनका लागि गरेको होइन । आफ्नो आत्मसन्तुष्टिको लागि गर्ने हो यो कुराहरू । मैले पाउँ नपाउँ त्यो मेरो लागि ठूलो कुरा भएन । सम्मान पाउने लक्ष्य राखेर गर्यो भने मेरो विचारमा त्यो गलत हो ।
तपाईंलाई अहिले बेलायतमा सूर्य गुरुङ ‘च्यारिटी किङ’ भनेर सबैले चिनिसकेको छ। अलिकति अपमान भयो कि सरकारबाट अथवा कतैबाट । त्यस्तो लाग्दैन ?
त्यो विल्कुल लाग्दैन । मैले अघि पनि भने, मेरै आफ्नो आत्मसन्तुष्टिका लागि गर्ने हो । त्यसरी सोच्न लाग्यो भने गिल्टी फिल हुन्छ । पाउने/नपाउने कुरासँग मलाई कुनै सरोकार भएन । मुख्य कुरा सामाजिक काम, सामाजिक सद्भावले सहयोग गर्न पाउँछौँ, नेपाली समुदायलाई । नेपाललाई। त्यो नै मेरा लागि गर्वको कुरा हो।
परोपकारी क्षेत्रमा तपाईंको स्पिड घटेको छैन?
साह्रै धेरै गरेको पनि होइन । अब गर्दै जाँदाखेरी, यो लामो यात्रा भयो । बेलायत आएको ३० वर्ष भयो । फर्केर हेर्दा, पछिल्लो २० वर्षभन्दा बढी चाहिँ निरन्तर परोपकारी काम गरेको रहेछु, जस्तो लाग्छ । मैलेभन्दा धेरै गर्ने साथीहरू पनि हुनुहुन्छ ।
अन्त्यमा केही छुटेको जस्तो लाग्छ भने जोड्नुहुन्छ ?
प्राय: मेरो सबै कुराहरू तपाईंले कभरेज गर्नुभयो । त्यसको लागि प्रकाश गुरुङजी र मिलन गुरुङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । बेलायत ‘मिनी नेपाल’ भइसकेको छ । ठ्याक्कै नभए पनि एक लाख ५० हजार नेपालीहरू बेलायतमा बस्ने अनुमान छ । यो ठूलो शक्ति हो । नेपाली डायस्पोराले नेपाललाई योगदान धेरै हिसाबले गर्न सकिन्छ, विभिन्न क्षेत्रमा । ५०० भन्दा बढी त डाक्टर नै हुनुहुन्छ । थुप्रै प्रोफेसनमा हुनुहुन्छ । म आफू आबद्ध क्याटरिङको लाइनको कुरा गर्ने हो भने ५०० भन्दा बढी रेस्टुरेन्ट बेलायतमा छ । यत्रो ठूलो शक्ति छ । त्यसकारण हामीले यो शक्तिलाई, यो विज्ञतालाई कसरी नेपालमा लैजान सकिन्छ ? भन्ने मेरो दिमागमा आउँछ । एक्लै गर्न सक्ने कुरा त होइन । तर त्यो सोच चाहिँ त्यस्तो आउँछ। केही न केही गर्नुपर्छ । हामीले पहल चाहिँ गर्नुपर्छ तर के हो त त्यो सूत्र ? तपाईं हामी सबै मिलेर पत्ता लगाउनुपर्छ । त्यो सोच सबैमा ट्रान्सफर गर्नु नै ठूलो कुरा हो जस्तो लाग्छ ।
किनभने अबको नानीहरूलाई हामी नेपाल लाने कुराहरू हामी गर्छौं। यो डायस्पोराको यत्रो नेपालीहरूको संख्या छ । यसलाई शक्तिलाई कसरी परिणत गर्न सकिन्छ ? आफ्नो देशमा, कुनै एउटा फिल्डमा, परोपकारी क्षेत्रमा केही न केही हिसाबले त्यो कनेक्ट गराउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ । त्यसको लागि अघि तपाईंले भन्नुभएको जस्तै धेरै कुराहरू छ । त्यसमा जोड्ने नागरिकताको कुराहरू होला । अभिभावकको भूमिकाको कुरा होला। केही न केही चाहिँ हामीले गर्नुपर्छ। आफूलाई मात्रै भयो भन्ने हिसाबले बस्नुहुँदैन भन्ने मान्यता म राख्छु ।