पोखरा । तमु धिं नेपालद्वारा तमु (गुरुङ) समुदायको महान् साँस्कृतिक पर्व तमु ल्होछार यस वर्ष पोखरामा पाँच दिनसम्म विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रूपमा मनाइने भएको छ।
तमु समुदायको नयाँ वर्ष तथा ल्हो परिवर्तनको अवसरमा मनाइने तमु ल्होछारले जातीय पहिचान, भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश भएकाले यस्ता पर्वले सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई थप बलियो बनाउने तमु धिं नेपालका अध्यक्ष सुमे श्रीप्रसाद गुरुङले बताए ।
लामो आन्दोलनपछि पुस १५ गते तमु ल्होछारका अवसरमा एक दिन राष्ट्रिय पर्व बिदा प्राप्त भएको स्मरण गर्दै संस्थाले गाउँबस्तीमा मनाइँदै आएको पर्वलाई राजधानी पोखरामा पनि निरन्तरता दिँदै आएको जनाएको छ।
यस वर्ष २०८३ साल पुस ११, १२, १३, १४ र १५ गते गरी पाँच दिनसम्म पोखराको पुरानो टुँडिखेलमा विविध मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम सहित तमु ल्होछार महोत्सव मनाउने तयारी गरिएको छ।
संस्थाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा तमु ल्होछारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै महोत्सव सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।