बेलायत । बेलायतस्थित ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जिआरएनसी) ले नेपालको रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारको सहयोगार्थ सङ्कलन गरेको १४ हजार १९७ पाउन्ड ९ पेन्स (करिब २८ लाख ६७ हजार रुपैयाँ) नेपाली दूतावास लन्डनमार्फत हस्तान्तरण गरेको छ।
शुक्रबार, २३ अक्टोबर २०२६ मा लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा जीआरएनसीका प्रतिनिधिहरूले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई राहत रकमको चेक हस्तान्तरण गरे।
कार्यवाहक राजदूत दुवाडीले राहत अभियानमा सहयोग गर्ने जीआरएनसीसहित नेपाली तथा गैरनेपाली दाताहरूप्रति आभार व्यक्त गर्दै प्राप्त रकम लक्षित समुदायसम्म छिटो पुर्याउन पहल गर्ने बताए। उनले प्रारम्भिक राहतको व्यवस्थापन भए पनि प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक रहेको उल्लेख गरे।
जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले चाडपर्वको व्यस्तताका बीच राहत अभियानमा साथ दिने सबै दाताप्रति धन्यवाद व्यक्त गरिन्। उनले प्राकृतिक विपत्तिमा परेका परिवारलाई सहयोग गर्नु विदेशमा रहेका नेपालीको पनि साझा मानवीय दायित्व भएको बताइन्।
संस्थाका महासचिव अवकाशप्राप्त लेफ्टिनेन्ट सुनिल रानाका अनुसार सङ्कलित रकम नेपाली दूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने उद्देश्य रहेको छ। अभियानमा नेपाली समुदायका साथै बेलायती सरकारी निकाय, व्यावसायिक प्रतिष्ठान र विभिन्न सामाजिक संस्थाले सहयोग गरेका थिए।
संस्थाका अनुसार फार्नबरो विमानस्थल अभियानको सबैभन्दा ठूलो आर्थिक सहयोगकर्ता बनेको थियो। राहत अभियानमा रश्मोर बरो काउन्सिल, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा काउन्सिलर, फार्नबरो फुटबल क्लब, रोटरी क्लब अफ फार्नबरो/अल्डरसट, फ्रेन्ड्स अफ जीआरएनसी, फार्नहामस्थित मुस्लिम समुदाय, सोभरेन हस्पिटालर अर्डर अफ सेन्ट जोन अफ जेरुसेलम तथा विभिन्न नेपाली सङ्घसंस्था र जीआरएनसीका सदस्यले योगदान गरेका थिए।
रसुवामा बाढीले जनधनको क्षति पुर्याएपछि रश्मोर बरो काउन्सिलका प्रमुख कार्यकारी अधिकृत, फार्नबरो विमानस्थललगायत गैरनेपाली शुभेच्छुकहरूले सहयोग जुटाउन जीआरएनसीलाई आग्रह गरेका थिए। सोहीअनुसार संस्थाले बाढीपीडितका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको हो।
सन् २००३ मा बेलायतको सैनिक सहर अल्डरसटमा स्थापना भएको जीआरएनसीले रश्मोर क्षेत्र तथा आसपास बसोबास गर्ने नेपाली समुदायको सामाजिक हित, कल्याण र सामुदायिक एकताका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाको यस अभियानले नेपालमा विपत्ति पर्दा नेपाली र बेलायती समुदायबीचको सहकार्य तथा मानवीय सम्बन्धलाई थप बलियो बनाएको छ।
राहत सङ्कलनमा साथ दिने संस्था
* फार्नबरो विमानस्थल (Farnborough Airport)
* रश्मोर बरो काउन्सिल, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा काउन्सिलरहरू
* फार्नबरो फुटबल क्लब
* रोटरी क्लब अफ फार्नबरो/अल्डरसट
* फ्रेन्ड्स अफ जीआरएनसी
* फार्नहामस्थित मुस्लिम समुदाय
* सोभरेन हस्पिटालर अर्डर अफ सेन्ट जोन अफ जेरुसेलम
* विभिन्न नेपाली सङ्घसंस्था तथा जीआरएनसीका नेपाली सदस्यहरू