काठमाडौँ । संघर्ष र मिहिनेत कारण कलाकारितामा स्थापित हुँदै गरेको नाम हो, चाहना राना मगर । कलाकारिता आफ्नो सपना नभए पनि कर्मले उनलाई नृत्यमा डोर्यायो । ‘मैले कलाकारितामा लाग्ने सपना देखेको थिइन। तर बच्चैदेखि नाच्न रुचाउँथेँ । गाउँमा हुने कार्यक्रमहरूमा नाच्थेँ, तर कहिल्यै डान्स सिकेको भने थिइन,’ उनले भनिन् ।
चाहनाको जीवन यात्रा रोचक छ । उनले ४ कक्षामा पढ्दा नै स्कुलमा नृत्य सिकाउन थालिन्। १५ वर्षको उमेरदेखि उनी कोरियोग्राफीमा संलग्न भइन् । सुरुमा कोरसमा नाचिन् । १० कक्षा पास गरेपछि लिड नृत्यमा आफ्नो करियर बनाउन थालिन्। अहिले उनी स्कुलहरूमा नृत्य सिकाउँदै छिन् र आफ्नो कार्यमा खुसी छिन् ।

चाहना आफ्नो सफलताको श्रेय आफ्ना आमाबुबालाई दिन्छिन्, जसले उनलाई धेरै सपोर्ट गरे । छिमेकीले छोरीलाई नाच्न नदेऊ भन्दा पनि आमाबाबुले मलाई साथ सहयोग गर्नुभयो,’ उनले भनिन् । हालसम्म १०० भन्दा बढी म्युजिक भिडियोहरूमा नाचेकी छिन् । उनका ‘सोल्टिनीको शिरैमा चन्द्रमा’, ‘आँखै तिम्रो नशालु’, ‘पिरतीले मन’लगायत गीत चर्चित छन् । ‘मैले नाचेको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्थेँ । त्यहाँबाट मलाई धेरैले चिन्नुभयो र काममा सहयोग पुगेको छ,’ उनले भनिन् ।
चाहना फेसन सोहरूमा कोरियोग्राफी र एंकरिङ पनि गर्छिन्। उनलाई गीत गाउन पनि मन पर्छ । तर आफ्नो स्वर आफैलाई भने त्यति राम्रो नलाग्ने उनले बताइन् । कला र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने विश्वास राख्छिन् र लोक सांस्कृतिक गीतहरूलाई प्राथमिकता दिन्छिन्। कौराप्रति विशेष रुचि छ । आफ्ना मौलिक तथा रैथाने गीत संगीतलाई संरक्षणका साथै प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ । ‘भगवान्लाई धन्यवाद छ, यो उनको गिफ्ट हो। किनभने मैले आजसम्म औपचारिक रूपमा सिकेको छैन । मेरो खास गुरु पनि हुनुहुन्न,’ उनले भनिन्, ‘म आफै सिकेर र बुझेर यहाँसम्म पुगेकी छु ।’
-1739718341.jpg)
चाहनाले विभिन्न देशहरूमा भ्रमण गरेकी छन् । स्पेन, चेक रिपब्लिक, फ्रान्स र स्लोभाकियामा प्रस्तुति दिइसकेकी छन् । ३० वटा देशका सहभागी रहेको कार्यक्रममा उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । यो क्षेत्रमा धेरै संघर्ष गरेकी छिन् र अझै पनि संघर्षरत छिन्। उनले भनिन्, ‘मैले आफ्नो देशलाई विश्वमा चिनाउन पाएकी छु । अझै पनि यो क्षेत्रमा आफ्नो योगदान दिइरहनेछु ।’

चाहना राना मगरको कथा नेपाली युवाहरूलाई प्रेरणा दिने छ। घरको जेठी छोरी भएकाले परिवारको जिम्मेवारी पनि उनको काँधमा छ । आफ्नो मिहिनेत र लगनशीलताको बलमा नृत्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् ।
