लन्डन । चर्चित लोकदोहोरी गायिका दिलु सलामी मगर यतिबेला सांगीतिक भ्रमणका क्रममा बेलायतमा छिन् । बागलुङ्गे समाज यूकेको निमन्त्रणामा चार महिनाअघि बेलायत आएकी उनी विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन व्यस्त छिन् । उनको यो पहिलो बेलायत भ्रमण हो ।

दिलु बागलुङको बडिगाड गाउँपालीका-१ दगा तुन्डाडामा जन्मिएकी हुन् । बाल्यकालदेखी संगीतमा रुचि थियो । स्कुलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा नाच्ने र गाउन थालिन् । देउसीभैलो कार्यक्रममा त उनको एकछत्र जस्तै थियो । गाउनु परे पनि दिलु। नाच्नु परे पनि दिलु । विभिन्न गाउँ हुँदै जिल्लासम्म लोकदोहोरीमा भाग लिन थालिन् । हरेक प्रतियोगितामा केही न केही पुरस्कार प्राप्त गर्थिन् । महेन्द्र मावि गुल्मी वामी टक्सारबाट एसएलसी दिइन् ।

त्यसपछि राष्ट्रिय उडान सुरु भयो । २०५७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालमा आयोजित राष्ट्रव्यापी गायन प्रतियोगितामा भाग लिइन् । नेपाल भरबाट करिब ४०० जनाले सहभागिता जनाएका थिए । त्यसमा उनले ६० जनामा नाम निकाल्न सफल भइन् । यो उनको औपचारिक सांगीतिक यात्राको प्रस्थानबिन्दु थियो ।
-1730823972.jpg)
त्यसपछि २०५८ सालमा पुकार दोहोरी साँझमा राजु परियार, बद्री पंगेनी र शर्मिला गुरुङसँग गाउन थालिन् । ३०० भन्दा बढी गीत गाएकी छन् ।
तीर्थ गन्धर्व र आइसिंह लामासँग गाएको गीत ‘तिम्लाई टाढा मलाइ नि टाढा’ निकै चर्चित छ । पछि थुप्रै एल्बम निकालिन् ।

‘मर्छु बाँच्दिन’, ‘मलेनाको रातो बरकी’, ‘बागलुङको कालीका’, ‘बैँसले हाइ भन्यो’, ‘होनी बरै’, ‘ढोरपाटन स्यालपाखे’, ‘शिरैको शिरफुल’, ‘भार्सेको देउरालीमा हावा सरर’लगायत दर्जनौँ गीत श्रोता तथा दर्शकको जनजिब्रोमा बस्न सफल छन् । यी गीतहरू ‘दिलु सलामी मगर’ र ‘यानीमाया रोदीघर’ युट्युब च्यानलबाट बजारमा आएका छन् ।

करिब १० वर्ष बेलुका दोहोरी गाउँदै बिहान सहकारीमा काम गरिन् । सात वर्ष लेकाली तास एन्ड थकाली भान्छा घर पनि सञ्चालन गरिन् । कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसाय धान्न सकस हुँदै गयो। ६ महिनाअघि उक्त व्यवसाय पनि बन्द गरिदिइन् ।

२०६९ सालदेखि नयाँ बसपार्कस्थित मित्रनगर नेपाल टेलिकम चोकमा यानिमाया रोदीघर सञ्चालन गरिरहेकी छन् । जहाँ हाल पनि ३० जनाले रोजगार पाइरहेका छन् । व्यवसाय थाल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन कठिन रहेको दिलुको अनुभव छ । ‘रोदीघर चाहिँ जसो तसो धानेकी छु,’ उनले भनिन्, ‘व्यवसाय गरेर टिकिराख्न निकै गाह्रो छ।’

