लन्डन । गोर्खा भूतपूर्व सैनिकहरूको समस्याबारे हुन लागेको नेपाल र बेलायत सरकारबीचको मन्त्रीस्तरीय वार्तामा समान पेन्सनको विषयमा जोड दिन गोर्खासम्बद्ध संस्थाले सुझाव दिएका छन् ।
शनिबार लन्डनस्थित नेपाली दूतावासमा भएको छलफलमा वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ता बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यही मार्च २७ मा हुन लागेको मन्त्रीस्तरीय वार्ताका लागि गोर्खासित सुझाव मागेकोमा सो राय दिएका हुन् ।
बैठकमा सहभागी वार्ताकार धर्मबहादुर तामाङका अनुसार गोर्खा संघसंस्थाका प्रतिनिधिले गोर्खाको माग समानताका लागि भएकोमा एक मत जाहेर गरेका थिए । शनिबारको बैठक अन्य बैठकभन्दा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको पनि उनले जानकारी दिए ।
बैठकमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले एउटै देशको एउटै सेनाभित्र काम गरेका गोर्खा सैनिकलाई एउटा समयसीमा तोकेर कसैलाई समान सुविधा दिने कसैलाई नदिने गर्न नपाइने बताएका थिए । उनले गोर्खा सैनिकले पाउने पेन्सन भारतमार्फत जाने गरेकोमा सिधै नेपाल राष्ट्र बैंकमा जाने व्यवस्था मिलाउन पनि माग गरेका थिए ।
बैठकमा राजदूत आचार्यका साथै उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी अनुप शाह, गोर्खाका तर्फबाट गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, वार्ताकारहरू मेजर जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, नेपाल भूतपूर्व सैनिक संघ नेसाका अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, मेजर उदयबहादुर गुरुङ, पहिले गोरखाका लागि लन्डनमा अनसन बसेका सत्याग्रहीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेलगायत थिए ।
शुरुआतमा उपनियोग प्रमुख खनालले बैठकका अजेन्डा प्रस्तुत गरेकी थिइन् । मेजर जुद गुरुङले वेलफेयरबारे भएको बैठकबारे जानकारी गराएका थिए ।
नेपाल सरकार र बेलायत सरकारबीच गोर्खाहरूका समस्याबारे मन्त्री स्तरीय वार्ता यही मार्च २७ मा लन्डनमा हुँदै छ । सो वार्तामा परराष्ट्र मन्त्रालयबाट पनि प्रतिनिधि आउने बताइएको छ ।