बेलायतमा नेपालीको संख्या बढेसँगै नेपालीकै स्वामित्वको व्यवसाय पनि वृद्धि हुँदै गएको छ । तीमध्ये सफल व्यवसाय हो पिपल ग्रुप । यही ग्रुपका म्यानेजिङ डाइरेक्टर तथा धावक सूर्यप्रकाश गुरुङ हुनुहुन्छ । सूर्यप्रकाशले आउँदो २१ अप्रिलमा हुने 'लन्डन म्याराथन २०२४ मा भाग लिँदै हुनुहुन्छ । व्यवसायी सूर्यप्रकाशसँग लन्डन म्याराथन र व्यवसायबारे गोर्खा मिडियाको प्रस्तुति अतिथि संवादमा सहसम्पादक प्रकाश गुरुङले गरेको कुराकानी ।
आजभोलि तपाईं के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि म दुई वटा कुरामा व्यस्त छु । एउटा लन्डन म्याराथन २०२४ मा भाग लिने र अर्को व्यवसायी चलाउने, त्यसलाई म्यानेज गर्ने, एक्सप्लान गर्ने मुख्य पार्ट हो मेरो । त्यसपछि फुर्सदमा आफूलाई कसरी मोटिभेट गर्ने, लाइफलाई कसरी ब्यालेन्स गर्ने भन्ने हिसाबले दौडमा लागिरहेको छु ।
बेलायतमा पिपल ग्रुप सञ्चालन भएको धेरै वर्ष भइसक्यो, यसका सेवाहरू के के छन् त ?
यस कम्पनीमार्फत व्यक्ति र परिवारका लागि आवश्यक पर्ने विषयहरू आउँछ । जस्तो प्रोपर्टी सेल्स, लेटिङ, प्रोपर्टी म्यानेजमेन्ट र लगानीबारे सुझाव दिन्छौँ । फाइनान्सिलय पार्टमा मोर्गेजसम्बन्धी सुझाव दिने, मोर्गेज मिलाइदिने, इन्सोरेन्सलगायत छन् । आउँदो वर्षमा सेवाहरू बढाउने उद्देश्य पनि राखेका छौँ । तपाईंको कुनै आर्थिक कारोबारसम्बन्धी जिज्ञासा, सल्लाह आवश्यक पर्यो भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ ।
अहिले पिपल ग्रुपले ग्राहकलाई दिइरहेको सेवाबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामी सन्तुष्ट छौँ । तर, अझ सन्तुष्टिको विषय ग्राहकमा भर पर्ने विषय हो । हाम्रो इन्टेन्स राम्रो छ । राम्रो हुँदाहुँदै कहिलेकाहीँ भनेजस्तो हुँदैन र समस्या आउँछन् । त्यो आफ्नो ठाउँमा छ । अहिले हामीसँग २९ जना कर्मचारीहरू छन् । हरेक मान्छेको काम गर्ने तरिका, इथिक्स, समर्पण, हार्डवर्क र ज्ञानको हिसाबले पनि फरक हुन्छन् । त्यसकारण मानव स्रोतसाधनका कारण भनेजस्तो गर्न सकेका छैनौं कि जस्तो महसुस कहिलेकाहीँ हुन्छ । हाम्रा भाइबहिनीहरूलाई लर्निङ एन्ड डेभलपपिङ टेनिङ भनेर सकेसम्म हौसला दिने काम गरिरहेका छौँ ।
यो व्यवसायलाई जोडेर तपाईं आउँदो अप्रिल २१ मा लन्डन म्याराथनमा सहभागी हुँदै हुनुहुन्छ । विगतमा पनि गोर्खा वेलफेयर ट्रस्टले आयोजना गरेको सय किलोमिटरको ट्रेल वर्क्स गर्नुभयो । यत्ति लामो दौडहरूमा भाग लिने कसरी आँट आयो तपाईंलाई ?
