कास्की । युवा कलाकार केशबहादुर गुरुङ सात वर्षदेखि गीत–संगीतमा सक्रिय छन् । आफ्नो समुदायको मौलिक संस्कृति र परम्परागत संगीतको जगेर्नामा पनि लागेका छन् ।
सन् १९९३ अप्रिल २७ मा लमजुङको क्व्होलासोंथार–४, भुजुङमा बाबा गर्भे गुरुङ र आमा सुकलसरी गुरुङको कोखबाट उनी जन्मिएका हुन् ।
हाल पोखरालाई कर्मथलो बनाएर संगीतकर्म अघि बढाइरहेका छन् । प्रवेशिका तहसम्मको पढाइ आफ्नै गाउँको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयबाट पूरा गरे ।
गुरुङ हाल पोखरास्थित ए वान गाउँ शहर दोहोरी साँझमा कार्यरत छन् । गीतकार, संगीतकार र गायकको रूपमा पहिचान बनाउन क्रियाशील छन् ।

कलाकारितासँगै सामाजिक काममा पनि सक्रिय गुरुङ विभिन्न संघ–संस्थामा पनि आबद्ध छन् । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को गीत–संगीत विभाग प्रमुख, भुजुङ युम्पो युवा क्लब पोखराका अध्यक्ष, पच्यु तमु केन्द्रीय युवा परिवारका महासचिव र तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका साधारण सदस्य रहेका छन् ।
गुरुङका दर्जनौँ गीतहरू चर्चित छन् । उनका टिकटकमा भेट भो ङोल्स्यो, ए ङोल्स्यो म्हिथेबा, ए ङोल्स्यो म्रुस्यो, ङै माया क्योलाई, ङै सैंर्बे म्रुस्यो, कति छयाब जोबन ङला, तो तै ङोल्स्यो, कुलर्बे चमी, ओ ङोलो खोबाले, गोर्ख हेड शिररी, भुजुङ स्वगत गीत, ङोल्स्यो क्योला रुपलगायत गीत धेरै रुचाइएका छन् ।

यीसहित उनले पाँच दर्जदभन्दा बढी गीत सिर्जना गरेका छन् l मेहनती, परिश्रमी र लगनशील कलाकारका रूपमा परिचित उनले गुरुङ समुदायको संस्कृति संरक्षणका लागि निरन्तर योगदान दिइरहेका छन् ।
आगामी दिनमा पनि गीत–संगीत र समाजसेवामार्फत आफ्नो समुदाय र देशका लागि योगदान जारी राख्ने उनी बताउँछन् ।