लन्डन । तमु धीं यूकेको निमन्त्रणमा ६ महिनाअघि बेलायत आएकी गायिका प्रिया गुरुङको एक समारोहबीच बिदाइ गरिएको छ ।
बेलायतको मिचेटस्थित तमु धीं यूके भवनमा शनिबार १ नोभेम्बर २०२५ मा तमु धीं युके र याङ्जाकोट परिवार यूकेले संयुक्त रुपमा प्रियाको बिदाइ कार्यक्रम आयोजना गरेका हुन् । दिउँसो ४ देखि राति १० बजेसम्म भएको कार्यक्रममा मनोरन्जन, प्रियाको भावुक मन्तव्यलगायत रहेको थियो ।

हेल्थ एन्ड सेप्टी, स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन गर्दै याङ्जाकोट परिवार यूकेका महासचिव दलबहादुर गुरुङले कार्यक्रमको ढोका उघारेका थिए । लगत्तै प्रियाले स्वागत गीत प्रस्तुत गरिन् भने पुनम गुरुङ र सीमा गुरुङले स्वागत नृत्य देखाए । त्यसपछि फेरि प्रिया मञ्चमा उक्लँदै नृत्य प्रस्तुत गरिन् ।
विभिन्न कार्यक्रम र मिडियामार्फत् प्रियाबारे जानकारी भइरहेकै थियो । तैपनि तमु धीं यूकेका ट्रस्टी, गीतकार तथा साहित्यकार एकेन्द्र गुरुङले आयोजकको तर्फबाट प्रियाको बारेमा बोलेका थिए ।

त्यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र नादा समाज यूकेका अध्यक्षको प्रतिनिधित्व गर्दै उत्तरबहादुर गुरुङले पनि प्रियाबारे चर्चा गरे ।
त्यसपछि तमु धीं यूके, नादा समाज यूके र याङ्जाकोट परिवार यूकेका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पालैपालो गरी प्रियालाई मायाको चिनो, खादाले लगाएर बिदाइ गरे । संस्थागत बिदाइ चरणपछि प्रियाका उपस्थित आफन्त, शुभचिन्तकहरुले सम्मानसहित बिदा गरेका थिए ।

बेलायतका नेपाली संघ संस्था, आफन्त र शुभचिन्तकको अपार माया र सम्मानपछि प्रियाले पनि नेपालबाट ल्याएको मायाको चिनो तमु धीं यूके र याङ्जाकोटका अध्यक्षहरुलगायतलाई दिएकी थिइन् । त्यस्तै उपस्थितहरुलाई ढाकाटोपी लगाइदिएर सम्मान गरेकी थिइन् ।
कार्यक्रमको बीच्चबीच्चमा प्रियाले मिठामिठा गीत गाएर मनोरञ्जन दिलाएकी थिइन् । उनलाई कलाकार कुमार गुरुङले साथ दिएका थिए ।

बिदाइ तथा सम्मान कार्यक्रममा प्रियाले संक्षिप्त मन्तव्य राखिन् । घरी आँसु झारै, घरी गला अवरुद्ध पार्दै हलमा उपस्थित अधिकांशको मन जितिन् । गायिका प्रियाले भनिन्,'धेरै सहयोग गर्नुभयो, म ऋणी छु । कसरी गुन तिरुँ ।' प्रियाको मन्तव्यको क्रममा हलको वातावरणा कतिपय बेला शान्त जस्तो, कतिपय क्षणमा गडगडाहट ताली गुन्जिएको थियो ।
प्रियाले आफूलाई बेलायतमा निमन्त्रणा गरेर यहाँको लोकप्रिय कार्यक्रम गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रिभोजजस्ता कार्यक्रममा प्रस्तुत दिन अवसर जुराएकोमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङसहित सबैमा धन्यवाद तथा आभार प्रकट गरिन् ।

६ महिना बेलायत बस्दा कुनै कार्यक्रम, यातायातको टेन्सन लिनु नपरेको अनुभव सुनाउँदै आफूलाई सहयोग गर्ने याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङ, दलबहादुर गुरुङ मामालगायत सबैप्रति धन्यवाद दिइन् । उनले ६ महिनामा बेलायती नेपाली समुदायबाट धेरै सिक्न पाएको भन्दै आफूबाट केही गल्ती भएमा माफी दिन आग्रह गरिन् । आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा राख्दै प्रियाले नेपाल फर्केपछि सांगीतिक कर्मलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
भनिन्, 'नेपाल गएर पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिन्छु । गुरुङ र नेपाली गीतहरु यहाँहरुमाझ अवश्य ल्याउनेछु ।' उनले विभिन्न कार्यक्रमका साथै बिदाइमा उपस्थित भएका सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रममा याङ्जाकोट आमा समूले बनाएको खाना खुवाइएको थियो । खाना र खाजाभुजा याङ्जाकोटले नै प्रायोजन गरेको हो ।

कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, महासचिव शान्ता गुरुङ, अप्सरा गुरुङ उपस्थित थिए ।
यस्तै तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, मेजर डमर घले एमबीई, आमा समूहकी पूर्वअध्यक्ष प्रेमा गुरुङ, तमु धीं यूकेका सल्लाहकार क्याप्टेन जीवनकुमार गुरुङ, भोज गुरुङ,कोषाध्यक्ष अरुण गुरुङ,फोटोग्राफर तेज गुरुङलगायत थिए ।
अन्य संस्थाहरु तमु फोरम यूकेका निर्देशक क्याप्टेन राजु गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, एनआरएनएका सल्लाहकार सूर्य गुरुङ, गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, गोर्खा मिडियाका मिलन तमु, तमुधीं यूकेका मिडिया सेक्रेटरी एसके गुरुङ,व्यवसायी शान्त गुरुङ थिए ।
यसैगरी भवानी गुरुङ बीइएम, समाजसेवी ओमेन्द्र गुरुङ, याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङलगायत सम्पूर्ण कार्यसमितिका दाजुभाइ, दिदीबहिनीहरु उपस्थित थिए ।