म साधारण परिवारमा जन्मिएको मान्छे । बच्चादेखि नै खेलकुदजस्ता अतिरिक्त क्रियाकलापभन्दा पनि पढ्नु पर्छ, आफ्नो करिअर बनाउनुपर्छ भन्नेमा फोकस भयौँ । सन् २००६ मा बेलायत आएर पनि जब, अर्निङ, करिअर र स्टडीमै फोकस भयौ । अतिरिक्त क्रियाकलाप, शारीरिक तन्दुरुस्तीतिर त्यत्ति ध्यान दिइनँ । जब विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड भयो र उमेर पनि ४० कटिसकेपछि स्वास्थ्य पनि ठूलो हो भन्ने लागेपछि स्वस्थ रहने उपायहरू खोज्न थालेँ । मैले सिक्न खोजेको चाहिँ गल्फ हो । तर सबै साथीहरूको प्रतिक्रियामा दौड राम्रो भन्ने आयो । गल्फ टिम मिल्नु पर्ने, खर्चिलो हुने तर दौड जहाँ पनि, जहिले पनि, जोकोहीले गर्न सकिने भन्ने हिसाबले यस तर्फ मेरो झुकाव भयो ।
कहिलेदेखि सुरु गर्नुभयो दौडन ?
सन् २०१७ मा ग्रेटर रसमूर नेपाली कम्युनिटीले आयोजना गरेको १० किमी दौडदेखि हो । त्यस दौडमा म पछाडि भए पनि जब लाइन पार गरेँ, त्यो चाहिँ ओलम्पिक जिते जस्तो, उपलब्धि हासिल गरेको अनुभव भएको थियो । सुरुमा दौडमा क्रेजी भए पनि गाह्रो हुन्थ्यो । अहिले बानी परेकोले होला सजिलो हुँदै गएको छ ।
मास्टर राष्ट्र राई र मिरा राईको नाममा फन्ड राइजिङका लागि लन्डन म्याराथनमा भाग लिँदै हुनुहुन्छ, यसबारे थप प्रस्ट पारिदिनु न ?
विश्वकै चर्चित म्याराथनमा पर्छ, लन्डन म्याराथन । त्यसमा म पनि जान्छु भन्ने मनभित्र जोस आयो । लन्डन म्याराथनमा प्रवेश नै सबभन्दा गाह्रो हुन्छ । त्यो च्यारिटी बेस हुन्छ । त्यसका लागि निश्चित रकम उठाउनुपर्ने हुन्छ । लन्डन म्याराथन आयोजकले युकेका एथलेटिक्स क्लबहरूलाई निश्चित कोटाहरू दिने रहेछन् । युकेमा नेपाल रन भनेर नेपालीहरूको रनिङ क्लब एकदमै सक्रिय छ । त्यसमा विशेष गरेर सन्तोष राई, पाण्डव महतोजीहरू हुनुहुन्छ । उहाँहरूले ठाउँ ठाउँ गएर मोटिभिङ गर्ने । इनकरेज गर्ने काम गरिरहनुहुन्छ । उहाँहरूले पाएको कोटा मलाई दिइयो । मैले युकेको च्यारिटी कोटा पाएको भए युकेकै लागि फन्ड रेज्ड गर्नुपर्थ्यो । नेपाल रनले पाएको कोटा मलाई दिइएको कारणले गर्दा मैले आफैले छान्न पाउने भएकोले अल्ट्रा धावक मिरा राई छानेको हुँ । म बेलायत बसेको १८ वर्षको समयमा भेट्दा उच्च सम्मान गर्नुपर्ने व्यक्तिहरूमध्ये मास्टर राष्ट्र राई पर्नुहुन्थ्यो । अचानक उहाँ गत वर्ष बित्नुभयो । मिरा राईले एउटा टेनिङ हाउस बनाउन लागेको रहेछ । त्यसमा सहयोग गर्ने बेलामा राष्ट्र राईको सम्झनाका लागि कुनै एउटा कोठामा उहाँको नाम लेखौं भन्ने हिसाबले मैले फन्डरेइज गर्न सोच बनाएको हुँ ।
अहिलेसम्म कति रकम उठ्यो ?
