यूके । रसुवामा आएको बाढीका कारण प्रभावित भएका नागरिकको सहयोगार्थ बेलायतमा च्यारिटी बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। ‘फाइट फर नेपाल’ नाम दिइएको यस परोपकारी अभियानमार्फत संकलन हुने रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
ग्राइन्ड हाउस बक्सिङ क्लब, टिम म्याक्सिमस फ्रिम्ले र स्थानीय सहयोगीहरूको संयुक्त पहलमा आगामी सन् २०२६ डिसेम्बर १८ तारिख शुक्रबारका दिन अल्डरशटस्थित एम्पायर हल (GU11 1DJ) मा उक्त प्रतियोगिता सञ्चालन हुनेछ। साँझ ६ बजेदेखि हलको ढोका खुला रहने यस प्रतियोगिताअन्तर्गत दुईवटा विशेष च्यारिटी भिडन्तहरू समावेश गरिएको छ, जसमा बेन र रिचर्ड तथा ग्यारेथ र निक रिङमा उत्रिनेछन्।
रसुवाका बाढीपीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन मानवीय भावनासहित यो अभियान थालिएको आयोजकको भनाइ छ।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूका लागि साधारण टिकटको दर प्रतिव्यक्ति ४० पाउन्ड र आठ जनाका लागि भिआइपी टेबलको दर ४५० पाउन्ड कायम गरिएको छ। यसैगरी, स्थानीय व्यापार-व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यसहित २०० पाउन्डको प्रायोजन (स्पोन्सरसिप) प्याकेज समेत घोषणा गरिएको छ, जसअन्तर्गत प्रायोजक व्यवसायको लोगो कार्यक्रमको आधिकारिक ब्यानरमा राखिनेछ। कार्यक्रमको टिकट बुकिङ वा प्रायोजनका लागि ०७९१७५५७१६९ मा सम्पर्क गर्न सकिनेछ भने भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूले गोफन्डमी (GoFundMe) लिङ्कमार्फत पनि सहयोग पठाउन सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
यस अभियानको सह-आयोजक रहेको ग्राइन्ड हाउस बक्सिङ क्लब बेलायतको फर्नबोरोमा नेपाली युवाहरू सौरभ राई र सुमन गुरुङद्वारा स्थापित क्लब हो। यस क्लबले बक्सिङ खेल, शारीरिक तन्दुरुस्ती (फिटनेस) र सामुदायिक भावनाका माध्यमबाट मानिसहरूलाई एकताबद्ध गर्दै आएको छ।
त्यस्तै, प्रतियोगिताको अर्को मुख्य हिस्सेदार क्याम्बरलीको फ्रिम्लेस्थित ‘म्याक्सिमस जिम एन्ड मार्सल आर्ट्स सेन्टर’ हो। बेन रिकउड सञ्चालक रहेको यस जिमले विगत १५ वर्षभन्दा लामो समयदेखि स्थानीय समुदायलाई सस्तो मूल्यमा फिटनेस, बक्सिङ तथा मार्सल आर्ट्सका सुविधासँगै सबैका लागि खुला र मैत्रीपूर्ण प्रशिक्षण वातावरण प्रदान गर्दै आएको छ। केवल फिटनेसमा मात्र सीमित नरहेर बलियो सामुदायिक उत्तरदायित्व वहन गर्दै आएको म्याक्सिमसले विभिन्न कोष संकलन कार्यक्रममार्फत हालसम्म स्थानीय तथा राष्ट्रिय स्तरका च्यारिटीहरूका लागि ३ लाख पाउन्डभन्दा बढी रकम जुटाइसकेको छ। समाजमा सकारात्मक प्रभाव पार्ने भिन्न पहिचान बनाएको यस संस्थाले यस पटक भने नेपाल र नेपालीको सहयोगका लागि हातेमालो गरेको हो।
यो कार्यक्रम केवल बक्सिङ प्रतियोगिताको एक साँझमा मात्र सीमित नभएर एउटा समावेशी समुदायका रूपमा सबैजना एकजुट हुने उत्कृष्ट अवसर भएको आयोजकले बताए। यस अभियानमार्फत समुदायमा आपसी सद्भाव र एकता मजबुत बनाउँदै मानिसहरूको दया र आत्मीयतालाई नेपालका पीडितहरूको सहयोगमा रूपान्तरण गर्ने लक्ष्य राखिएको उनीहरूले बताएका छन्।