लन्डन । तमु धीं लन्डन इकाईले आफ्नो १९औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । सडबरी हिलमा ४ अक्टोबरमा विविध कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ प्रमुख अतिथि रहेका थिए । यसैगरी, तमु धीं यूके आमा समूहका अध्यक्ष कमला देवी गुरुङ, संरक्षक खुसीमान गुरुङ, पूर्वअध्यक्ष, सल्लाहकार, संरक्षकहरू, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सल्लाहकारसहित सदस्यहरूको उपस्थिति थियो ।
अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विकास (रक) गुरुङले सञ्चालन गरेका थिए । प्रमुख अतिथि गुरुङले स्थापना दिवसको लन्डन इकाईले नेपाली समुदायबीचको एकता, सहकार्य र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले संस्थाको अझै प्रगतिको कामना गरे ।
अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विष्णु गुरुङको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा श्रीप्रसाद गुरुङ, खरध्वज रमेश गुरुङ, शान्तबहादुर गुरुङ र बेनकुमार गुरुङ सदस्य छन् ।
अन्त्यमा इकाईका अध्यक्ष भरत गुरुङले भाषा, संस्कृति, परम्परा, मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले निरन्तर काम गर्दै आएको बताए । उनले संस्थालाई हालसम्म सहयोगर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।