सर्वप्रथम अहिलेसम्म ज जसले सहयोग गर्नुभएको छ । उहाँहरूलाई यो गोर्खा मिडियाको प्लेटफर्ममार्फत धेरै धेरै धन्यवाद दिन चाहन्छु । पछिल्लो अपडेटअनुसार साढे २० हजार पाउन्ड (नेपाली रुपैयाँ ३५ लाख रुपैयाँ जति) उठिसकेको छ ।
लन्डन म्याराथन कुद्दै गर्दा यति धेरै सहयोग उठ्दा कस्तो महसुस हुन्छ ?
मलाई लाग्छ, मेरो व्यवसाय पनि सहयोग गर्ने प्रकृतिको हो । म कसलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ । अहिले जुन रकम उठ्यो । यो मैले कल्पना गरेको पनि थिएन । खुसीसँगै समाजप्रतिको मेरो जिम्मेवारी, दायित्व पनि हो । बेलायतमा बसेको १८ वर्ष र व्यवसाय सुरु गरेको साढे १४ वर्ष भयो । यस बीचमा मैले समाजमा दिएको योगदानका कारण मलाई विश्वास गरेर फन्ड संकलन भएको हो जस्तो लाग्छ । यसले मलाई झन् जिम्मेवारीबोध गराएको छ । झन् समाजप्रति काम गर्नुपर्ने देखिएको छ ।
प्राय: तपाईं दौडिरहनु भएको देखिन्छ । दौड र अफिसको कामलाई कसरी सन्तुलन मिलाइराख्नु भएको छ ?
भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । समय भनेको आफूले म्यानेज गर्ने कुरा हो । तर सूर्य गुरुङ व्यवसायी भनेर चिनिन्छ । यसलाई सञ्चालन गर्न पनि धेरै चुनौतीहरू हुन्छन् । धेरै जिम्मेवारी हुन्छ । स्ट्रेसफूल हुन्छ । दौड गर्दा मानसिक रूपमा आराम मिल्छ । स्वास्थ्यका लागि नै भनेर व्यवसायबाहेक दौडलाई समय दिँदै आएको छु ।
रनिङ सुरु गर्नुताका र अहिले शारीरिक, मानसिक रूपमा कस्तो परिवर्तन आएको पाउनुहुन्छ ?
शारीरिक रूपमा तन्दुरुस्त, योङ र फिट महसुस हुन्छ । जब दौडन सुरु गर्छु । अरू सबै बिर्सिएर तनावमा राहत मिल्ने गरेको छ । दौडिने क्रममा जंगलतिर पुगिन्छ । त्यसले दिमागलाई ताजा बनाउँदो रहेछ । त्यसले सिर्जनात्मकताको कुरा आउँदो रहेछ ।
व्यवसायलाई अगाडि बढाउँदा योजना चाहिन्छ । ती योजना कुद्दाखेरी सोचेको र अफिसमै बसेर सोचेको कुन योजना बढी प्रभावकारी हुँदो रहेछ ?
एउटा कविले अफिसमा बसेर कविता लेख्न सक्छ जस्तो लाग्दैन । त्यसका लागि वातावरण चाहिन्छ । रनिङमा विभिन्न खालका हुन्छन् । प्रतिस्पर्धात्मक दौडमा कसरी दूरी पूरा गर्ने भन्नेमा फोकस हुनुपर्छ । अर्को सोसल रनिङ । जुन लामो हुनसक्छ । त्यसबेला प्रकृतिसँग पनि पुगिन्छ । त्यसबेला फरक फरक आइडियाहरु आउँछन् ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
मलाई प्रत्यक्ष सहयोग गर्नु हुने र पर्दा पछाडिबाट सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जहिल्यै भन्ने गरेको छु, म नेपाली कम्युनिटीलाई, राष्ट्रका लागि आफूले जाने बुझेसम्म म सयका सय प्रतिशत सहयोग दिन चाहन्छु । गुड इन्टेन्सले सर्भिस दिँदा दिँदै कहिलेकाहीँ गल्ती हुन जान्छ । चाहँदा चाहँदै कहिलेकाहीँ दायरा हुन्छ । जसका सहयोग दिन र योगदान दिन सकिँदैन । तर म सधैं नेपाल र नेपाली कम्युनिटीका लागि सहयोग दिन तयार छु ।