बेलायत । तमुधीं यूकेले आजीवन सदस्यहरूप्रति सम्मान, कदर र संस्थामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै आयोजना गर्दै आएको आजीवन सदस्य रात्रिभोज कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ। गत शनिबार १८ अक्टोबर २०२६ मा एम्पायर हल अल्डर्सटमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा तमु प्ये ल्हुसंघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रम अपराह्न ४ बजे सुरु भएर राति १२ बजे समापन भएको थियो। संस्थाले हरेक वर्ष आफ्ना आजीवन सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरी रात्रिभोज आयोजना गर्दै आएको छ। कार्यक्रममा संस्थाका मानार्थ सदस्य, बेलायतका विभिन्न बरोका नेपाली मेयर तथा काउन्सिलरलगायतको उपस्थिति थियो।
अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, क्याप्टेन राजु गुरुङ र कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। त्यसपछि नेपाल, बेलायत र तमु समुदायका राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। हालैका दैवी प्रकोपमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा नयाँ आजीवन सदस्यलाई स्वागत तथा सम्मान गर्नुका साथै उत्कृष्ट तमु तमुश्यो पहिरनमा पुरुषतर्फ कुलचन्द्र गुरुङ प्रथम बिर्बल गुरुंग दोश्रो त्यस्तैगरी महिलातर्फ बिनु गुरुङ प्रथम र यामकुमारी गुरुङ दोश्रो भई पुरस्कृत गरिएको थियो। तमुधीं यूकेलाई विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको कार्यक्रममा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोच्च कदरपत्र ‘आदर्श तमु र तमुस्यो’ अवार्ड यस बर्ष सल्लाहकारहरु सन्त कुमार गुरुङ, कोलप्रसाद गुरुङ, बेनकुमार गुरुङ, ललितमान गुरुङ, ह्यारी गुरुङ चन्द्रबहादुर गुरुङलाई “आदर्श तमु २०२६” त्यस्तै गरी समाजसेवी तथा कार्यसमितिका पूर्ब सदस्य लिडियी गुरुङ र समाज सेवी बिन्दु गुरुङलाई “आदर्श तमुश्यो २०२६” बाट सम्मान गरियो ।


तमुधीं यूकेलाई निरन्तर सहयोग गरिरहनु हुने केही व्यक्तित्वहरुलाई पनि बिशेष सम्मान गरिएको थियो । तमुधीं यूकेको दक्षिएन पूर्बी ईलाकाका सेभेन सिस्टर्सले चिनिएका ८ दिदीबहिनीहरु पार्बती (माइला) गुरुङ, कमला गुरुङ, बिष्णु गुरुङ, कमला गुरुङ, तारा, कमला, बेनिता, लक्ष्मी गुरुङ, जंगबहादुर गुरुङ र काठमाडौमा होटेल व्यवसायी गर्ने बिजय गुरुङलाई बिशेष सम्मान गरियो ।
कार्यक्रममा तमुधीं यूकेको परिचय, विगतमा ‘आदर्श तमु र तमुस्यो’ पदकबाट सम्मानित व्यक्तित्व, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको गतिविधि तथा भोटेकोशी बाढीपीडितलाई राहत वितरण र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्न नेपाल गएको तमुधीं यूकेको ६ सदस्यीय टोलीले गरेका गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो।
कार्यक्रममा तमुधीं यूकेका ट्रस्टी, पूर्वप्रधानाध्यापक, साहित्यकार, चलचित्र निर्माता तथा गीतकार एकेन्द्र गुरुङको रचनामा पवित्र गुरुङको स्वर रहेको गीत विमोचन गरिएको थियो। त्यसैगरी तमुधीं लन्डन इकाइका महासचिव तथा युवा साहित्यकार विकास (रक) गुरुङको रचनामा पवित्र गुरुङले स्वर दिएको ‘हे भगवान् के विपत् हो यो’ गीत पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा भाग्योदय चिट्ठासमेत सञ्चालन गरिएको थियो।
संस्थाकी सांस्कृतिक सहसचिव बिनु गुरुङको संयोजकत्वमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायिका पवित्र गुरुङ र प्रिय गुरुङले गायन प्रस्तुत गरेका थिए। नेपालबाट आएका नर्तक शिवदास गुरुङ तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा सहभागीहरूले गायन, नृत्य र सांस्कृतिक प्रस्तुतिको भरपूर मनोरञ्जन लिएका थिए।
संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी र कार्यक्रमका सभापति तथा अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रममा मन्तव्य राखेका थिए।
कार्यक्रमले तमुधीं यूके परिवारबीचको एकता, सद्भाव र आपसी आत्मीयतालाई थप बलियो बनाउँदै संस्थालाई निरन्तर अघि बढाउन सामूहिक योगदानको महत्त्व उजागर गरेको थियो। कार्यक्रमको सञ्चालन महासचिव डा. विशाल गुरुङले गरेका थिए भने संयोजन वरिष्ठ उपाध्यक्ष परशु गुरुङले गरेका थिए।
