लन्डन । बेलायतमा ६ गोर्खा राइफल्सले '६ जीआर रेजिमेन्टल मेमोरियल' निर्माणका लागि सहयोग दिने दाताहरुलाई 'गोर्खा मेमोरियल मेडल' वितरण गरेको छ ।
फार्नबोरोमा रहेको स्यामूल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेज हलमा शनिबार १६ सेप्टेम्बर २०२३ मा वार्षिक भेटघाट कार्यक्रममा मेडल वितरण गरिएको हो । सहयोगी दाताहरुलाई मेडल संयोजन गरेका बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी र गोर्खा मेमोरियल प्रोजेक्टका समिति अध्यक्ष क्या माइक चेनिङले मेमोरियल मेडल र रेजिमेन्टल पुस्तक हस्तान्तरण गरेका थिए ।
यस्तै मेमोरियल प्रोजेक्ट सफल बनाउनका लागि आर्थिक संकलनमा सहयोग पुर्याएका प्रत्येक नम्बरीका अगुवालाई मेजर खुसीमान गुरुङबाट खादा लगाई सम्मान गरिएको थियो ।
पोखरामा रहेको गोर्खा संग्रहालयको प्राङ्गणमा '६ जीआर रेजिमेन्टल मेमोरियल' राखिएको छ । उक्त मेमोरियलको उद्घाटन गत १८ मार्च २०२३ मा गरिएको थियो । यो प्रोजेक्टका लागि नेपालमा ५० लाख ७६ हजार ५५९ रुपैयाँ र बेलायतलगायत अन्य देशहरुबाट ५४ हजार पाउन्ड गरी जम्मा ९२ हजार पाउन्ड संकलन भएको थियो । यसले १८१७ देखि १९९४ सम्मको इतिहासलाई झल्काउँछ ।
उक्त प्रोजेक्ट सफल बनाउनका लागि केही वर्ष पहिले समिति गठन भएको थियो । जसमा अध्यक्ष क्या माइक चेनिङ, कन्सेप्ट अफिसर लेफ्टिनेन्ट कर्णेल जोन म्याकेन्ली, नेपाल प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल गोपालबहादुर गुरुङ एमबीई, बेलायत प्रतिनिधि कर्णेल पोल पिटी ग्रिउ, क्याप्टेन आन ग्रिफिथ, यूके-नेपाली प्रतिनिधि मेजर टिकेन्द्र दल देवान जेपी छन् ।
गत वर्ष बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएकोले ६ गोर्खा राईफल्सको वार्षिक भेटघाट कार्यक्रम स्थगित भएको थियो ।
यस वर्ष मेडल वितरण, सांस्कृतिक कार्यक्रमसहित ६ जीआर गोर्खा राइफल्सले वार्षिक भेटघाट आयोजना गरेको हो । कार्यक्रमको पहिलो चरण नेपाल र बेलायतको राष्ट्रिय घुन बजाएर सुरु गरिएको थियो ।
कार्यक्रम सफल पार्न ६ गोर्खा राइफल्सका सदस्यहरुले पियपदार्थ, राफल ड्रका लागि पुरस्कार प्रायोजन गरेका थिए । राफल ड्रको संयोजन ज्ञाम गुरुङले गरेका थिए ।
यस वर्षको कार्यक्रममा नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु शिव हमाल र विन्दा परियारले आ-आफ्नो प्रस्तुति दिएर ६ गोर्खा राईफल्सका सदस्य तथा उनका परिवारहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । कलाकारद्वय हमाल र परियारलाई मेजर खुशीमान गुरुङले खादा, प्रमाणपत्र र पारिश्रमिक रकम हस्तान्तरण गरे । मेजर गुरुङकी श्रीमती उर्मिला गुरुङले कार्यक्रममा पेय पदार्थ प्रायोजकहरुलाई खादा लगाइ धन्यवाद दिएकी थिइन् ।
मेजर खुशीमान गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा उपसंयोजकको भूमिका अमृत गुरुङले निभाएका थिए । बीजीडब्लुएसका पीआर प्रकाश गुरुङले संचालन गरेको उक्त कार्यक्रममा पेय पदार्थतर्फ श्रीमती अमृत गुरुङ, श्रीमान्/श्रीमती खुम गुरुङ र श्रीमान्/श्रीमती जीत गुरुङ, टिकट काउन्टरमा ले. रने गुरुङ, दुत पुनले जिम्मेवारी सम्हालेका थिए ।
पीआरआईका सामानहरु बेच्नमा गम गुरुङले सहयोग गरे भने गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले फोटो खिचेका थिए ।
कार्यक्रममा ट्रस्टी ब्रिगेडियर एन्डरसन, डिपुटी लर्ड लेफ्टिनेन्ट अफ ह्याम्पसायरका मेजर मनीकुमार राई एमबीई र ६ जीआर रेजिमेन्टल एसोसिएन नेपालका चियरमेन मेजर चन्द्रबहादुर गुरुङ एमभीओसहित ६ गोर्खा राईफल्सका अफिसरलगायत झन्डै चार सय जना उपस्थित थिए ।