रेडिङ । सेती–मादी डाँडा गाउँले समाज यूकेले ३ अक्टोबर २०२६ मा भव्य रूपमा दशैँ उत्सव मनाएको छ।
बेलायतको रेडिङस्थित तमु प्ये ल्हु सङ्घको भवनमा आयोजित उक्त कार्यक्रममा नर्दन आयरल्याण्डदेखि यूकेको विभिन्न भूभागसम्म बसोबास गर्ने करिब १५० जना सदस्यको उल्लासपूर्ण उपस्थिति थियो ।
नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा समाजका अध्यक्ष हस्तबहादुर गुरुङ तथा समाजको संस्थापक मेजर लोकबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
उपाध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैलाई बडादशैँ तथा तिहारको शुभकामना दिए । उनले यस वर्ष दिवङ्गत भएका समाजका सदस्य र भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै, दशैँ–तिहार मनाउन नेपाल जाने गाउँलेलाई प्रतिकूल मौसम तथा यात्राका क्रममा हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरे ।
शुभकामना मन्तव्यका क्रममा समाजका संस्थापक मेजर लोकबहादुर गुरुङले समाजको स्थापना, नामकरण, पहिचान र महत्त्वबारे प्रकाश पारे । त्यसैगरी, समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार रामराज मल्लले स्थापनाकालदेखि हालसम्म समाजले सञ्चालन गरेका गतिविधि, सामाजिक सेवा र हासिल गरेका उपलब्धिहरूको स्मरण गरे ।
यस वर्षको दशैँ उत्सवको प्रमुख आकर्षणमध्ये स्वास्थ्य शिविर पनि एक रह्यो । समाजका सल्लाहकार डा. रूपक श्रेष्ठको संयोजनमा आयोजित शिविरमा समाजकै स्वास्थ्यकर्मीहरू डा. प्राप्ति गुरुङ, डा. आश्विनी गुरुङ र फिजिसियन एसोसिएट श्रद्धा श्रेष्ठले स्वयंसेवकका रूपमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।
शिविरबाट करिब ७० जना बुवा–आमा तथा दाजुभाइले स्वास्थ्य परीक्षण गराई लाभ लिए । बेलायतमा सरकारी स्वास्थ्य सेवा उपलब्ध भए पनि उपचारका लागि लामो समय कुर्नुपर्ने र भाषागत कठिनाइका कारण कतिपय ज्येष्ठ नागरिकले चिकित्सकसमक्ष आफ्ना स्वास्थ्य समस्या स्पष्ट रूपमा राख्न कठिनाइ भोग्नुपरेको अनुभव सुनाए । यस्तो अवस्थामा समाजले आयोजना गरेको स्वास्थ्य शिविर उपयोगी र सराहनीय रहेको भन्दै सहभागीले प्रशंसा गरे ।
समाजप्रतिको सेवा र योगदानको कदर गर्दै स्वयंसेवक स्वास्थ्यकर्मीहरू डा. प्राप्ति गुरुङ, डा. आश्विनी गुरुङ र फिजिसियन एसोसिएट श्रद्धा श्रेष्ठलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । उक्त मायाको चिनो समाजका सदस्य रुबी श्रेष्ठ र कञ्चन श्रेष्ठले प्रायोजन गरेका थिए ।
बेलायतको डार्बिसायरमा उनीहरूले सञ्चालन गरेको ‘डेकोर बग’ (The Decor Bug) कम्पनीले विवाह तथा विभिन्न उत्सवका लागि सजावट र साइनेजसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्यकर्मीहरूको सम्मानका लागि मायाको चिनो प्रायोजन गरी सहयोग पुर्याएकोमा श्रेष्ठ दम्पतीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका एक ज्येष्ठ नागरिक श्री प्रेम बहादुर गुरुङलाई सम्मान गरिएको थियो । ८३ बर्षिय गुरुङ भिर्चोक चिसपानीको स्थायी बासिन्दा हाल यूके, रेडिङमा बसोबास गर्दै आएका छन् ।
त्यसैगरि उच्च शिक्षा हासिल गरेका युवा कञ्चन गुरुङ र कल्पना गुरुङ तथा वैवाहिक जीवनमा प्रवेश गरेका अन्जिता मल्ल र धनराज शाहीलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
नेपालबाट आएकी लोकगायिका शर्मिला गुरुङ ‘सरु’लाई पनि समाजका तर्फबाट खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । उनको सुमधुर स्वर र लोकगायनले कार्यक्रममा थप रौनक ल्याएको थियो । यसले मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली लोक संस्कृतिप्रतिको आत्मीयता अभिवृद्धि गरेको थियो ।
कार्यक्रमको समापनमा समाजका अध्यक्ष हस्तबहादुर गुरुङले उपस्थित सम्पूर्ण गाउँले बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आभार व्यक्त गरे । साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै उत्सवको औपचारिक समापन गरे ।
कार्यक्रमको सञ्चालन रामराज मल्लकी छोरी अन्जिता मल्लले गरेकी थिइन् । समाजको यस वर्षको दशैँ उत्सवले प्रवासमा नेपाली चाडपर्व, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै गाउँलेहरूबीचको आत्मीयता, आपसी सहयोग र सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान र सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न उत्सवले समाजको सामाजिक उत्तरदायित्व र सामुदायिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ ।
नेपालको गण्डकी क्षेत्रअन्तर्गत सेती र मादी नदी आसपासका कास्की, तनहुँ तथा लमजुङ जिल्लाका गाउँलेबीच प्रवासमा आपसी सद्भाव, एकता र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले सन् २००८ मा समाजको स्थापना भएको थियो ।
मेजर लोकबहादुर गुरुङको परिकल्पनामा डा. रूपक श्रेष्ठ, मेजर रूद्र खड्का, डा. सुरेन्द्र श्रेष्ठ, रूद्र गुरुङ, खर्क गुरुङ, रामराज मल्ल, बबिन गुरुङ, भोगेन्द्र गुरुङ, खेम गुरुङ तथा प्रेम गुरुङको सदस्यता रहेको समितिद्वारा स्थापित समाजका संस्थापक अध्यक्ष क्याप्टेन धनवीर गुरुङ रहेका थिए ।
त्यसपछि डा. रूपक श्रेष्ठ, रामराज मल्ल, टेकनसिंह गुरुङ, रुद्रबहादुर गुरुङ, पूर्णवीर गुरुङ र तेजबहादुर गुरुङले क्रमशः अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सन् २०२४ देखि हस्तबहादुर गुरुङले समाजको नेतृत्व गर्दै आएका छन् ।