बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो । त्यसैगरी, संघको सचिवालयमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक महासचिव एवी संरक्षक भिम उदास ,संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान पदाधिकारी, सल्लाहकार तथा पूर्वपदाधिकारीलगायत विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा उहाँहरूले गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गरेका थिए ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ अक्टोबर ११ मा स्थापना भएको संघले हरेक वर्ष अक्टोबर ११ मा गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । यस दिवसले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी एकता, सद्भाव र मातृभूमिप्रतिको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
यसैबीच दिवसकै अवसरमा सोमबार, अक्टोबर १२ मा ‘एनआरएनए रसुवा रिकभरी एन्ड रेजिलियन्स इनिसिएटिभ–२०२६’ विषयक वेबिनार आयोजना गरिने भएको छ । साँझ ६ बजे हुने उक्त कार्यक्रममा रसुवा क्षेत्रमा बाढीपहिरोबाट प्रभावित समुदायको पुनर्निर्माण, पुनःस्थापना तथा विपद् उत्थानशीलतासम्बन्धी पहलका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, सोमबार बेलुका ८ बजे ‘रिफ्लेक्सन अफ एनआरएनए इस्ट्याब्लिसमेन्ट’ शीर्षकमा विशेष भर्चुअल कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा संघको स्थापना, गैरआवासीय नेपाली अभियानको यात्रा, यसले हासिल गरेका उपलब्धि तथा भावी कार्यदिशाबारे विमर्श गरिनेछ ।दिवसका अवसरमा गैरआवासीय नेपाली अभियानमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाप्रति आभारसहित आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउन सबैको सहकार्य र सहभागिताको अपेक्षा गरेको बताइएको छ ।