लन्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा त्रिपक्षीय बैठक भएको छ ।
नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बुधबार लन्डनस्थित रक्षा मन्त्रालयमा प्राविधिकस्तरको बैठक सम्पन्न भएको नेपाली दुतावास लन्डनले विज्ञप्तिमार्फत जानकारी गराएको हो । बैठकमा भूपू गोर्खाहरुका पेन्सन, अध्यागमनलगायत विषयहरुमा विस्तृत छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।
दूतावासका अनुसार बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा विभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी बैठकहरुमा जानकारी गराउने बताएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ, मेजर(अ.प्रा.) उदयबहादुर गुरुङ, पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।
गोर्खा मुद्दामा चरणबद्ध वार्ता र छलफल भए पनि अझै निष्कर्ष निस्कन सकेको छैन । करिब डेढ घण्टा वार्ता चलिरहंदा भूतपूर्व गोर्खाहरु बाहिर शान्तिपूर्ण प्रदर्शन गर्दै थिए । गोर्खा मुद्दामा जारी त्रिपक्षीय वार्ताअन्तर्गत अब आगामी मार्च २७ मा मन्त्रीस्तरमा वार्ता गर्ने तयारी छ ।
विगत तीन दशकदेखि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले समान पेन्सन नै अन्तिम सर्त राख्दै आएका छन् ।
![](https://staging.gurkhamedia.com/uploads/editor/2024-02-22/032238968423062894_1940888356307146_8508910257383230412_n.jpg)
![423062894_1940888356307146_8508910257383230412_n-1708572196.jpg](https://gurkhamedia.com/uploads/posts/423062894_1940888356307146_8508910257383230412_n-1708572196.jpg)