काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका-३ डाँडाथोकमा जन्मिएकी निरा थापामगर सानैदेखि लोकदोहोरी गाउन र मोडलिङ गर्न रुचाउँथिन् । सानैदेखि गीत गाउने, नाच्ने चाहना र कर्मका कारण उनी अहिले लोकदोहोरी गायिका तथा मोडलका रुपमा चिनिएकी छन् ।
बाबा यमबहादुर थापा र आमा केशरीमाया थापाका कान्छी सन्तान हुन् निरा । उनको परिवारमा बाबा, आमा, ४ जना दाजुभाइ र एक दिदी छन् । सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मिएकी उनले कक्षा ९ सम्म अध्ययन गरिन् । पारिवारिक कारण र संगीतप्रतिको झुकावका कारण त्यसपछि आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् ।
उनले औपचारिक रुपमा लोकदोहोरी गीत गाउन सुरु गरेको वि.स. २०७४ सालबाट हो । गीतसंगीतको क्षेत्रमा हेलिएको केही वर्षमात्रै भए पनि उनले आफूलाई यस क्षेत्रमा स्थापित गराउने चरणमा पुगेकी छन् । क्यासेट, सिडीको जमाना हट्दै गएपछि लोकदोहोरीको संरक्षण र विकास अनि रोजगारी सिर्जनाका लागि खोलिएको दोहोरी साँझहरुबाट उनले आफूलाई तिखार्न मौका पाएकी छन् । उनले कास्कीको पर्यटकीय नगरी पोखरा महानगरपालिका बसेर गाउँसहर दोहोरीसाँझमा गीत गाउँछिन् ।
उनले आफ्नो गायन यात्रालाई अगाडि लैजाने वातावरणमा भिनाजु र भाउजुहरुको देन रहेको सुनाइन् । ‘मलाई सानैदेखि गीत गाउन असाध्यै मन पर्थ्यो । घाँसदाउरा गर्न जाँदा, एक्लै हिँड्दा गुनगुनाउने गर्थे । मैले गीत गाउँछ भन्ने कुरा कसैलाई थाहा थिएन । त्यही भएर पनि गाउँमा रहँदा खासै गीत गाउने अवसर पाइन’ उनले भनिन् ‘२०७३ सालतिर भिमाद झरें । भाउजुकोमा बस्न थालें । त्यहाँ मेरो ठूलो दिदी, भेना, भाउजु, माइजुहरु हुनुहुन्थ्यो । त्यहाँ बस्ने क्रममा रमाइलोमा जाँदा गीत गाउने गर्थें । त्यसपछि मेरो ठूलो भेना अनि ठूली भाउजुहरुले मैले गीत गाउँछ भन्ने थाहा पाउनुभयो । सधैं घरमै गीत गाउन लगाउनुहुन्थ्यो । सबैले राम्रो स्वर छ भन्नुहुन्थ्यो ।’ त्यो बेला जब उनले ८/९ महिनापछि तनहुँको खैरेनीटार महोत्सवमा गीत प्रतियोगिता छ भन्ने थाहा पाइन् । उनले त्यहाँ जान मन गरिन् र उनको भिनाजुले लगिदिए । त्यहाँ गएपछि मात्रै त्यो लोकगीतको नभई आधुनिक गीतको प्रतियोगिता रहेछ भन्ने थाहा पाइन् उनले ।
आफूले लोकगीत गाउने भनेर गएकोमा त्यस्तो भएपछि हिम्मत राखी प्रतियोगितामा सहभागी भइन् । राम्रो नभए पनि अनुभव संगाल्न पाएकोमा र साथीभाइसँग चिनजान भएकोमा उनी खुसी भएको उनले सुनाइन् । उनले भनिन् ‘प्रतियोगितामा सहभागी हुँदा पोखराबाट आएका साथीहरु चिनें । त्यसपछि केही महिनापछि पोखरा आएँ । मेरो आफ्नै दाइसँग बसेर काम गर्न थालें । कामसँगै संगीत कक्ष पनि लिन थालें । जोजिजू म्युजिक सेन्टरमा पोखरा रानीपौवामा गुरु करण तामाङसँग संगीत सिक्न थालेँ ।
२/३ महिनापछि इमेज लोक कलाकार सिजन-२ हुने गुरुले भन्नुभयो । म पनि भाग लिन गएँ । छनौट पनि भएँ । टप २० सम्म पुग्न सफल भएँ ।’त्यसलगत्तै पोखरा आएर दोहोरीमा गीत गाउन थालेको उनी बताउँछिन् । गीत गाउने मात्र नभएर अहिले उनी मोडलिङ पनि गर्छिन् । अभिनय मन पर्ने भएकाले गीत गाउने र अभिनयमा पनि क्रियाशील छिन् । उनले यसै क्षेत्रमा अघि बढ्ने र भविष्य बनाउने चाहना रहेको बताउँछिन् । उनले भनिन्, ‘यसैमा अघि बढ्ने मनदेखि इच्छा छ । तर, गाह्रो पनि छ जस्तो लाग्छ । सिक्न धेरै बाँकी छ । तर पनि मिहिनेत गरिरहन्छु । राम्रो गर्ने प्रयास निरन्तर गरिरहने छु ।’
निराले ‘तमासा’ बोलको गीतमा स्वर दिएकी छिन् । उनले ‘आँसुको उपहार’ गीतमा अभिनय पनि गरिसकेकी छिन् । अब २ वटा गीत बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिइन् ।