पोखरा । स्वर्गीय डा. हर्कबहादुर गुरुङ र स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङसहित २० वर्षअघि ताप्लेजुङको घुम्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका २४ जनाको सम्झनामा बेल्जियममा २०औँ वार्षिक स्मृति दिवस मनाइएको छ ।
तमु समाज बेल्जियम र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुम्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका भूगोलविद् डा. हर्कबहादुर गुरुङ, संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङसहित नेपाल तथा विदेशका विशिष्ट बौद्धिक व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रममा ३० जुलाई २०२६ मा पाकिस्तानमा हिमपहिरोमा परी ज्यान गुमाएका युक्ता गुरुङ, निर्मल पुर्जासहित १० जना अन्तर्राष्ट्रिय आरोही तथा २६ अगस्ट २०२६ मा भोटेकोसीको बाढीमा परी ज्यान गुमाएका नेपालीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
तमु समाज बेल्जियमका अध्यक्ष रामप्रसाद घले र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष बिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथि थिइन् । आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङ, एनआरएनए बेल्जियमका उपाध्यक्ष सूर्यबहादुर गुरुङ, जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष पिडी शेर्पा, जनमोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन अध्यक्षद्वय, प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । त्यसपछि एक मिनेट मौनधारण तथा नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी अतिथि तथा समुदायका सदस्यले दिवंगत व्यक्तित्वका तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष बिना गुरुङले उपस्थित अतिथि तथा समुदायलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे धारणा राखे । तमु समाज बेल्जियमका पूर्वअध्यक्ष बालेन्द्र गुरुङले स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङ र डा. हर्कबहादुर गुरुङको जीवनीसम्बन्धी सामग्री भिडियोमार्फत प्रस्तुत गरे ।
कार्यक्रममा तमु समाज बेल्जियमका निवर्तमान अध्यक्ष होम गुरुङ, जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष पिडी शेर्पा, एनआरएनए बेल्जियमका उपाध्यक्ष सूर्यबहादुर गुरुङ र आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङलगायतले दिवंगत व्यक्तित्वको योगदानबारे धारणा राखे । तमु समाज बेल्जियमका सल्लाहकार नन्दराज घलेले डा. हर्कबहादुर गुरुङप्रति समर्पित कविता वाचन गरे ।
सोही अवसरमा स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङले लेखेको ‘केयरिङ फर द अन्नपूर्ण’ अर्थात् ‘अन्नपूर्णको स्याहार’ पुस्तकको राजदूत सेवा लम्सालले विमोचन गरिन् । सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका पूर्वअध्यक्ष चोकराज गुरुङले पुस्तकको समीक्षा गर्दै डा. चन्द्रप्रसाद गुरुङको संरक्षणसम्बन्धी योगदानबारे धारणा राखे ।
प्रमुख अतिथि राजदूत लम्सालले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै प्राकृतिक विपद्का कारण विश्वले व्यहोर्नुपरेको अतुलनीय क्षतिप्रति चिन्ता व्यक्त गरिन् ।
कार्यक्रमको अन्त्यमा तमु समाज बेल्जियमका अध्यक्ष रामप्रसाद घलेले उपस्थित सबैलाई धन्यवाद दिए। कार्यक्रमको सञ्चालन सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमकी महासचिव टीका (मिश्री) गुरुङले गरेकी थिइन् ।
औपचारिक कार्यक्रमपछि सहभागीका लागि प्रसादस्वरूप सेलरोटी, अलुदम, पानीलगायतको व्यवस्था गरिएको थियो । सेलरोटी आमा समूहकी अध्यक्ष दिलकुमारी गुरुङ र जीवन्ती गुरुङ, पुष्पाञ्जलिका फूल सोनी गुरुङ, अलुदम तथा रक्सी खुशी गुरुङ (माइली), पानी ओमप्रसाद गुरुङ तथा क्यान्डल र बत्ती बिना गुरुङले प्रायोजन गरेका थिए ।
बेल्जियममा व्यस्त समयका बाबजुद समय निकालेर डा. चन्द्र गुरुङद्वारा लिखित ‘अन्नपूर्णको स्याहार’ पुस्तक विमोचन कार्यक्रम आयोजना गर्नु सराहनीय कार्य भएको संरक्षणविद् डा. हुम गुरुङले बताए । चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका डा. हुम गुरुङले ‘अन्नपूर्णको स्याहार’ पुस्तक बेल्जियममा राजदूत सेवा लम्सालज्यूबाट विमोचन भएकोमा खुसी लागेको बताए ।