लन्डन । संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि यहाँको सरकारसँग आग्रह गरेका छन् ।
भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बुधबार बेलायतको रक्षा मन्त्रालयमा बसेको तेस्रो बैठक बैठकमा नेपाल सरकारको तर्फबाट नेतृत्व गरेका राजदूत आचार्यले दुई मुलुकबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि आग्रह गरेका हुन् ।
बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको सन्देशसहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिएका थिए । बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयहरुमा आफ्नो जवाफ प्रस्तुत गरिसकेपछि राजदूत आचारय र यूरोप अमेरिका महाशाखा प्रमुख ढकालले तर्कसहित आफ्नो भनाइ राखेका नेपाली दूतावास लन्डनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबारको बैठकलाई महत्वका साथ हेरिए पनि कुनै ठोस सहमति बन्न सकेन । बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट संयुक्त अधिराज्यका लागि नेपाली राजदूत आचार्य एवं भूपू गोर्खाहरुका तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङले गरेका थिए । बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भएको नेपाली दूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएको छ ।
बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने समझदारी भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।
रक्षा मन्त्रालयमा बैठक जारी रहँदा बाहिर सयौंको संख्यामा भूपू गोर्खा र सरोकारवालाले नाराबाजीसहित प्रदर्शन गरेका थिए ।