लन्डन । ७ गोर्खा राइफल्सका अफिसर तथा सबै दर्जाका सैनिकहरूको योगदान, साहस र बलिदानको सम्मानमा लन्डनस्थित St Paul’s Cathedral को Kitchener Room मा ऐतिहासिक स्मारक अनावरण गरिएको छ । सन् १९०२ देखि १९९४ साल सम्मको इतिहास बोकेको उक्त पल्टनका राष्ट्रसेवामा समर्पित सैनिकहरूको स्मृतिमा १० अक्टोबर २०२६ मा स्मारक अनावरण गरिएको हो ।
भारतमा Field Marshal The Earl Kitchener द्वारा स्थापना गरिएको ७ गोर्खा राइफल्स पछि ७ Duke of Edinburgh’s Own Gurkha Rifles का रूपमा चिनिएको थियो । पल्टनमा रहेर सेवा गरेका तथा राष्ट्र र कर्तव्यका लागि जीवन बलिदान दिएका सैनिकहरूको सम्झनालाई चिरस्थायी बनाउने उद्देश्यले स्मारक स्थापना गरिएको हो । ऐतिहासिक समारोहमा उक्त पल्टनमा सेवा गरेका पूर्वअफिसर, विभिन्न दर्जाका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका सदस्य गरी करिब ४०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सैनिकहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो ।
स्मारकमा ‘In Memory of the Officers and All Ranks of the 7th Gurkha Rifles Later 7th Duke of Edinburgh’s Own Gurkha Rifles’ लेखिएको छ । त्यसमा पल्टनको स्थापना सन् १९०२ मा भारतमा Field Marshal Earl Kitchener द्वारा गरिएको उल्लेख गर्दै राष्ट्रको सेवामा समर्पित भएका र जीवन बलिदान दिएका सैनिकहरूको सम्झनामा स्मारक निर्माण गरिएको सन्देश समेटिएको छ ।
स्मारकमा गोर्खाली सैनिकहरूको वीरता र स्वाभिमान झल्काउने ‘काफर हुनु भन्दा मर्नु निको’ भन्ने ऐतिहासिक भनाइसमेत अङ्कित गरिएको छ। उक्त भनाइले गोर्खाली सैनिकहरूको साहस, कर्तव्यनिष्ठा र बलिदानको भावनालाई प्रतिबिम्बित गर्छ । कार्यक्रममा वीरगति प्राप्त सैनिकहरूको आत्माको चिरशान्ति र उनीहरूको योगदानको सम्मानमा इसाई, हिन्दू तथा बौद्ध धर्मपरम्पराअनुसार प्रार्थना गरिएको थियो ।


त्यसपछि राष्ट्र र कर्तव्यका लागि जीवन उत्सर्ग गर्ने सैनिकहरूको साहस, त्याग, वीरता र योगदानका प्रसङ्गहरू स्मरण गरिएको थियो । समारोहका क्रममा सैनिकहरूको परिवार र सन्तान भावुक बनेका थिए । आफ्ना प्रियजनले राष्ट्रसेवामा पुर्याएको योगदान सम्झँदा उनीहरूको आँखामा आँसु देखिएको थियो । ती भावनाले सैनिक परिवारमा रहेको आत्मीयता, विछोडको पीडा र आफ्ना प्रियजनको बलिदानप्रतिको गर्वलाई उजागर गरेको थियो। कार्यक्रमको अन्त्यमा नेपाली परम्परागत खानपानको व्यवस्था गरिएको थियो । त्यस अवसरमा लामो समयपछि भेटिएका पुराना सहकर्मी तथा साथीभाइबीच आत्मीय भेटघाट र भलाकुसारी भएको थियो । सैनिक जीवनका पुराना अनुभव र स्मरणीय क्षण आदानप्रदान गर्दा समारोहले सहभागीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको थियो ।
ऐतिहासिक स्मारक अनावरण कार्यक्रमलाई सफल बनाउन अग्रसरता लिने व्यक्तित्व, आयोजक, प्रायोजक तथा विभिन्न तहबाट आर्थिक, भौतिक र नैतिक सहयोग पुर्याउने सबैप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ ।
गोर्खाली सैनिकहरूको साहस, त्याग, कर्तव्यनिष्ठा र बलिदानलाई जीवन्त राख्ने उद्देश्यले गरिएको स्मारक अनावरणले भावी पुस्तालाई पनि राष्ट्रसेवा र समर्पणको प्रेरणा दिने विश्वास गरिएको छ।


