मेडवे (युके) । गोर्खा नेपाली समाज मेडवे केन्ट (जीएनसीएम) ले बेलायतमा भव्य रूपमा तिहार उत्सव २०२६ मनाएको छ ।
शनिबार, ७ नोभेम्बरमा चाथामस्थित गोर्खा ब्रदर्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली समुदायसँगै स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो ।
नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र उपस्थित ज्येष्ठ नागरिकहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । समाजका उपाध्यक्ष उषा गुरुङले अध्यक्षता गरेको कार्यक्रममा अर्का उपाध्यक्ष इन्डीसेन राईले स्वागत मन्तव्य राखेका थिए ।
कोषाध्यक्ष चन्द्रवती राईले तिहारको सांस्कृतिक महत्त्व, यसका पाँच दिनको विशेषता तथा भाइटीकाको परम्पराबारे विस्तृत जानकारी दिए ।
यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु र धनकी देवी लक्ष्मीको पूजा-आराधना गरिने धार्मिक परम्परा रहेको छ। यस पर्वको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव र दीर्घायुको कामनालाई अझ प्रगाढ बनाउँछ । त्यस्तै, तिहारका अवसरमा खेलिने देउसी र भैलोले समाजमा मेलमिलाप र भाइचारा कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
प्रमुख अतिथि, जिलिङ्घाम तथा रेनहामकी सांसद माननीय नौशाबा खानले बेलायतमा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिरहेको भन्दै प्रशंसा गरिन् । उनले उपस्थित सबैलाई तिहारको शुभकामना व्यक्त गरेकी थिइन् ।
उत्सवका अवसरमा पूर्वमेयर तथा काउन्सिलर निना गुरुङ, नेपाली चलचित्रमा अभिनय गरी बेलायत फर्किएकी अभिनेत्री तथा युट्युबर सिर्जना निङ्लेकु र गोर्खा ब्रदर्सका नयाँ सञ्चालकहरूलाई खादा ओढाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
साथै, गत वर्षको ‘स्विप्स फेस्टिभल मेडवे’ मा नेपाली समुदायको प्रतिनिधित्व गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने समूह तथा नृत्य प्रशिक्षकहरू सविता र दुर्गासहितको टोलीलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा गायक सूर्यविक्रम राईले ‘कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ’ र ‘सुन भनन’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभएको थियो । यसैगरी, रोशन राई, सुमित्रा राई, चन्द्रवती राई, दृष्या राई र पदम गुरुङले नेपाली, अंग्रेजी तथा हिन्दी गीतहरू गाएर माहोललाई संगीतमय बनाएका थिए । दुर्गा राईको टोलीले आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।
अन्त्यमा सबै सहभागीहरू एकै ठाउँमा जम्मा भएर सामूहिक देउसी-भैलो खेलेका थिए । परम्परागत भाकामा आशीर्वाद दिँदै, नाच्दै र शुभकामना साटासाट गर्दै सहभागीहरूले परदेशमा पनि नेपाली मौलिक तिहारको रमझमलाई जीवन्त बनाएका थिए ।
महासचिव रोशन राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भूमिराज राईले साउण्ड व्यवस्थापन र कुमार गुरुङले सुरक्षाको जिम्मेवारी सम्हालेका थिए ।
-भूमिराज राई