कुवेत । कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आफ्नो मौलिक राष्ट्रिय तथा सांस्कृतिक पर्व 'तमू ल्होछार/ल्होसार–२०२७' आगामी जनवरी १ (पौष १७), शुक्रबार भव्य रूपमा मनाउने भएको छ। जाब्रिया स्थित ग्रान्ड अडिटोरियममा विविध सांस्कृतिक, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका पवित्रा गुरुङ कुवेत आउने निश्चित भएको छ। 'द भ्वाइस अफ नेपाल सिजन–४' की टप प्रतिस्पर्धी समेत रहेकी गायिका गुरुङको विशेष सांगीतिक प्रस्तुतिले ल्होछार/ल्होसार समारोहलाई थप रौनकपूर्ण बनाउने अपेक्षा आयोजकले गरेको छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा दर्शकले मनोरञ्जन सँगै सांस्कृतिक अपनत्वको अनुभूति गर्न पाउने बिश्वास लिईएको छ ।
तमू (गुरुङ) समुदायको परम्परागत ल्हो कोर (वर्गचक्र) अनुसार प्रत्येक वर्ष पुरानो ल्होको बिदाइ गर्दै नयाँ ल्होलाई स्वागत गर्ने परम्परा रहि आएको छ। यस वर्ष ‘त’ ल्हो (घोडा वर्ग) को बिदाइ गरी ‘ल्हु’ ल्हो (भेडा वर्ग) लाई स्वागत गरिनेछ। तमू समुदायमा ल्होछार/ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभई मौलिक संस्कृति, धार्मिक आस्था, सामाजिक सद्भाव र सामुदायिक एकताको प्रतीकका रूपमा समेत लिइन्छ। उक्त पबित्र अवसरमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, ल्हो कोरको पूजाआजा गर्ने, परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्ने, शुभकामना आदान प्रदान गर्ने र सामूहिक रूपमा खुसीयाली साटासाट गर्ने चलन छ। यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली पहिचान र परम्परा सँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।
यस विशेष समारोहलाई सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, बुद्धिजीवी, व्यवसायी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइ दिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।