लन्डन । गोरखाहरूको समस्याबारे मार्च २७ (बुधबार) मा हुने मन्त्रीस्तरीय वार्तामा सहभागी हुने गोर्खाका प्रतिनिधिको नाम तय भएको छ ।
सो वार्तामा गोर्खाहरूको तर्फबाट ६ जना प्रतिनिधिले भाग लिन पाउने भनिएकोमा नाम तय गर्न दूतावासमा बैठक बसेको थियो । सो बैठकले प्रतिनिधिको नाम तय गरेको हो ।
वार्तामा गोर्खाका तर्फबाट मे. रि. जुद्धबहादुर गुरुङ, मे. रि. टिकेन्द्र दल देवान जेपी,धर्मबहादुर तामाङ , कृष्णबहादुर राई, ज्ञानराज राई र केशबहादुर गुरुङ सहभागी हुने भएका छन् ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा आइतबार भएको बैठकमा गेसोका सभापति कृष्णकुमार राई र बीजीडब्ल्यूएसका अध्यक्ष टिकेन्द्रदल देवानलाई यस पटकको वार्तामा राख्न राजदूत आचार्यले नै प्रस्ताव गरेका थिए ।
अन्तमा राईको सट्टामा केशबहादुर गुरुङ जाने सहमती जुटेको हो ।
वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् ।
वार्ता बेलायतको रक्षा मन्त्रालय (एमओडी) मा दिउँसो दुईदेखि साढे तीन बजेसम्म हुनेछ।