भूमिराज राई
मेडवे, केन्ट । नेपालीहरूको महान् चाड बडा दशैंको पावन अवसरमा गोर्खा नेपाली समाज मेडवे (GNCM) ले शनिबार, १७ अक्टोबर २०२६ का दिन 'दशैं उत्सव २०२६' भव्य रूपमा सम्पन्न गरेको छ ।
केन्टको जिलिङ्घाम स्थित ब्रम्पटन वेस्टब्रुक प्राइमरी स्कूलको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागी समुदायका अगुवा तथा स्थानीय बेलायती प्रतिनिधिहरूले नेपालको भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका पीडितहरूप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् ।
सन् २००८ मा स्थापित यस GNCM - (Gurkha Nepalese Community Medway)संस्थाले बेलायतको केन्ट मेडवेमा बसोबास गर्ने नेपालीहरूबीच भाइचारा, सांस्कृतिक जगेर्ना र आपसी एकता सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष विविध कार्यक्रम सहित दशैं र तिहारको अवसरमा सामुहिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको दशैं कार्यक्रम साँझ ४:३० बजे सुरु भई राति ११:०० बजेसम्म सांस्कृतिक र सांगीतिक प्रस्तुतिका साथ सम्पन्न भएको थियो ।
समारोह महा-सचिव रोशन राईले सुरक्षा सम्बन्धी जानकारी गराउनु हुँदै शुरु भएको थियो I केहि परेको खण्डमा सुरक्षा तथा आकस्मिक व्यवस्थापनमा (NHS नर्स) प्राथमिक उपचारमा दुर्गा राई सहित कुमार गुरुङ र उत्तर पतङ्वा खटिएका थिए ।
साउन्ड अपरेटर भूमीराज राईले नेपाल र बेलायतको राष्ट्रिय गान बजाएपछि प्रमुख अतिथि डेपुटी मेयर काउन्सिलर शेरोन ज्याक्सन र कार्यवाहक अध्यक्ष इन्डीसेन राई सहित कार्यक्रममा उपस्थित ज्वेष्ठ नागरिक जगबीर थापा मगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
सह-कोषाध्यक्ष पुष्पा राईले स्वागत मन्तव्य राख्दै दशैंको महत्वमाथि प्रकाश पारेका थिए । उनले दशैं केवल खानपिन र रमाइलोमा मात्र सीमित नरहेर पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, अग्रजको आशीर्वाद र सामाजिक सम्बन्ध प्रगाढ बनाउने पवित्र अवसरका साथै असत्य माथि सत्यको बिजयको उत्सब भएको बताए ।
अध्यक्ष ज्ञानेन्द्र राई व्यक्तिगत भ्रमणको सिलसिलामा नेपालमा रहनु भएकाले उपाध्यक्ष इन्डीसेन राईले कार्यवाहक अध्यक्षको रूपमा कार्यक्रमको अध्यक्षता गरेका थिए ।
कार्यक्रममा डेपुटी मेयर स्यारोन ज्याक्सन, रोचेस्टर एन्ड स्ट्रुडकी (लेबर पार्टी) सांसद लरेन एडवर्ड्स, मेडवे काउन्सिल लिडर भिन्स मापल, काउन्सिलर ग्यारेथ माइलोन, सल्लाहकार तथा पूर्व मेयर काउन्सिलर निना गुरुङ्, पूर्व मेयर काउन्सिलर मारियन नास्ट्रोभ र उनकी धर्मपत्नी काउन्सिलर ल्युबोभ नास्ट्रोभ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो । अतिथि, नेपालबाट आएका पाहुना र नयाँ सदस्यहरूलाई कार्यवाहक अध्यक्ष र सह-कोषाध्यक्षले खादा र ब्याज लगाएर सम्मान गरेका थिए ।
सोही अवसरमा शैक्षिक र खेलकुदमा उत्कृष्टता हासिल गर्ने युवाहरूलाई सम्मान गरिएको थियो । जीसीएसईमा ८ A*, २ A र B ल्याउने प्रतिक जङ राई (रोशन राई र दिव्या राईका छोरा), ३ A* ३A ल्याउने संयम राई(सोम राई र रोश्नि राईका छोरा), ए-लेभलमा कम्प्युटर साइन्स A*, म्याथ A, फिजिक्स A र फर्दर म्याथमा B ल्याउने एरोज राई (सृष्टि राई र भूमिराज राईको छोरा), इभा राई 2 Distinctin 1A ल्याउने (चन्द्रावती तथा रामचन्द्र राईकी छोरी), स्तम्भ राई २ Distinction* र १ A ल्याउने (ईश्वर चाम्लिङ र दिप्तिया राईको छोरा) हरूलाई उत्कृष्ठ शैक्षिक उपलब्धिका लागि प्रशंसा-पत्र प्रदान गरियो ।
२४ घण्टाभित्र 'थ्री पिक च्यालेन्ज' पूरा गर्ने शशिकला राई, आशा थापा, कृष्णा गुरुङ र ५० किमीको 'केन्ट डाउन अल्ट्रा च्यालेन्ज' पूरा गर्ने सल्लाहकार चेत थापालाई पनि विशेष सम्मान गरिएको थियो ।
सांस्कृतिक सचिव जयकला राईको संयोजनमा भएको सांस्कृतिक कार्यक्रममा सागर गुरुङ, नुवामी राई र सर्बिना मगरले 'सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल' गीतमा नृत्य तथा दुर्गा राई, नुवामी राई र सर्बिना मगरले लोकप्रिय नेपाली गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुर्य बिक्रम राई, सुमित्रा राई, दृष्या राई लगायत गायक गायिकाहरुले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मुख्य सांगीतिक आकर्षणमा "इन्टेक ९९" का प्रसिद्ध गायक मिलन गोम्जा लामा थिए । उनले आफ्नो चर्चित गीत 'मनकामना केवल कार' लगायत नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरी दर्शकलाई झुमाएका थिए । मेडवे काउन्सिल लिडर भिन्स मापलले समेत 'द बीटल्स' को गीत प्रस्तुत गरी थप रौनक थप्नुभएको थियो ।
सहभागीहरूका लागि गोर्खा ब्रदर्स रेस्टुरेन्टद्वारा सेल रोटी, पोर्क भुटुवा, चिकेन करी, मासको दाल र खसीको मासु (Goat Meat Curry) लगायत परम्परागत परिकारको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको अर्को आकर्षण पुष्पा राई र शशि राईले राफल ड्र सञ्चालन गर्नुभएको थियो । बिभिन्न प्रायोजकहरु लगायत स्थानीय ग्रोसरी पसल भारत स्टोर्स द्वारा उपलब्ध भौचर र नगद पुरस्कार समेत रहेको राफल ड्रमा धेरैले आकर्षक पुरस्कार जितेका थिए ।
औपचारिक कार्यक्रमको समापन मन्तब्य राख्नु हुँदै कार्यवाहक अध्यक्ष इन्डीसेन राईले कार्यक्रम सफलपार्न सहयोग पुर्याउने, अतिथि, राफल पुरस्कार प्रायोजक, कार्यसमिति र क्याटरिङ टोलीलाई धन्यवाद दिए । मौकाको सदुपयोग गर्दै उहाँले गोर्खा नेपाली समाज मेडवेले गर्दै आएको बार्षिक कार्यक्रम लगायतका बिषयहरुका बारेमा थप जानकारी दिंदै आगामी कार्यक्रमको छोटो सूचना सहित कार्यक्रम समापन गरेका थिए ।
Photo: Sujan Shrestha