काठमाडौँ । तमु धीं यूकेले नेपालको बाढी पीडितका लागि संकलन गरेको रकमध्ये १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गर्न अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत पुगेका थिए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार नै जम्मा गरिएको छ ।
बेलायतमा संकलित रकममध्ये करिब २५ लाख रुपैँया बराबरको सामग्री प्रभावितस्थलमा बाढीपीडितलाई वितरण गर्ने तयारी छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापित तमु धीं यूकेले महाभूकम्प, कोभिड महामारीलगायत विपद् साथै परोपकारी क्षेत्रमा गरेको कार्य र सहयोगबारे जानकारी गराए ।
अर्थमन्त्री वाग्लेले विपद्को बेलामा तमु धीं यूकेले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै अहिलेको सरकारलाई भरोसा गरेर १६ अर्ब रुपैयाँ राहत संकलन भएको बताए । उनका अनुसार १ अर्ब रुपैयाँ निकासा भइसकेको छ ।
उनले दसैं अगावै सवै पीडितका लागि अस्थायी टहरा निर्माण गर्ने र यसका लागि व्यक्तिले चाहेअनुसार ठाउँमा बस्न प्रति घरपरिवार १७ हजार रुपैयाँ सहयोग गरिने बताए । स्थायी वासास्थानको लागि साढे २ वर्षमा सबै पीडित परिवारका लागि घर निर्माण गरिने उनले बताए ।
बेलायतमा भदौ १४ (अगस्ट ३०) मा आयोजित १७औँ नेपाली मेलाको दिनबाट संकलन गरिएको रकम नेपालमा भदौ १० गतेको बाढीबाट पीडितका लागि सहयोग गरिएको हो । नेपाली मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट बचत भएको रकम, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, तमु धीं आमा समूह, विभिन्न इकाई साथै व्यक्तिगत सहयोगलगायतबाट संकलन गरिएको रकम बाढीपीडितलाई सहयोग गरिएको हो ।
कार्यवाहक प्रधानमन्त्री डा. वाग्ले र तमु धीं यूके अध्यक्ष गुरुङसहितको टोलीले नेपालको बाढीपीडितका लागि सहयोग गर्ने बेलायतबासी नेपाललाई आभार व्यक्त गरे ।