काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ जस्पुरका अक्कलबहादुर गुरुङको परिवारका तीनै जना प्यारालाइसिस भएर थलिएका छन् । अकलबहादुरसहित उनकी श्रीमती र छोरा प्यारालाइसिस भएर थलिएको वर्षौं भइसकेको छ ।
जेठा छोरा १४ वर्षदेखि प्यारालाइसिस भएर थलामै छन् । अकलबहादुर सात वर्षदेखि प्यारालाइसिस भएर ओछ्यानमा छन् भने उनकी श्रीमती तीन वर्षदेखि प्यारालाइसिस भइन् । तीनै जना थलामै दिशापिसाब, थलामै खानपिन गर्नुपर्ने स्थितिमा छन् ।
अकलबहादुर र जेठा छोरा बोल्न सक्दैनन् । जतिबेला पनि अकलबहादुर ‘आमा आमा ...’ भनिरहेका हुन्छन् । अरू केही बोल्न सक्दैनन् । अलिअलि अकलकी श्रीमती बोल्न सक्छिन् । हिँडडुल गर्न सक्दैनन् ।
घरका सबै जना थला परेपछि उनीहरूको उपचार हुन सकेको छैन । आर्थिक अभावमा कहिलेकाहीँ त उनीहरूको खानपानमा समेत समस्या पर्ने गरेको छ ।
उनीहरूको हेरचाह छोरी फत्तकुमारी र ज्वाइँले गरिरहेका छन् । फत्तकुमारी भन्छिन्, ‘उपचार त गराउन सकिएन नै, भनेको समयमा राम्रो खान खुवाउन सकिएको छैन ।’
तीनै जनाको दिशापिशाब सोर्दासोर्दै हैरान भएको सुनाउने फत्तकुमारी पैसा भएसम्म त ‘डाइपट’ किन्ने गरेको बताउँछिन् । तर, अपांगता भत्ता र आफूहरूले मजदुरी गरेर कमाएको पैसाले खानाका लागि त धौधौ हुन्छ भने डाइपट र अरू सामान त परैको कुरा भयो ।
बेला–बेलामा जस्पुरकै आफन्तहरूले सघाउने गरेको उनले सुनाइन् । आफूहरू आएका बेला सामान ल्याइदिने गरेको सिकारी सदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङले बताए ।
कथा यात्राका क्रममा जसपुर पुग्दा एकै परिवारका तीन जना प्यारालाइसिस भएर थलामै रहेको फेला परेको हो । फत्तकुमारीले मिडियाले सार्वजनिक रूपमा घरको दयनीय स्थिति सार्वजनिक गरिदिँदा केही सहयोग जुट्थ्यो कि भन्ने आशा व्यक्त गरिन् ।
उनले भनिन्, ‘अहिलेसम्म जेनोतिनो धानिएको छ, यसरी कति दिन धानिएला र ।’