लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति र गोर्खा कल्याण गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले तीन दलका नेतालाई गोर्खाजका मागबारे अवगत गराएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्ञापनपत्र बुझाइएको हो ।
संघका अध्यक्ष बद्री केसी र गोर्खा कल्याणका संयोजक अ.ले चन्द्रबहादुर गुरुङद्वारा हस्ताक्षर गरिएको पत्र, भट्टराईलाई संयोजक गुरुङ र भूपू गोर्खा तथा टास्कफोर्सका सल्लाहकार धनबहादुर गुरुङले हस्तान्तरण गरेका थिए ।
यस्तै, मन्त्री गुरुङलाई गोर्खा कल्याणका संयोजक गुरुङ र भूपू गोर्खाका श्रीमती तथा समाजसेवी कमला गुरुङले हस्तान्तरण गरेका थिए । टोलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई बुधबार बेलुका र मन्त्री गुरुङलाई बिहीबार निवासमा नै भेटेको हो । त्यस क्रममा हालको परिस्थितिमा गोर्खाजका मुद्दाबारे अवगत गराई सरकारले लिनुपर्ने नैतिक जिम्मेवारप्रति गम्भीर भई गोर्खाजको वंशजको नागरिकता निरन्तरता, असमान पेन्सन र मार्च २७ मा हुन लागेको मन्त्रीस्तरीय वार्तामा नेपालबाट पनि मन्त्रीस्तरीय टोली खटाइदिन अनुरोध गरिएको अ.ले चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
नेपाली नागरिकता ऐन, २०६३ को दफा १० उपदफा १ मा ‘नेपाली नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ’ भन्ने व्यवस्था छ । यसलाई संशोधन गरी ‘तर यो व्यवस्था १९४७ को त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा भर्ती भएका गोर्खा र निजका सन्ततिका लागी भने लागू हुने छैन । तसर्थ, बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खा र निजका सन्ततिका वंशजको नेपाली नागरिकता कायमै रहनेछ’ भन्ने वाक्यांश राखिदिन अनुरोध गरिएको छ ।
यस्तै, ज्ञापनपत्रमा गोर्खाहरूको निवृत्तिभरणसम्बन्धी नेपाल र बेलायतबीच वार्ता भइरहेको तर विविध कारणले यसमा ढिलाइ भएको उल्लेख छ । 'यसरी विलम्ब हुँदा कति गोर्खालाई अति नै ढिला भइसकेको (मृत्युवरण गरी सकेको) अवस्था पनि हो यसर्थ, यो मुद्दालाई छिट्टै निर्णयमा पुर्याउन मन्त्रीस्तरीय वार्ता टोली गठनको लागी पनि पहल गरी दिनु हुन विनम्र निवेदन गर्दछौँ,' ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै नेताहरूले जीटूजी वार्तामा मन्त्रीस्तरीय खटाउनेबारे पहल गर्ने आश्वासन दिएको गोर्खा कल्याणका संयोजक गुरुङले जानकारी दिए ।