काठमाडौँ । सिलाई कटाइको सीप सिक्ने लक्ष्यसहित काठमाडौँ आएकी थिइन्, जुना गुरुङ । सिकेर गाउँ फर्किने, गाउँमा व्यवसाय गर्ने र बुवा आमाको सहारा बन्ने सपना थियो ।
काठमाडौँ आएपछि भने जीवनले नयाँ मोड लियो । उनी नृत्य सिक्न थालिन् । जुन बालापनदेखिको इच्छा थियो । छोटो समयमा नै नृत्यमा पोख्त बनिन् । र, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन् ।
जुनाले अभिनय गरेको पहिलो म्युजिक भिडियो हो, ‘पिरतीको कहानी’ बोलको लोकदोहोरी गीतको । जीवन्त अभिनयका कारण भिडियो उत्कृष्ट बनेको थियो । पहिलो भिडियो नै दर्शकमा लोकप्रिय बन्यो । जसले थप काम गर्न हौसला प्रदान समेत गर्यो । त्यसपछि भने जुनालाई पछाडि फर्किएर हेर्नु परेको छैन ।
परिवारकी जेठी छोरी हुन् जुना । बुवाआमाको रेखदेख गर्ने जिम्मा पनि उनैमाथि छ । स्कुले उमेर देखिनै उनमा नृत्यमा विशेष रुचि थियो । स्कुल र अन्य विभिन्न स्थानमा हुने कार्यक्रम तथा मेला पर्वमा हुने नृत्यमा भाग लिन्थिन् ।
गोरखा आरुघाटकी जुनाले हालसम्म १ हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनका ‘जान्छ्यौ र माइली’, ‘उजेली’, ‘पासपोर्ट हातमा छ’, ‘यो मुटुको धड्कन’, ‘कपालु कोरेर’, ‘पानपाते ठूली’लगायत म्युजिक भिडियो लोकप्रिय भए । यी भिडियोहरू युट्युबमा धेरै रुचाइएका छन् ।
म्युजिक भिडियो चर्चित भएसँगै जुनाको व्यस्तता पनि बढेको छ । हाल उनलाई अभिनय र विभिन्न कार्यक्रममा भ्याइ नभ्याइ छ । सरल र सुशील स्वभावकी जुनाको अभिनय प्रतिभा भने बेजोड छ । आफूलाई चर्चित मोडल भनेर चिनाउन चाहँदिनन् । किनभने साधारण दैनिकी नै उनलाई मनपर्छ । यही गुणका कारण हात खाली हुनुपरेको छैन ।
आफ्नो सुन्दर अभिनयका कारण जुनाले ‘म्युजिक अवार्ड’, ‘सगरमाथा अवार्ड’, ‘लोक दोहोरी अवार्ड’लगायत राष्ट्रिय अवार्डसहित दर्जनौँ अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेकी छन् ।
संगीतको क्षेत्र व्यापक छ । संगीतले आम मानिसको कथाव्यथा कोकेको हुन्छ । त्यसलाई अभिनयमार्फत व्यक्त गर्नु आफैमा अप्ठ्यारो काम हो । धेरै मानिस यस क्षेत्रमा भविष्य खोजिरहेका छन् । तर सबै सफल हुन सकेका छैनन् । टिक्न सकेका छैनन् । जसले धैर्य गर्न सक्छ । अभिनयमार्फत दर्शकको मन जित्न सक्छ । उही यहाँ टिक्न सक्छ । बिक्न सक्छ । संगीतमा स्थापित हुनलाई अझै सक्दो संघर्ष गरिरहेको जुनाले बताइन् । अझै यस क्षेत्रमा सिक्ने धेरै कुरा बाँकी रहेको जुनाको भनाइ छ ।