लन्डन । क्विन्स गोर्खा सिंगनल्स एसोसिएसन यूकेले आफ्नो पल्टनको ७७औँ जन्म दिवस भव्य रूपमा मनाएको छ ।
शनिबार एम्पायर हल अल्डरसटमा विशेष समारोहबिच दिवस मनाएको हो । कर्णेल अफ द रेजिमेन्ट मेजर जर्नेल एम जे फेअरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सेवारत र अवकाश प्राप्त सिनियर अधिकृतसहित सदस्यहरूको उपस्थिति थियो ।
एसोसिएसनका महासचिव किरण राईले स्वास्थ्य तथा अपत्कालीन सुरक्षाको सूचना प्रवाह गरेपछि, उपाध्यक्ष हनरेरी लेफ्टिनेन्ट प्रीतिनारायण राईले कार्यक्रम अगाडि बढाएका थिए ।
उक्त अवसरमा १५ जना सिनियर सदस्यलाई पल्टनको ब्याज सहितको टोपी (वेरेट क्याप) द्वारा विशेष सम्मान गरिएको थियो । यसै क्रममा मेजर जर्नेलमा पदोन्नतिसहित पद बहाली गरेका कर्णेल अफ द रेजिमेन्ट: जेनेरल फेअरलाई बधाई तथा शुभकामना व्यक्त गरियो ।
मेजर राज कुमार मल्ल पनि लेफ्टिनेन्ट कर्णेलमा छानिएको समाचारले प्रफुल्ल बनेका सदस्यले उनलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । एसोसिएसनका अध्यक्ष मेजर (रिटायर्ड) कृष्ण गुरुङले स्वागत तथा शुभकामना मन्तव्य राखे । अहिले ७ वटा स्क्वाड्रनहरू रहेको र आठौँ स्क्वाड्रन सन् २०२९ भित्र स्थापना हुने चरणमा रहेको उनले अवगत गराए ।
कार्यक्रममा उल्लासका साथ सहभागी भएकामा सबै जनालाई धन्यवाद दिए । सबै सहयोगी, पल्टनबाट आएर मनोरञ्जन दिने सेवारत सदस्य, क्विन्स गोर्खा सिगनल्स ब्यान्डका सेवारत अधिकृत र सदस्यलाई प्रस्तुतिका निमित्त आभार व्यक्त गरे ।
कर्नेल अफ द रेजिमेन्ट जर्नेल फेअरले क्विन्स गोर्खा सिंगल्स रेजिमेन्टको वर्तमान प्रगति विवरण, संख्या विस्तार सम्बन्धी भावी रणनीतिक अवधारणा, अवसर एवं चुनौतीका विषयमा भनाइ राखेका थिए । पल्टन ठिक मार्गमा रहेको र आफूलाई अत्यन्तै खुसी लागेको बनाउँदै पल्टनका सेवा निवृत्त सदस्यलाई शुभकामना दिए ।
जन्मदिनको केक काटेपछि शान्ता राम मगरले मनोरन्जनात्मक कार्यक्रमलाई अगाडि बढाएका थिए । पल्टनबाट प्रस्तुत खुकुरी नृत्य, आधुनिक नृत्य, शशी गुरुङको एकल नृत्य एवं मेजर धन गुरुङको नृत्यबाट शुरू भएको यस फेजमा पल्टनका सेवारत अधिकृतहरू मेजर निर्मल भट्टचन, क्याप्टेन अशोक पुन, क्याप्टेन सुरज गुरुङ, क्याप्टेन नवीन सुनुवारसहित ब्यान्डका सदस्य दीपेन्द्र गुरुङ, धन गुरुङ, राज गुरुङ र एसोसिएसनका महासचिव किरण राईले विभिन्न नेपाली गीत र संगितको विशेष प्रस्तुति गरेका थिए ।
कार्यक्रमको उत्तरार्धतिर नेपालबाट आएकी गायिका सविना बुढा मगरको प्रस्तुतिमा सहभागीहरूले दिएका थिए । उनीहरूले भरपुर मनोरञ्जन लिए । अर्को वर्षको जन्मदिनमा भेट्ने अभिलाषासहित डिनरपश्चात् कार्यक्रम समापन भयो ।
बेलायतले सन् १९४७ मा भारतलाई आफ्नो शासकीय अधिकार हस्तान्तरण (स्वतन्त्र भारत) गरे पछि ४ वटा गोर्खा बटालियन सहित भारत छाडेको थियो। सबै गोर्खा बटालियनहरू मलेसियामा स्थानान्तरण गरिएको थियो । सुरुमा ४ वटा ईन्फेन्ट्री बटालियनहरू बेलायती सेनामा आबद्ध भएका गोर्खा बटालियन र तत्कालीन गोर्खा ब्रिगेडको स्थापना भएको थियो ।
सन् १९४८ पछि क्रमशः अपरेसनल आवश्यकता अनुरूप अन्य रेजिमेन्टहरू इन्जिनियरिङ, सञ्चार, लजिस्टिक आदिमध्ये एउटा कम्युनिकेसन (सञ्चार) रेजिमेन्टको (वर्तमान क्विन्स गोर्खा सिंगनल्स) स्थापना १९४९ सालमा स्थापना भएको थियो ।