काठमाडौं । बेलायतमा रहेका पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका सन्तानको वंशजका आधारमा नेपाली नागरिकता निरन्तरता र नेपालसँगको कानुनी सम्बन्ध सुनिश्चित गर्न माग गर्दै तमु धीं यूकेले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा गोर्खा समुदायको ऐतिहासिक योगदान, नेपालसँगको पारिवारिक तथा वंशज सम्बन्धलाई सामान्य गैरआवासीय नेपालीको विषयका रूपमा मात्र नहेरी छुट्टै र विशेष रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री सुधन गुरुङले नागरिकता निरन्तरतासम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने र एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार बेलायतमा रहेका नेपाली तथा पूर्वब्रिटिस गोर्खा सैनिकहरूको तर्फबाट वंशजका आधारमा नागरिकताको निरन्तरता, कानुनी अधिकार र नेपालसँगको सम्बन्ध स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराइएको हो।
गोर्खा नागरिकताको विषयलाई आप्रवासनको सामान्य विषय नमान्न आग्रह
तमु धीं यूकेले पूर्वब्रिटिस गोर्खा सैनिकहरू नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता (TPA) अन्तर्गत बेलायती सेनामा सेवा गरेका नेपाली नागरिक तथा उनीहरूका परिवार भएको उल्लेख गर्दै उनीहरूको नागरिकता, वंशज अधिकार र नेपालसँगको सम्बन्धलाई सामान्य आप्रवासन वा वैदेशिक रोजगारीको दृष्टिकोणबाट मात्र हेर्न उपयुक्त नहुने जनाएको छ।
ज्ञापनपत्रमा सन् २००४ पछि पूर्वब्रिटिस गोर्खा सैनिकलाई बेलायतमा स्थायी बसोबास तथा त्यसपछि बेलायती नागरिकता प्राप्त गर्ने बाटो खुले पनि नेपाली नागरिकता तथा वंशज अधिकार गुम्ने विषयमा स्पष्ट व्यवस्था नरहेको संस्थाको धारणा छ। यही कारणले अहिले बेलायतमा जन्मिएका तथा गोर्खा परिवारका सन्तानको नेपालसँगको वंशज सम्बन्ध र कानुनी अधिकारलाई स्पष्ट र सहज बनाउनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रका सात मुख्य मागहरु
१. गोर्खा परिवारको ऐतिहासिक सम्बन्धलाई विशेष मान्यता
पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका परिवारको नेपालसँग रहेको ऐतिहासिक, पारिवारिक र वंशज सम्बन्धलाई विशेष मान्यता दिन सरकारसँग माग गरिएको छ।
२. बेलायतमा जन्मिएका गोर्खा सन्तानको अधिकार स्पष्ट गर्नुपर्ने
बेलायतमा जन्मिएका गोर्खा परिवारका सन्तानको वंशज नागरिकता तथा नेपालसँगको कानुनी सम्बन्धसम्बन्धी अधिकार स्पष्ट र सहज रूपमा सुनिश्चित गर्न माग गरिएको छ।
३. विद्यमान नागरिकता कानुन पुनरावलोकन
पूर्वगोर्खा सैनिकहरूले नेपालसँग आफ्नो नागरिकता र वंशज सम्बन्ध कायम राख्न पाउने विषयमा विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक सुधार गर्न सरकारसँग आग्रह गरिएको छ।
४. गोर्खाका लागि छुट्टै व्यवस्था
गैरआवासीय नेपालीसम्बन्धी सामान्य व्यवस्थाभन्दा बाहिर पूर्वब्रिटिस गोर्खा सैनिकको विशिष्ट ऐतिहासिक योगदान, सेवा, बलिदान र नेपालसँगको विशेष सम्बन्धलाई छुट्टै सम्बोधन गर्न माग गरिएको छ।
५. गोर्खा न्यायका बाँकी मुद्दामा उच्चस्तरीय वार्ता
बेलायत सरकार, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीच भइरहेको संवादलाई निरन्तरता दिँदै गोर्खा न्यायका बाँकी मुद्दा समाधान गर्न उच्चस्तरीय र अर्थपूर्ण वार्ता अघि बढाउन आग्रह गरिएको छ।
६. गोर्खा समुदायको दीर्घकालीन प्रभावबारे अध्ययन
गोर्खा समुदायका कारण नेपालमा परेको दीर्घकालीन जनसांख्यिक, सामाजिक तथा आर्थिक प्रभावबारे तथ्यमा आधारित अध्ययन गरी त्यसअनुसार नीति निर्माण गर्न सरकारसँग माग गरिएको छ।
७. विदेशबाट फर्कने सीप, पूँजी र ज्ञान उपयोग गर्ने नीति
विदेशमा रहेका गोर्खा परिवार तथा उनीहरूका सन्तान नेपाल फर्कँदा ल्याउने सीप, पूँजी, अनुभव, ज्ञान र विशेषज्ञतालाई ‘ब्रेन गेन’का रूपमा उपयोग गर्ने विशेष नीति तथा कार्यक्रम ल्याउन पनि तमु धीं यूकेले माग गरेको छ।
जनसांख्यिक प्रभावबारे पनि सरकारको ध्यानाकर्षण
ज्ञापनपत्रमा गोर्खा भर्तीको लामो इतिहासका कारण विशेषगरी जनजाति समुदायबाट ठूलो संख्यामा युवाहरू बेलायती सेनामा भर्ती हुँदै आएको र उनीहरूसँगै श्रीमती तथा सन्तानसमेत विदेशमा बसोबास गर्न पुगेकाले नेपालका ग्रामीण तथा जनजाति समुदायको जनसांख्यिक संरचनामा दीर्घकालीन प्रभाव परेको उल्लेख छ। त्यसलाई केवल संख्यात्मक रूपमा नभई जनशक्ति पलायन, पारिवारिक पुनर्मिलन, पुस्तान्तरण तथा स्थानीय सामाजिक आर्थिक संरचनामा परेको प्रभावका रूपमा अध्ययन गर्नुपर्ने संस्थाको माग छ।
तमु धीं यूकेले पूर्वब्रिटिस गोर्खा सैनिकहरूले नेपालको नाम विश्वभर स्थापित गर्न आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेको भन्दै उनीहरूको योगदानलाई विगतको इतिहासमा सीमित नगरी नेपालसँग निरन्तर जोडिएको सम्बन्धका रूपमा स्थापित गर्नुपर्ने जनाएको छ। गोर्खा सैनिक तथा उनीहरूका सन्तानलाई नेपालसँग आफ्नो पहिचान र वंशज सम्बन्ध कायम राख्ने अवसर दिनु न्याय, सम्मान र ऐतिहासिक जिम्मेवारीसँग जोडिएको विषय भएको संस्थाको भनाइ छ।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा अध्यक्ष जुमकाजी गुरुङसँगै वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ तथा तमु धीं आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ सहभागी थिए।
यसरी नागरिकता निरन्तरताको मागलाई केन्द्रमा राख्दै तमु धीं यूकेले उठाएका सातवटै विषयले गोर्खा समुदायको नागरिकता मात्र नभई उनीहरूको ऐतिहासिक सम्बन्ध, वंशज अधिकार, गोर्खा न्याय, जनसांख्यिक प्रभाव र नेपालमा फर्कने ज्ञान सीपको उपयोगसम्मको व्यापक विषय समेटेको छ।
