बाली । मर्यादित महिनावारीका विषयमा तालिम लिन एसियाका १० मुलुकमा नेतृत्वमा रहेका किशोरी इन्डोनेसियाको बालीमा भेला भएका छन् ।
उनीहरू मर्यादित महिनावारी विषयमा अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका हुन् । ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मेन्स्ट्रुएसन (GSCDM) र AHF थाइल्यान्डको सहकार्यमा आयोजना गरिएको तालिम ४ अगस्टमा सुरु भएको छ । तालिम तीन दिन चल्नेछ ।
तालिममा नेपाल, भारत, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, भियतनाम, चीन, क्याम्बोडिया, लाओस र इन्डोनेसियाका Girls Act मा आबद्ध किशोरी सहभागी छन् । तालिमको उद्घाटन गर्दै AHF एसिया कार्यालय प्रमुख डा .सरथले महिनावारीको विषयमा बिना काम यौन तथा प्रजनन स्वास्थ्य र एचआईभी रोकथामका प्रयास अधूरो हुने बताए।
उनले भने, ‘महिनावारीमा काम नगरीकन एचआईभी रोकथाम सहज हुँदैन। त्यसैले हामीले मर्यादित महिनावारी अभियानमा राधा पौडेल फाउडेसनसँग सहकार्य गरेका हौँ।’
त्यस्तै, फाउन्डेसनका डा. राधा पौडेलले महिनावारी भेदभाव एसिया मात्र नभई विश्वव्यापी मानव अधिकारको चुनौती भएको बताइन् । उनले महिनावारीलाई बालविवाह, यौन तथा प्रजनन अधिकार, एचआईभी, लैङ्गिक हिंसाजस्ता मुद्दासँग जोडेर लैजानु नै मर्यादित महिनावारीको मूल सार भएको बताइन् ।
तालिमको मुख्य प्रशिक्षक मर्यादित महिनावारी अभियानका संस्थापक डा. पौडेल हुन्। तालिमको पहिलो दिन सहभागीहरूले व्यक्तिगत तथा सामाजिक परिवेशमा महिनावारी विभेदका अनुभव सुनाए । उनीहरूले समुदाय, विद्यालय र परिवारमा व्याप्त महिनावारीसम्बन्धी मिथक, भेदभाव र मौनताका कथा बाँडेका थिए । पहिलो दिन महिनावारी, महिनावारी व्यवस्थापन, महिनावारीमा हुने विभेद र मर्यादित महिनावारीसम्बन्धी आधारभूत अवधारणामा छलफल भएको छ ।
मर्यादित महिनावारीका प्रतिपादक पौडेलले आफ्नै बाल्यकालदेखि महिनावारीमा भोगेका दुःख, हिंसा र प्रतिरोधको कथा सुनाइन्। डाक्टर पौडेलको कथा सुन्दै गर्दा सहभागी किशोरीहरूले आँखा रसाएको देखिन्थ्यो । उनीहरुले डाक्टर पौडेलको कथा सुनेपछि महिनावारी विभेदका कारण आफूले भोगेका अनुभव पनि बाँडेका थिए।
दोस्रो दिन ५ अगस्टमा महिनावारी भेदभाव र महिनावारी विभेद र मानव अधिकार, लिङ्गमा आधारित हिंसा, बालिकाको शिक्षा र महिनावारीका विषयमा छलफल हुनेछ। तालिममा महिनावारी सामग्रीलाई थ्री पी मोडलबाट छलफल हुनेछ ।
यसले महिनावारी समग्रलाई जलवायु, व्यक्ति र आर्थिक–सामाजिक पक्षसँग जोडेर हेर्न सिकाउँछ। जलवायु परिवर्तनले महिनावारी अभ्यासमा कस्तो प्रभाव पार्छ ? के एक युवतीको आत्मसम्मान र निर्णय क्षमता महिनावारी अभ्यासले निर्धारण गर्छ ? के सुरक्षित, पहुँचयुक्त सामग्रीको अभावले महिनावारी विभेदलाई कसरी प्रवर्द्धन गर्छ ? भन्ने विषयमा थ्री पी अवधारणमा छलफल हुनेछ ।
तालिमको अन्तिम दिन सहभागीहरूले आ–आफ्ना देशमा आगामी तीन वर्षमा मर्यादित महिनावारीका लागि अभियान सञ्चालन गर्ने कार्यान्वयन योजना बनाउनेछन्। उनीहरूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पुरुषको भूमिका, सामाजिक अभियान र नेतृत्व विकासका सम्भावनाहरूका बारेमा प्रशिक्षण लिनेछन्।
किशोरीहरूलाई मर्यादित महिनावारीबारे ज्ञान र अभियान सञ्चालन गर्ने नेतृत्व क्षमता दिने उद्देश्यले तालिम आयोजना गरिएको हो। महिनावारीसँग जोडिएका भेदभाव, मौनता, लज्जा र हिंसाका विरुद्ध आवाज उठाउन अब किशोरीहरू तयार हुँदै छन् । मर्यादित महिनावारीका विषयमा आफ्नो समुदाय विद्यालय, र अन्तर्राष्ट्रिय अभियानमा पनि उनीहरू जोडिनेछन् ।