लन्डन । घुडामाथि दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको शिखरमा पाइला टेक्दै कीर्तिमान राखेर आफ्नो समुदायमा सचेतना फैलाएको भन्दै यूकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने 'पोइन्ट अफ लाईट' अवार्डबाट सम्मान गरिएको छ । सशस्त्र बल दिवस को अवसरमा १० डाउनिङ स्ट्रीट रिसेप्शनमा भेटेरान्स मन्त्री जोनी मर्सरले हरिलाई अवार्ड प्रदान गरेका थिए ।
य़ूकेमा प्रधानमन्त्री दैनिक 'पोइन्ट अफ लाइट' अवार्ड उत्कृष्ट व्यक्तित्वहरु, स्वयंसेवकहरू र आफ्नो समुदायलाई राम्रो बनाउन र सकारात्मक परिवर्तन गर्न समर्पितहरुलाई सम्मानित गरेर उनीहरुको समाज प्रतिको उदाहरणीय समर्पणको सम्मान हो ।
सो अवसरमा बोल्दै हरिले, ‘पोइन्ट अफ लाइट’ अवार्डद्वारा सम्मानित हुनु गौरवको कुरा भएको बताए । 'सगरमाथा आरोहण कुनै कीर्तिमान वा सम्मान अवार्ड र पुरस्कारको बारेमा थिएन, यो समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने तरिकामा फरक पार्ने प्रयास गर्ने र सबै मानिसहरूलाई 'आफ्नो हिमाल चढ्न' प्रेरणा दिने कुरा थियो,' उनले भने, 'मलाई विश्वास छ कि परिस्थितिसँग आफूलाई अनुकूल बनाएर, समर्पण, दृढ संकल्प र टिमवर्कको माध्यमबाट हामीले हाम्रो दिमागमा राखेका सबै कुरा हासिल गर्न सक्छौं ।'
उनले थपे, 'यो गाह्रो हुन सक्छ, तपाईंले आशा गरेको भन्दा लामो समय लाग्न सक्छ र आवश्यक मद्दत, आफ्नो अवस्थाअनुसार चाहिने सामग्री बनाउने (इन्नोभेसन) र तरिका परिवर्तन गर्नु पर्ला तर यो गर्न सकिन्छ र सम्भब छ, त्यसको उदाहरण तपाईंको अगाडि उभिएको छु ।'
'ब्रिटिस आर्मीमा गोर्खा हुँदाको समयले सेवाको महत्त्व जगाएको थियो अब मेरो जीवन मेरो परिवार, समुदाय र समाजको सेवामा रहनेछ', भने । कीर्तिमानी आरोही हरिले विभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि उल्लेख्य सहयोग र योगदान दिँदै आएका छन् । हालसम्म ‘गोर्खा वेलफेयर ट्रस्ट’ लगायत सशस्त्र बल परोपकारी संस्थाका लागि ११ हजार पाउन्डभन्दा बढी सङ्कलन गरिसकेका छन् र आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्ममार्फत ८ लाख ८४ हजार ९०० (सगरमाथाको उचाइमा दुई वटा सुन्ना थपेर) उठाउने लक्ष्य राखेका छन् ।
हरि बुढामगर बिश्वभरि अपाङ्गताको चेतना फैलाउन चाहन्छन् र अपाङ्गता भएमा सीमित हुनु हुँदैन भनेर देखाउन चाहन्छन् । हरिले बेलायत, नेपाल र विदेशका संस्थाहरूमा पनि आफ्नो अनुभव, अप्ठ्यारा, असजिला र आफुले गरेका संघर्षका कथा स्कूलहरू, विश्वविद्यालयहरू र सेना प्रशिक्षण केन्द्रहरूमा गएर बिभिन्न घटनाहरू सहित आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभावलगायतका बिषयमा आफ्नो भोगाई सुनाएर अरुलाई जागरुक र सचेत बनाउँदै आएका छन् ।