लन्डन । बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) जनरल सर रोली वाकर र नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक राज सिग्देलबिच भेटवार्ता भएको छ ।
बेलायती सेनाको एन्डोभरस्थित मुख्यालयमा भएको भेटमा सैन्य शिक्षा र व्यावसायिक विकासका साथै दुई देशबीचको लामो समयदेखिको सैन्य साझेदारीबारे छलफल भएको थियो ।
प्रधानसेनापति सिग्देलले बेलायती सेना प्रमुखलाई आधुनिक नेपालका संस्थापक राजा पृथ्वीनारायण शाह (सन् १७२३–१७७५) को तरबारको मिनिएचर (प्रतिकृति) उपहारस्वरूप प्रदान गरेका थिए । बेलायती सेना प्रमुखले बेलायती सेनामा गोर्खा सैनिकहरूले खेलेको महत्वपूर्ण भूमिकाप्रति गहिरो प्रशंसासमेत व्यक्त गर्नुभएको छ।
उक्त उपहारमा कुँदिएको विवरणअनुसार, एकता, साहस, दूरदर्शिता र नेतृत्वको प्रतीक मानिने यो ऐतिहासिक तरबारले अपार ऐतिहासिक सम्मान बोकेको छ । यसलाई घनिष्ठ मित्रताको चिनोको रूपमा प्रस्तुत गरिएको छ । बेलायती सेना प्रमुखले पनि सिग्देललाई प्रतीकात्मक उपहार प्रदान गरेका थिए ।
दुई सेना प्रमुखको भेटवार्ताले बेलायत र नेपालबीचको साझा इतिहास, पारस्परिक सम्मान तथा बेलायती र नेपाली सेनाबीचको निरन्तर सहयोगमा आधारित घनिष्ठ एवं पुरानो रक्षा साझेदारीलाई झल्काएको छ ।
यसअघि ६ अक्टोबरमा प्रधानसेनापति सिग्देलले बेलायती रक्षा मन्त्रालयमा लेफ्टिनेन्ट जनरल सर चार्ली कोलिन्स र लेफ्टिनेन्ट जनरल पल ग्रिफिथसँग भेटवार्ता गरेका थिए ।
दुवै सेनाले तालिम, आदानप्रदान र सहयोगका अन्य माध्यमबाट बेलायती र नेपाली सेनाका कर्मचारीलाई लाभ पुग्ने किसिमले विशेषज्ञता प्रदान गर्दै आएका छन् ।
यसैगरी, भेटका क्रममा नेपालको नुवाकोट जिल्लामा बाढी प्रभावित समुदायहरूलाई दीर्घकालीन आवतजावतको सुविधा पुर्याउन त्रिशूली नदीमा बन्ने झोलुङ्गे पुलको निर्माणबारे समेत छलफल भएको थियो ।
-भूमिराज राई