सुमलकुमार गुरुङ
बेलायत । तमू लम परिवार यूकेले १० अक्टुबर २०२६को दिनमा एम्पायर हल, अल्डरशटमा भव्यताको साथ संस्थाको प्रथम वार्षिक भेला सम्पन्न गरेको छ । गतवर्ष तदर्थ समिति गठन गरेर यूकेमा बसोबास गरिरहेका लामा (लम) थरिका सम्पूर्ण परिवारहरूको लागि लम परिवार यूके (Tamu Lama Pariwar UK) को पहिलो अधिवेशन १२ सेप्टेम्बर २०२६को दिनमा रामचन्द्र गुरुङ (सुर्जे) को अध्यक्षतामा पहिलो कार्यकारी समितिको गठन भएको छ । संस्थाको विधान अनुसार सम्पन्न भएको प्रथम ऐतिहासिक वार्षिक भेलाको प्रमुख अतिथिमा तमूधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई निम्त्याईएको थियो ।
संस्थाको अध्यक्ष, रामचन्द्र (सुर्जे) गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक पहिलो चरणलाई संस्थाका महासचिव कुमार (एसके) गुरुङले निकै सटिक ढंगले सञ्चालन गरेका थिए । साँझ ६ बजेबाट प्रारम्भ भएको कार्यक्रममा सबैभन्दा पहिले संस्थाका वयोवृद्ध सल्लाहकार गणेश गुरुङद्वारा तमू लम परिवारका पितृहरू सबैलाई स्मरण गरेर श्रद्धान्जली अर्पण गरे साथै प्रमुख अतिथि, जुमकाजी गुरुङ, संस्थाका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, कार्यक्रम संयोजक क्याप्टेन सूर्यप्रकाश गुरुङ र संस्थाकी महिला अध्यक्ष बिनु गुरुङले सामुहिक रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरेका थिए । पितृहरूलाई श्रद्धान्जली अर्पण गर्दा लम परिवारका वरिष्ठ धर्मगुरु लोपेन कर्मा गुरुङ र उनका सहयोगी लम पितृहरूलाई आव्हान गरेर मोनलम (प्रार्थना) वाचन गरेका थिए ।
द्वीप प्रज्वलन पश्चात स्व. घनबहादुर गुरुङ रचित तमू राष्ट्रिय गानको लागि सबैजना उभिएर सम्मान व्यक्त गरेका थिए । चेलीहरूद्वय हेलिसा गुरुङ र बिनु गुरुङको मनमोहक आकर्षक स्वागत नृत्य पश्चात कार्यक्रम संयोजक क्याप्टेन सूर्याप्रकाश गुरुङले सारगर्भित स्वागत मन्तव्यमार्फत सम्बोधन गरेका थिए । कार्यक्रममा आउने तमू लम परिवारका सबै ज्वाँईचेलीलाई लम परिवार यूकेका माइती सदस्यहरूले खादा पहिर्याएर आगमन द्वारमा स्वागत गरेका थिए ।
साँझको भोजनको दौरान नेपालबाट तमू लम परिवार यूकेको निम्तोमा आएका राष्ट्रिय गायिका पवित्र गुरुङ र प्रिया गुरुङले आधुनिक नेपाली तथा गुरुङ गीतहरू गाएर साँझ अत्यन्तै रमाईलो पारेका थिए । भोजन पश्चात दोस्रो चरणको सम्मान कार्यक्रमका लागि मञ्चमा उद्घोषण चेली हेलिसा गुरुङ र संस्थाका उपाध्यक्ष युनिल गुरुङले गरेका थिए । पहिलो तमू लम परिवार यूकेले शिक्षा क्षेत्रमा र अन्य समाज र भाषा साहित्यमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेका थिए ।
सम्मानका लागि प्रमुख अतिथि, संस्थाका अध्यक्ष र महिला अध्यक्षले ती सम्मान प्राप्त गर्ने व्यक्तिहरूलाई क्रमिक रुपमा खादा, शल र पुष्पगुच्छद्वारा सम्मान गरेका थिए । सन् २०२६सालमा उपलब्धि हासिल गरेका सम्मान प्राप्त गर्नेहरूमा क्रमश: डा. कृष्टिना गुरुङ (क्लिनिकल सर्जरीमा चिकित्सक), मिस लुना गुरुङ (बिएस्सी नेचरल साईन्स), काउन्सिलर उत्तरबहादुर गुरङ (वेलिङ्टन वार्ड, अल्डरशटमा हालै काउन्सिलरमा चयन भएको) र अन्तमा वरिष्ठ साहित्यकार र समाजसेवी, बुद्धचार्य सुमलकुमार गुरुङलाई उनको साझा प्रकाशनबाट भर्खरै प्रकाशन भएको युद्ध उपन्यास "कर्मबीर"का लागि सम्मान गरेका थिए । यसै दौरान मञ्चमा आसीन व्यक्तिहरूको बाहुलीबाट सुमलकुमार गुरुङको कृतिपनि लोकार्पण गरेका थिए । सुमलकुमार गुरुङले केही थान आफ्नो नवकृति उपन्यास हलमा उपस्थित पढ्न ईच्छुक व्यक्तिहरूलाई नि:शुल्क वितरण गरेका थिए । अध्यक्ष रामचन्द्र गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर औपचारिक कार्यक्रम समापन गरेका थिए ।
त्यसपछि विविध मनमोहक नृत्यहरू र गीतहरूको प्रस्तुतिमा सबै रमाएका थिए । नेपालबाट आएका राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिमा लम परिवार यूकेका सदस्यहरू र अतिथिहरू नाच्दै झुमेका थिए । अन्तमा राफल ड्रको नतिजा पश्चात कार्यक्रम सकिएको थियो । राफलका प्रायोजकहरूमा क्रमश: प्रथम पुरस्कार सुनको चन्द्रमा जयश्री कृष्ण ज्वेलरी, दोस्रो पुरस्कार २०० पाउण्ड ए स्टार फाईनेन्स, तेस्रो पुरस्कार १५० पाउण्ड बुद्ध मोर्गेजेज् र चौथो पुरस्कार दिदि लण्डनले प्रायोजन गरेका थिए ।

