लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले शनिबार रिमेम्ब्रान्स डे मनाएको छ ।
पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको सम्झनामा आयोजित कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेन सर्जरीमा विशेष समारोहबीच मनाइएको हो ।
एम्पायर हलको कार पार्कबाट ब्यान्डको साथमा मार्च पास सुरु भई प्रथम भीसी कुलवीर थापालगायत १४ भीसीको स्ट्याचुको अगाडी जम्मा भएका थिए ।
कार्यक्रम सञ्चालन संथाका महासचिव लेप्टेन सुनिल रानाले गरेका थिए । वरिष्ठ उपाध्यक्ष काउन्सिलर उत्तर गुरुङले स्वास्थ्य र सुरक्षा र प्रोटोकलबारे जानकारी गराए ।
कार्यक्रमको संयोजक क्या रि ग्यारी घलेले कार्यक्रमबारे संक्षिप्त जानकारी दिए । मौनधारण गरेपछि पाइपर धुन बजाइएको थियो । लामागुरुले मन्त्र पढी पूजा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली दूतावासको तर्फबाट सन्देश सुनाएका थिए ।
तमु धीं यूके, मगर संघ यूके, मोना यूकेका अध्यक्ष एवं प्रतिनिधि, ब्रिगेड अफ गोर्खाको नेतृत्व गरेर मेजर अनिल गुरुङ, गोर्खा मेजर विवेक शाहीसहित अफिसरहरू तथा रस्मूरका भीआईपी उपस्थित भएका थिए । सबै जनाले पालैपालो रिथ चढाएका थिए ।
अन्त्यमा लिला सेलिङ माबोले सबैलाई धन्यवाद दिँदै आगामी वर्ष पुन: भेट्ने वाचासहित कार्यक्रम समापन गरेकी थिइन् ।
उक्त कार्यक्रम सकिएलगत्तै तिहार मनाउने कार्यक्रममा भेला भएका थिए । जीआरएनसीले यूकेमा पहिलोपटक कुकुर तिहार मनाएको हो । जसमा पनि कार्यवाहक राजदूतसहित एमपीहरू सबैजना उपस्थित भएका थिए ।