लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत, नेपाल सरकारका प्रतिनिधि र गोर्खाका प्रतिनिधिहरुबीच सोमबार प्राविधिक समितिस्तरमा बैठक भएको छ ।
रक्षा मन्त्रालयमा झण्डै अढाइ घण्टा भएको बैठकमा पेन्सन, वेलफेयर, गुडवील पेमेन्ट, अध्यागमन लगायत विषयमा गहन छलफल भएको नेपाली राजदूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएको छ ।
'भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भयो । बैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका सबै मागहरुमा विस्तृत छलफल भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा विभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी बैठकहरुमा जानकारी गराउने बताएको छ ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ, पुष्पा राणा घले, धनबहादुर गुरुङ, सइन्द्रा केसी थापा तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय,अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।
गोर्खा मुद्दा समाधान गर्न बेलायत र नेपाल सरकार (जीटुजी) बीच अन्तिम वार्ताअघि विभिन्न चरणमा छलफल हुँदै आएका छन् । रक्षा मन्त्रालयभित्र छलफल चलिरहँदा बाहिर सत्याग्रह संयुक्त संघर्ष समिति आबद्ध भूतपूर्व गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।