लन्डन । बेलायतमा नेपालीहरूको साझा संस्कृति जोगाउने र श्रमको सम्मान गर्ने मूल उद्देश्यसहित ‘श्रम संस्कृति समाज, यूके (SSS UK)’ नामक नयाँ सामाजिक संस्था स्थापना भएको छ ।
गैर-राजनीतिक, सामाजिक र स्वयंसेवी संस्थाका रूपमा सन् २०२६ मा स्थापना भएको यस समुदायले आफ्नो औपचारिक शुभारम्भसँगै पहिलो महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशन आगामी नोभेम्बर १ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हल (Empire Hall, Aldershot, GU11 1DJ) मा हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ ।
बेलायतभर छरिएर रहेका नेपालीलाई एउटै ठाउँमा जोड्न र श्रम संस्कृतिलाई प्रवर्द्धन गर्न महाधिवेशन आयोजना गरिएको हो । यसमा सहभागी हुन चाहनेहरूले प्रतिव्यक्ति २० पाउन्ड तिर्नुपर्नेछ। उक्त शुल्कभित्रै खानाको व्यवस्था आयोजकले गर्नेछ ।
सहभागितालाई सहज बनाउन दुईवटा व्यवस्था गरिएको छ । इच्छुक व्यक्तिहरू कार्यक्रम स्थलमै पुगेर टिकट र सदस्यता लिन सक्नेछन् भने घरमै बसेर अनलाइन गुगल फारम भरेर पनि टिकट र सदस्यता लिन सकिने व्यवस्था मिलाइएको छ ।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी अभियन्ता श्रमदाता सन्तोष राई र संयोजक श्रमदाता मनोज पुनको टोलीले लिएको छ । टोली अहिले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न तयारीमा जुटेको छ ।
आयोजक टोलीले बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूलाई उक्त दिन एम्पायर हलमा उपस्थित भई ऐतिहासिक महाधिवेशनलाई सफल बनाइदिन आग्रह गरेको छ ।
-भुमिराज राई